यूएईका लागि टिम घोषणा, सन्दीप अटाएनन्
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले यूएई भ्रमणका लागि नेपाली टिमको घोषणा गरेको छ।
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा खेलिने खेलका लागि क्यानले १५ सदस्यीय टिमको घोषणा गरेको हो।
१५ सदस्यीय टिममा पूर्वकप्तान सन्दीप लामिछाने परेका छैनन्।
यूएई भ्रमणका लागि सन्दीपलाई टिममा समावेश गर्न अनुमति दिन क्यानले राष्ट्रिय खेलकुद परिषदसँग आग्रह गरेको थियो।
क्यानले पहल गरे युएई जान अनुमति नपाएपछि सन्दीप टिममा अटाउन सकेनन्।
नाबालिक बलात्कार मुद्दा खेपिरहेका सन्दीप २० लाख धरौटीमा रिहा भएका थिए। अदालतले उनलाई विदेश नजान आदेश दिएको छ।
क्यानले रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जीसी र श्याम ढकाललाई टिममा समावेश गरेको छ।
प्रतिश र श्याम पहिलोपटक राष्ट्रिय टिममा स्थान पाएका छन्।
लिगअन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको श्रृंखलामा नेपाली टिमले लगातार चारवटा खेल जितेर क्लिन स्वीप गरेको थियो।