अमेरिकामा एक ‘मिलेनियर’ नेपाली तन्नेरी

अमेरिकामा एक ‘मिलेनियर’ नेपाली तन्नेरी

भाग्यले डोर्‍याउने कतिपय बाटाहरूले कहिलेकाहीँ यस्तो मुकाममा पुर्‍याइदिन्छन्, जहाँ सपनाहरूको हुटहुटी हुन्छ। र, पो जिन्दगी त्यसैत्यसै गुलजार भइदिन्छ।

कलिला तिनै सपना फुलाउन १८ वर्षमै अमेरिका उडेका शंकर भट्टराईको जीवनयात्रा पनि एउटा त्यस्तै मुकाम चढ्दैछ, जहाँ उनका सपनाहरू हुटहुटिएका छन्, ती सपनाहरू जसले उनलाई कैयौं रातहरू अनिदो बनाए। कैयौं छाकहरू छुटाएर भोकै बनाए। अनि कतै कतै अलमलिएर बाटोहरू छुटाए।

बाटो छुट्नुको अर्थ गन्तव्य भुलिनु त कहाँ हो र ! अरू बाटाहरू पहिल्याएर बरू रफ्तार बढाउनु पो हो।

१४ वर्षमा एसएलसी सकेका शंकर गुल्मीको आँपचौरबाट बुटवल झरेका थिए। तर, मूल सहरमा उनी पसेनन्। अलि परको मुर्गियामा प्लस टु पढे।

आँपचौर इन्द्रगौंडाका पाखाहरू डुल्दाडुल्दै पढ्नका लागि घर छोडे। गाउँ, वस्ती छोडे। विस्तारै आवश्यकताहरूले थिच्न लाग्दा सहर छोडे। अनि सपनाहरू अंकुराउँदै गर्दा देश नै छोडे।

प्लस टु सकेर ब्याचलर पढ्दै गर्दा शंकरले एकपटक अमेरिका जाने चिठ्ठा (डिभी) भरे। त्यो एउटा भाग्यको परीक्षा थियो। पहिलो प्रयासमै भाग्यको त्यो परीक्षामा पास भए। २०१३ मा अमेरिका उड्दा १८ वर्षमात्रै थिए उनी।

वैशालु उमेर। अंकुराउँदै सपना। भाग्यले डोर्‍याएका बाटाहरू। अनि आफ्नो हुँदै गरेको एउटा बिरानो देश। देश नयाँ थियो। थरिथरिका रंगहरू थिए तर, आफ्नोपन थिएन। नयाँ नयाँ मान्छेहरू थिए तर, आफ्नाहरू थिएनन्। थरिथरिका भाषाहरू थिए तर, आत्मीयता थिएन। चारैतिर उज्यालो थियो, पुग्ने ठाउँ देखिएकै थिएन।

सपनाहरू फुलेकै थिएनन्, आफन्तहरू यतै छुटे। गाउँ छुट्यो। सहर छुट्यो। अनि देश छुट्यो। र, अब भेटिएको अर्को देशलाई आफ्नै बनाउनु थियो। नयाँ संसारमा हिँड्ने बाटो आफै खोज्नु थियो।

खोला नदीलाई के थाहा र बग्ने बाटो कुन हो ?

तर, पनि रोकिए त खोलानदीको के अस्तित्व। बग्नु त छँदैछ। बग्दै जाँदा बाटो आफै बन्छ। समुद्र आफै भेटिन्छ।

उनले रेस्टुरेन्टहरूमा काम गरे। केही सिक्नु थियो। केही जान्नु थियो। केही चिन्नु थियो। केही खोज्नु थियो। केही भेटाउनु थियो। धेरै हिँड्नु थियो। अनि कतै पुग्नु थियो।

एक वर्षजति रेस्टुरेन्टमा काम गरेपछि शंकरलाई लाग्यो आफै यस्तो रेस्टुरेन्ट खोल्न पाए ! गाउँबाट सहर झरेका पाइलाहरू हुत्तिएर अमेरिकामा बिसाएका थिए। र, त्यहीँबाटै अब फेरि जिन्दगीको नयाँ यात्रा सुरू गर्नुथियो।

सारा संसारभरिका मान्छे नै मान्छे थुप्रिएको त्यो सपनाको देशमा अलमलिने बाटोहरू हिँड्न त सजिलो कहाँ र !

