युरोप छिर्ने लोभमा युक्रेनमा नेपाली फस्दैछन् : राजदूत खड्का

युरोप छिर्ने लोभमा युक्रेनमा नेपाली फस्दैछन् : राजदूत खड्का

काठमाडौं। विगत १ वर्षदेखि रुस र युक्रेनबीच चरम युद्ध चलिरहेको छ। तत्काल युद्ध विराम हुने संकेत छैन।

रुसी सेनाले युक्रेनमाथि हमला सुरु गरेपछि १ वर्षअघि युक्रेनमा रहेका ६ सयभन्दा बढी नेपालीलाई उद्धार गर्नुपरेको थियो।

युक्रेनमा नेपाली दूतावास छैन्। युक्रेन मामिला हेर्ने जिम्मेवारी जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासको हो।

‘युद्ध चर्किएसँगै युक्रेनमा रहेका ६ सयभन्दा बढी नेपालीलाई गैरआवासीय नेपाली संघ तथा विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाको समन्वयमा दूतावासले उद्धार गरेको थियो,’ राजदूत रामकाजी खड्का एक वर्षअघिको त्यो घटना सम्झिन्छन्।

राजदूत खड्का त्यत्तिबेला आफै युरोपेली मुलक पोल्याण्ड, रोमानियालगायतका देशका बोर्डरमा पुगेर युक्रेनका ती नेपालीको उद्धार तथा राहतको लागि समन्वय गरेका थिए।

युद्धमा फसेका नेपालीलाई त्यतिबेला युक्रेनसँग सीमा जोडिएका युरोपेली मुलुकहरूले आफ्नो देशमा प्रवेश दिएका थिए।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ–संस्थाको आग्रहमा ती देशहरुले नेपालीलगायतका आप्रवासीलाई प्रवेश खुला गरेका थिए।

युक्रेनबाट उद्धार गरिएका ती नेपालीहरूमध्ये कतिपय उतिबेलै नेपाल फर्किएका थिए भने केही पोल्याण्ड, पोर्चुगल, रोमानियागायतका मुलकमा भविष्य खोज्दै बसेका थिए।

प्रवेश सुविधा बन्द

सुरुवाती चरणमा छिमेकी देशले मानवीय आधारमा प्रवेश दिएपनि अहिले भने यस्तो सुविधा बन्द गरेको घोषणा गरिसकेका छन्।

गत जनवरी तेस्रो सातादेखि युक्रेनसँग सिमाना जोडिएका युरोपेली मुलकहरूले युक्रेनमा रहेका विदेशी नागरिकलाई प्रवेश रोकेको राजदूत खड्काले बताए।

‘यो सुविधा अहिले छैन। गत जनवरीदेखि बन्द भइसकेको छ,’ राजदूत खड्काले प्रवास खबरसँग भने।

मल्डोभा हुँदै पुगे ३ नेपाली

२२ फेब्रुअरीमा बर्लिनस्थित दूतावासले एउटा चेतावनीसहितको सूचना जारी गर्‍यो। अहिले पनि नेपालीहरू युक्रेन प्रवेश गरिरहेको पाइएको जनाउँदै त्यसो नर्गन चेतावनी दूतावासले दिएको थियो।

युद्ध सुरु भएसँगै नेपाल सरकारले त्यहाँ जान प्रतिबन्ध लगाएको छ। तर, केही नेपालीहरू युद्ध चलिरहेकै बेला युक्रेन पुगेपछि दूतावासलाई टाउको दुखाइ बनेको छ।

राजदूत खड्काका अनुसार दुई महिनाअघि मात्र ३ नेपाली मल्डोभा हुँदै युक्रेन पुगेका छन्। उनीहरू पहिला जस्तै युरोप प्रवेश गर्न पाइने आशामा जोखिम मोलेर युद्धग्रस्त मुलुक युक्रेन पुगेको उनको भनाइ छ।

‘मल्डोभा हुँदै युक्रेन छिरेको देखिन्छ। उनीहरूले हामीलाई पठाएको इ भिसाको कपी अनुसार दुई महिनाको अस्थायी भिसा लिएर प्रवेश गरेको देखिन्छ,’ राजदूत खड्काले भने, ‘यस्तो अवस्था जान्दा–जान्दै जोखिम लिएर युक्रेन पसेका छन्। उनीहरुको मनासय के हो भन्ने त ‘क्लियर’ नै छ।’

उनीहरू तीनै जना पढेलेखका र जाने बुझेका भएको राजदूत खड्काको बुझाइ छ।

‘उनीहरु एजुकेटेड नै छन्। हामी उनीहरुसँग सम्पर्कमा छौँ। कुराकानी सबै हेर्दा उनीहरु नबुझेर यहाँ फसेको भन्ने कुनै किसिमबाट देखिदैँन,’ उनी भन्छन्, ‘युरोप छिर्ने मनासयले नै मल्डोभा हुँदै युक्रेन आएका हुन्।’

