बहराइनको राजदरवारमा उघ्रिएका नेपाली डाक्टर

बहराइनको राजदरवारमा उघ्रिएका नेपाली डाक्टर

‘यो पुरस्कार मैले मेरा लाखौं बिरामी मान्छेहरू, उनका परिवार र मेरो टिम अनि सम्पूर्ण नेपालीको नाममा स्विकार गर्दछु’ बहराइनको राजधानीस्थित एउटा भव्य सभाहलमा विश्वकै एउटा प्रतिष्ठित पुरस्कार लिँदै डा. सन्दुक रुइतले भने ‘अझ लाखौं आँखाहरूमा ज्योती भर्ने मेरो सपनामा यो पुरस्कारले अझ आत्मविश्वास थपेको छ।’

देशको एउटा निकै प्रतिष्ठित पुरस्कार अर्पण गर्दै डा. रुइतलाई बहराइन अधिराज्यले ‘दुष्टि दूत’ भनेर सम्मान पनि दिएको छ।

बहराइनको राजधानी मानामास्थित ‘इसा सांस्कृतिक केन्द्र’को एउटा भव्य हलमा मंगलबार त्यहाँका राजा सेख हमद विन इसा अल खालिफासहित देशका सबै उच्च पदस्थ व्यक्तिहरूले खचाखच थिए।

‘मानवताको सेवा’का लागि त्यही राजपरिवारले स्थापना गरेको अवार्ड डा. रुइतले जितेका हुन्। त्यो भव्य हलमा डा.रुइतको पनि भव्य स्वागत भयो। सम्मान भयो र यो विश्व प्रतिष्ठित पुरस्कार समर्पण गरियो। त्यहाँका राजाले उनको नाममा ‘रात्री भोज’ पनि दिए।

गत माघ ४ गते अवार्डका लागि छनोट भएको खबर पाउनासाथ डा. रुइतलाई त्यो खुसी बाँड्न निकै उकुस मुकुस भइरहेको थियो। तर,धेरैका आँखा उघार्दा उद्घार्दै उनलाई फुर्सदै थिएन। केही दिनपछि उनले पत्रकारहरूलाई त्यो खुसी बाँडे।

‘जीवनमा ३५ वर्षसम्म जुन कर्म गरें सायद त्यसैको प्रतिफल हो कि!’ कर्म गरेर फलको आशा गरेनन् सायद उनले। र, त हरेक पुरस्कार अनि सम्मान सबै बरु उनी आफूले निको पारेका अनि चाहेर पनि निको पार्न नसकेका बिरामीहरूका नाममा अर्पण गर्छन्। आफूलाई हर कदममा साथ दिने, आफ्नो टिमसँग सधै कृतज्ञ बाँड्छन्।

‘जे गरे पनि एकोहोरो काम गरिरहेँ। संसारले अलिकति भए पनि चिन्दोरहेछ’ ज्योती निभेका आँखाहरू हेर्दा हेर्दै त्यो खबर सुनेका डा. रुइतलाई एकछिन त त्यो समाचारको विश्वासै लागेन।

‘हो नै रहेछ। एकछिन त आफैलाई विश्वास भएन’ कर्ममा विश्वास थियो, फलमा कहाँ र! दु:खका हर फलहरू उनले आफूले स्यहार्ने बिरामीका नाममा समर्पण जो गर्छन्।

‘सर्जन’ भएर पहिलोचोटी चक्कु चलाउन थालेदेखि उनले जीवनका ३५औं वर्षहरू त्यसमै समर्पण गरेका छन्। हज्जारौं आँखाका ज्योति उघारेका छन्। कर्म गर्न अझै बाँकी छ। मानव दृष्टिका यी साधक अझैं थाक्नेछैनन्।

र त, भन्छन् ‘अझ लाखौं मानिसका ज्योति उद्घार्नुछ’ पुरस्कार लिँदा पनि उनले भने ‘आगामी ५ वर्षमा ५ लाख आँखाहरूको अपरेशन गर्ने संकल्प गरेको छु। जो आफ्नै ताकतमा अस्पतालसम्म आउन सकेका छैनन्।’

ताप्लेजुङको एउटा अन्तिम हिमाली वस्ती हो ओलाङचुङगोला, जहाँ रुइतले पहिलोचोटी धरतीमा आँखा उघारेका थिए। त्यो हिमाली गाउँबाट पढ्नका लागि दार्जिलिङतिर हुर्रिएको एउटा सात वर्षे वालक दशकपछि डाक्टरी पाइला पछ्याउन थाल्यो।

आफूमाथि लागेका ‘विदेशी’ नजर पन्छाउँदै उनी आफ्नै देश फर्के। केही समय जागिरे भए अनि आफैंले एउटा आँखा अस्पताल खोले।

गुमेका नजर फर्काउने उनको यो सपनाले तिलगंगा आँखा प्रतिष्ठान जन्मायो। प्रशिक्षण केन्द्रको विकास गर्‍यो। इन्ट्राअकुलर लेन्स कारखाना बनायो अनि आँखा बैंकको स्थापना गर्‍यो।

प्रतिष्ठानले लाखौं जीवनका ज्योति फर्काएको छ। धेरै डाक्टरहरूको जीवन उघारेको छ, प्रशिक्षण केन्द्रले अनि इन्ट्राअकुलर लेन्स नेपालीमात्रै होइन, हजारौं देशका मानिसको आँखाको नानी भएर बसेको छ। यो त्यही कारखाना हो जसले विश्वको सबैभन्दा सस्तो लेन्स उत्पादन गर्छ।

रुइतकै अर्को योगदान हो, आँखा बैंक जहाँ मान्छेले अब आँखाका नानी दान गर्न थालेका छन्। अनि ती ‘नानी’हरू विश्वका हजारौं मानिसका ज्योति बनिरहेका छन्।

‘अन्धोपन’ निवारणका लागि उनले अस्पताल वा प्रतिष्ठानहरूमात्रै बनाएनन्, डाक्टरहरूमात्रै उत्पादन गरेनन् बरू एउटा आफ्नैपन बोकेको एउटा पद्धति निमार्ण गरे।

विश्वले ‘रुइतेक्टोमी’ नाम दिएका छन्। मोतीविन्दु उपचारको यो निकै सजिलो पद्धति चीनका विभिन्न क्षेत्र,  बंगलादेश, भुटान, भारत, क्याम्बोडिया, म्यानमार, थाइल्यान्ड, इन्डोनेसिया, उत्तर कोरियाजस्ता धेरै देशहरूले पछ्याएका छन्। उनीहरूले यसलाई ