परराष्ट्रमन्त्रीको जेनेभा भ्रमणमा ‘ब्रेक’ : एमालेलाई सरकार छाड्न सन्देश!

परराष्ट्रमन्त्रीको जेनेभा भ्रमणमा ‘ब्रेक’ : एमालेलाई सरकार छाड्न सन्देश!

काठमाडौं। संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण तय थियो।

आइतबार साँझ ६ बजे जेनेभातर्फ जान मन्त्री पौड्याल तयारी अवस्थामा थिइन्।

दिउँसो ४ बजेतर्फ उनलाई मुख्यसचिवले फोन गरे। र, जेनेभा भ्रमण रद्द गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन मन्त्री पौड्याललाई सुनाए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने तरखरमा रहेकी उनले अन्तिम समयमा जेनेभा भ्रमण स्थगित गरिन्।

‘साँझ ६ बजे जाने भनेर तयारी गरेकी थिएँ, अचानक प्रधानमन्त्रीले खबर पठाएपछि म गइनँ,’ पौड्यालले आइतबार साँझ प्रवास खबरसँग भनेकी थिइन्,‘म नजाने भएँ अरू साथीहरू जानुहुन्छ।’

जेनेभाको बैठक सकेर मन्त्री पौड्यालको कतारको दोहामा आयोजना हुन लागेको अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम थियो।

तर, उनको त्यो भ्रमण पनि स्थगित भएको छ। उनले भनिन्,‘जेनेभाको बैठक सकेर दोहाको सम्मेलनमा भाग लिने गरी कार्यक्रम बनेको थियो। प्रधानमन्त्रीले जनान भनिसकेपछि अब त्यो पनि रद्द भयो।’

तय भइसकेको जेनेभा भ्रमण प्रधानमन्त्रीले किन रोक्न लगाए त्यसबारे मन्त्री पौड्याले केही बताउन चाहिनन्। अन्तिम समयमा भ्रमण किन रोकियो आयोमेलको जिज्ञासामा उनले भनिन्,‘किन रोकियो तपाईंहरूलाई थाहै छ। अहिलेको खटपट त होला नि!’

परराष्ट्रमन्त्री पौडेल नेकपा एमालेतर्फबाट राष्ट्रियसभा सदस्य हुन्।

पुस १० गते एमालेसहित ७ दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि पौड्याललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

तर, यतिबेला पुस १० मा बनेको राजनीतिक दलहरूको समीकरण फेरिइसकिएको छ। २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा तत्कालीन पाँचदलीय गठबन्धन ब्युँतिएको छ।

त्यो पुरानो गठबन्धनमा अरू तीन दल थपिएका छन्, जनमत पार्टी, नागरिकत उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी।

आठदलीय गठबन्धन बनेसँग प्रधानमन्त्री प्रचण्डले सरकार पुनर्गठनको संकेत गरिसकेका छन्।

‘एमाले पनि अब कतै जान सक्ने छैन। हो, उहाँहरू प्रतिपक्षमा जान सक्नुहुन्छ। करिबकरिब जानुभयो। आजमात्रै राप्रपाका मन्त्रीहरूले राजीनामा दिनुभयो। अब कानुनी हिसाबले हामी प्रक्रियामा जानैपर्छ,’ शनिबार प्रचण्डले भनेका थिए,‘सरकार नयाँ बन्छ, पुनर्गठन हुन्छ।’

उनी एमालेसँगको सहकार्य तोडेर कांग्रेससहितको आठदलीय गठबन्धनलाई अघि बढाउन चाहेका छन्। तर, राष्ट्रपति निर्वाचनको सन्दर्भमा अर्को गठबन्धन बनिसक्दा पनि यसअघिको सहयात्री दल एमालेले न सरकार छाडेको, न समर्थन नै फिर्ता लिएको छ।

गठबन्धन फेरिएसँगै प्रचण्ड नेतृत्वको सरकारमा सहभागी राप्रपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिइसकेको छ।

तर, एमालेले कुनै संकेत नदेखाएपछि प्रचण्डले सरकारबाट बाहिरिन सन्देश दिएका छन्, परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण रोकेर।

गठबन्धन बदलिँदा पनि सरकारबाट नबाहिरिएपछि अन्तिम समयमा परराष्ट्रमन्त्रीको भ्रमण रोकिनुलाई त्यही अनुसार बुझ्नुपर्ने नेताहरूको भनाइ छ।

१० पुसमा बनेको सातदलीय गठबन्धन राष्ट्रपति निर्वाचनको विषयलाई लिएर भत्किएको छ। एमाले र आठदलीय गठबन्धनले राष्ट्रपतिमा छुट्टाछुट्टै उम्मेदवार उठाएका छन्।

आठदलीय गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन्।

राष्ट्रपति चुनावलाई लिएर प्रचण्डसँगको सम्बन्ध चिसिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको आलोचना गर्न थालेका छन्।

‘जनयुद्ध दिवस’ मा सरकारले सार्वजनिक विदा दिँदा मौन बसेका ओली राष्ट्रपतिमा सहमति हुन नसकेपछि त्यसको अलोचना गरे। त्यस्तै आइबार एक कार्यक्रममा प्रचण्डले आफूलाई धोका दिएको आरोप लगाए।

राजनीतिक ‘कोर्स’ फेरिएपछि एमाले आफैं सरकारबाट बाहिरियोस् भन्ने प्रचण्डले चाहेका छन्।

तर, एमालेका तर्फबाट त्यस्तो कुनै संकेत नदेखेपछि उनले परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा रोकेर अप्रत्यक्ष ढंगले सरकारबाट बाहिरिन सन्देश दिएका छन्।

सरकार गठनका बेला समर्थन गरेको राप्रपाले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतामा प्रचण्ड छन्। उनले चैत १२ गतेभित्र प्रतिनिधिसभाबाट फेरि विश्वासको मत लिनुपर्ने हुन्छ।

कांग्रेससहित आठ दलको साथ पाएका प्रचण्ड विश्वासको मत पाउनेमा ढुक्क छन्। नेताहरूका अनुसार प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिन सोचमा छन्।



No ads found for this position