विश्व बैंकको नयाँ प्रमुखका लागि भारतीय मूलका अजय बंगा मनोनित
काठमाडौं- अमेरिकाले विश्व बैंकको प्रमुखमा भारतीय मूलका अजय बंगालाई मनोनित गरेको छ।
भारतीय मूलका अमेरिकी कारोबारी र मास्टरकार्डका पूर्वप्रमुख बंगालाई अमेरिकाले विश्व बैंकको प्रमुखका लागि मनोनयन गरेको हो।
राष्ट्रपति जो बाइडनले विश्व बैंकको प्रमुखमा बंगा मनोयन भएको घोषणा गरेका हुन्।
व्हाइट हाउसको तर्फबाट जारी एक वक्तव्ययमा बाइडनले बंगासँग वैश्विक कम्पनी निर्माण र सञ्चालन गर्ने तीन दशकभन्दा बढीको अनुभव रहेको बताएका छन्।
अमेरिकाले विश्व बैंकमाथि जलवायु परिवर्तनसम्बन्धी हल गर्न दबाब दिइरहेको बेला वाइडनले भारतीय मूलका बंगालाई प्रमुखमा नियुक्त गरेका हुन्।
बंगाले क्रेडिट कार्डको लोकप्रिय कम्पनी मास्टकार्डका लागि एक दशकभन्दा बढी समयसम्म नेतृत्व सम्हालिसकेका छन्।
अहिले उनी अमेरिकामा निजी इक्विटी कम्पनी जनरल एटलान्टिकको उपप्रमुखका रूपमा काम गरिरहेका छन्।
निजी क्षेत्रसँग सहकार्य गरेर जलवायु परिवर्तनसम्बन्धी समस्या हल गर्न बंगाको अनुभवले सकारात्मक परिणाम दिने अमेरिकाले अपेक्षा गरेको छ।
विश्व बैंकको बोर्डले मे महिनाको प्रारम्भमा बंगाको नियुक्तिका लागि औपचारिक रूपमा घोषणा गर्ने बताइएको छ।
प्रमुख पदका लागि तीन जनाको नाम चयन गरिएको र मे महिनाको प्रारम्भमा नयाँ प्रमुखको नाम घोषणा गरिने विश्व बैंकले जनाएको छ।
प्रमुख पदका लागि महिला उम्मेदवारलाई पनि प्राथमिकता दिन सकिने बताइएको छ।
अमेरिका विश्व बैंकको सबैभन्दा ठूलो सेयरधारक रहेको छ। पारम्परिक रूपमा अमेरिकाले नै विश्व बैंकको प्रमुख चयन गर्दै आइरहेको छ।
त्यसैले बंगा नै विश्व बैंकको नयाँ प्रमुख हुने बढी सम्भावना रहेको बताइएको छ।