त्यसमा पनि उनी भर्खरै त २० वर्षे तन्नेरी बाटोमा चढ्दै थिए। ज्यानमा वैंश चढ्दै थियो। तर, सपनाहरूले निदाउनै दिएका थिएनन्।

त्यो ‘काँचो’ केटो भित्रभित्रै पाकिसकेको कसैले पत्याएनन्। अमेरिकामै भेटिएका आफन्तहरूले पनि उनलाई भने ‘यति सानै केटो किन बिजनेस गर्नुपर्‍यो?’

उनी फेरि जागिरमै फर्किए। तर, काम अलि फरक भयो। उनी एउटा ग्याँस स्टेशनमा काम गर्न थाले। अब अर्को काम जाने। चिनजान अनि साथीहरूको एउटा घेरा अलि फराकिलो भयो। बिरानो देश अनि बिराना लाग्ने मान्छेहरू अब आफ्नाजस्ता बन्न थाले।

ग्याँस स्टेशनमा काम गर्दा गर्दै उनी पढ्छु भनेर कलेज पनि भर्ना भए, इलेक्ट्रिकल इन्जिनियर पढ्न। पढ्दै थिए। पढेर के हुन्छ? पढेर के गर्ने? त्यो पनि बुझ्दै थिए। बुझ्दै जाँदा उनले चाल पाए- पैसा त नहुँदोरैछ। त्यो पढेर जागिर खानेहरू भन्दा त उनले त्यही ग्याँस स्टेशनमा धेरै पैसा कमाउँथे।

४०-५० च्याप्टर पढेपछि उनले पढाइ छोडे। सब छुट्दै थिए तर, केही गर्नै थियो।

आफैले केही गर्ने हुटहुटीसँग लखेटिइरहेका शंकर त्यसपछि आफ्नै एउटा ग्यास स्टेशनको मालिक बने। यात्राको एउटा खुट्किला थियो त्यो उनको आफ्नै ब्यापार। कामदारबाट अब शंकर अमेरिकामा एक मालिक भइसकेका थिए।

त्यही बेला उनले एउटा यस्तो साथी भेटाए जसले उनलाई सफलताको एउटा मुकाम पाउन बेस्सरी कुदाइरहे। हरेक पाइलामा साथ दिए।

प्रदीप गुरुङ। उमेरले त प्रदीप शंकरका दाई थिए। प्रदीप अमेरिकाका सडकमा ट्रक दौडाउँथे। त्यसमा टनका टन माल सामान भरेर मान्छेका घरघरै पुर्‍याउँथे। शंकर ग्याँस स्टेशन चलाउँथे।

त्यही सिलसिलामा उनीहरूको भेट भयो। चिनजान भयो। नेपालीको नाताले झन नजिकै तान्यो। त्यही दोस्ती अन्तत: शंकरका अघिका पाइलामा सहयात्री बन्यो।

एउटा लामो यात्राको सूत्रपात प्रदीपसँगको भेट नै थियो।

एक दिन प्रदीपले भने, ‘काम यही हो। अब एउटा ट्रान्सपोर्ट कम्पनी खोलौं।’

एउटा व्यापार त सुरु भइसकेको थियो। राम्रोसँग जमिसकेको थिएन। फेरि अर्को ब्यापार? असफल हुने डरले शंकरको मनमा अलिकति चिमोट्यो।

‘डुबिन्छ कि !’ हठात् आँट आएन। प्रदीपले कर गरिरहे।

ब्यापार त ब्यापारै हो। समुद्रमा हाम्फालेपछि कि डुबिन्छ, कि उत्रिन्छ। प्रदीपसँगै त्यो ‘रिस्की’ यात्रा तय गर्ने निर्णयमा पुगिसक्दा वर्षहरू फन्को लगाउँदै सन् २०२०मा पुगिसकेको थियो।

‘सुरूमा आफूले कमाएको जति सबै पैसा खन्याएर हामीले दुईवटा ट्रक किनेका थियौं’ शंकर अनि प्रदीपहरूले त्यो यात्रा सुरुवात गर्दैगर्दा सारा विश्व कोरोनाको मारले थलिइसकेको थियो।

आर्थिक क्षेत्र अस्तव्यस्त थियो। बिरामी सम्हाल्नै नसकेर कैयौं ठूला भनिएका देशहरू पनि कायल थिए। पूरै संसार एकप्रकारले ठप्प रोकिएजस्तै।