समस्या परेपछि दूतावासको सम्पर्कमा

छिमेकी देशहरूले प्रवेश बन्द गरिसकेका थिए। युरोप छिर्ने उद्धेश्यसहित जोखिम मोलेर युक्रेन छिरेका यी नेपालीको सपना चकानचुर भयो। युक्रेनमा काम गर्ने वातावारण थिएन। काम नै पाए पनि उनीहरूको लक्ष्य युक्रेनमा नभइ युरोप पुग्नु थियो।

राजदूत खड्का यता न उताको भएपछि उनीहरू दूतावासको सम्पर्कमा आएको बताउँछन्।

‘अरु सबै देशले भिसा दिन बन्द गरिसकेका छन्। नेपाल फर्किन पनि युक्रेनबाट उडान छैन। जाने ठाउँ कतै नभएपछि सम्पर्कमा आएको देखिन्छ,’ उनले भने।

उनीहरूको उद्धार कसरी गर्न सकिन्छ भनेर आफूहरूले निरन्तर समन्वय गरिरहेको खड्काको भनाइ छ। अन्य देशले भिसा जारी नगरेपछि मल्डोभाको नियोगसँग समन्वय गरेर उतै फर्काउने प्रयास भइरहेको उनले बताए।

अन्तर्राष्ट्रिय अभ्यास अनुसार पनि जुन देशबाट आएको हो उही देशमा फर्काउने गरिन्छ। सोही आधारलाई टेकेर उनीहरूलाई मल्डोभा हुँदै नेपाल फर्काउन प्रयास भइरहेको छ।

‘मल्डोभाबाट भित्रिएका हुन् भने उतै नै फर्काउन पर्छ भन्ने सोचेर त्यसका लागि समन्वय गरिरहेका छौँ। मल्डोभा हुँदै नेपाल फर्काउन समन्वय गरिरहेका छौँ,’ उनले भने।

जोखिम नमोल्न आग्रह

दूतावासले उनीहरुको उद्धारका लागि हरेक निकायसँग आग्रह गरिरहेको छ।

‘१५ दिन भयो। यसका लागि लागिरहेका छौँ। सबैतिर समन्वय गरिरहेका छौँ,’ राजदूत खड्काले भने।

उनले यस्तो विषम परिस्थितिमा युक्रेन हुँदै युरोप छिर्न सम्भव नभएको बताउँदै जोखिम नमोल्न अन्य नेपालीहरूलाई आग्रह समेत गरेका छन्।

‘यस्तो अवस्थामा पनि आउन खोज्नेलाई के भनौं खोई ! तपाईँ हामीले के भन्ने ? कसरी मान्छेहरूलाई कन्भिस गर्ने अफ्ठयारो छ,’ उनले भने, ‘अब उप्रान्त कसैले पनि यस्तो जोखिम नमोल्नु होला । कसैको प्रलोभन वा जानी–जानी यस्तो कदम नउठाउन आग्रह गर्छु।’

दूतावास जिम्मेवार नहुने

जोखिम भएको मुलुक भन्ने थाहा हुँदाहुँदै गैरकानूनी ढंगले प्रवेश गरे दूतावास जिम्मेवार नहुने राजदूत खड्काले दोहोर्‍याए।

दूतावासले यसअघि नै सार्वजानिक सूचना जारी गरेर यस विषयमा सचेत गराइसकेको छ। प्रलोभनमा परी नेपाली युक्रेन नछिर्न दूतावासले सचेत गराएको थियो।

‘यस्तो विषम परिस्थितिमा पनि विभिन्न प्रलोभनमा परी वा स्वेच्छाले यूक्रेनको यस्तो जटिल अवस्थाबाट फाइदा लिइ युरोपका अन्य मुलुकमा प्रवेश गरी पलायन हुने मनासायका साथ अझ पनि केही नेपालीहरू गैर–कानूनी रुपमा युक्रेन प्रवेश गरिराखेको बुझिएको छ,’ बर्लिनस्थित नेपाली दूतावासले भनेको छ।

दूतावासले गैरकानूनी तरवरले युक्रेन प्रवेश नर्गन चेतावनी दिएको छ। जोखिम मोलेर युक्रेन पुगि समस्यामा परे त्यस्ता व्यक्तिलाई कुनै पनि सहयोग गर्न नसकिने दूतावासले जनाएको छ।

‘युक्रेनमा हाल अन्तर्राष्ट्रिय उडान समेत स्थगित भएको सन्दर्भमा यस राजदूतावासबाट यात्रा अनुमति जारी भइ त्यहाँबाट बहिर्गमन हुनसक्ने अवस्था पनि नभएकोले कुनैपनि नेपाली नागरिकले कसैको प्रलोभनमा परी वा स्वेच्छाले कुनै पनि माध्यमबाट युक्रेन प्रवेश नगर्न राजदूतावास सबैलाई अनुरोध गर्दछ,’ दूतावासले विज्ञप्तिमार्फत भनेको छ, ‘यस्तो अवस्थामा पनि यो सूचनालाई वेवास्ता गरी गैर कानूनी रुपमा युक्रेन प्रवेश गरेमा त्यसबाट उत्पन्न हुने असहज परिस्थितिका लागि सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने जानकारी गराइन्छ।’

 

 

 

 



No ads found for this position