र, अमेरिकामा शंकरहरू ब्यापारको अर्को एउटा दुनियाँ सुरु गर्दै थिए।

यात्रा सुरु गर्न जति सजिलो हुन्छ, त्यसलाई गन्तव्यमा पुर्‍याउन उत्तिकै साहस र धैर्य चाहिन्छ। बाटो त कहिले पो सकिन्छ र ! तर, जब हिम्मत सकिन्छ अनि त्यो बाटोको यात्रा पनि।

‘हामी कैयौं रातहरू नसुतेरै काम गर्‍यौं’ सपना पाउन निदाउनै नसकेका शंकर अनि प्रदीपहरू कैयौं छाक भोकै पनि बसे ‘न खाने सुर्ता हुन्थ्यो। न सुत्ने। भोक निद्रा केही भनेनौं। विस्कुट पाउरोटी जे भेट्यौं त्यही खाँदै काम गर्‍यौं।’

हो, उनीहरू केही गरेनन्, मात्रै काम गरे। केही देखेनन् मात्रै काम देखे। केही चिनेनन् मात्रै काम चिने। सबकुछ त्यही काम थियो। जे थियो त्यही काम थियो।

‘त्यसरी धेरै दिनसम्म नखाएरै नसुतेरै काम गर्दा आमाले पनि पीर मान्नुभयो’ तर, केही गर्ने त्यो जुनूनले बिसाउन कहाँ दिन्थ्यो र!

दुई ट्रकले सामान ओसार्ने ‘ब्लु डल्फिन’सँग आज ९५ वटा ट्रक छन्। र, छोटो समयमा आफूलाई बेस्सरी दौडाएका शंकरहरूको त्यो ट्रान्सपोर्ट कम्पनी अहिले भर्जिनिया क्षेत्रमा ‘टप’ बनिसकेको छ।

अघिल्लो वर्ष  बिहे गरेका शंकर यतिबेला श्रीमती लिन काठमाडौं आएका छन्।

‘कमाउँदै फेरि ट्रकहरू थप्दै गयौं। जति कमायौं सबै त्यही ब्यापारमा लगाउँदै गयौं’ शंकरलाई थाहा थियो, पैसाले नै पैसा तान्ने हो ‘अहिले हाम्रा आफ्नै ट्रकहरूले नपुगेर अरूका ट्रकमा पनि भाडामा ल्याउँछौं। आफ्नै ट्रक हाँक्नेहरू पनि हाम्रै कम्पनीमा काम गर्छन्।’

उनीहरूसँग अहिले लजिस्टिक, ट्रान्सपोर्ट र रियल स्टेट ब्यापारका पाँच कम्पनी छन्। दुई कम्पनी खुल्ने क्रममा छन्। सबैको छाता कम्पनी ‘ब्लु डल्फिन बिजनेस ग्रुप’ हो। भारतबाट पनि उनको कम्पनीमा हुन्छ। चाँडै नेपालमा पनि काम सुरु गर्ने योजना बनाइरहेका छन्।

२९ वर्षे ‘मिलेनियर’ यी तन्नेरी उनै शंकर हुन्, जो आज पाँच अमेरिकी कम्पनीका प्रमुख कार्यकारी (सीइओ) छन्।

अब धेरैको नजर उनीहरूमाथि पर्न थालेको छ। धेरैले हेर्न थालेका छन्। केही गर्न चाहने युवाहरूले सोध्न थालेका छन्। पत्रकारहरूले खोज्न थालेका छन्। धेरैले पछ्याउन थालेका छन्।

‘गाउँमा हामीले धेरै दु:ख पायौं। बुवा पनि सानैमा बित्नुभयो’ कहिलेकाहिँ नोस्टाजियाले सताउँछ उनलाई ‘आफन्तहरूसँग पैसा माग्दै पढ्थें। आमाको पनि केही थिएन। सायद त्यही दु:खले हामीलाई यस्तो मेहनत गर्ने बनायो कि !’

गुल्मीको त्यो पाखाबाट चालेका शंकरका पाइलाहरू अब अमेरिकी भूमिबाट सफलताको शिखरतिर उक्लिदैंछन्। भाइ बुहारी जापानमा उच्च शिक्षा हासिल गर्दैछन्।

१५ वर्षमै आफ्नो बुवा गुमाएका उनले अहिले आमालाई अमेरिका लगिसकेका छन्।

अघिल्लो वर्ष  बिहे गरेका शंकर यतिबेला श्रीमती लिन काठमाडौं आएका छन्।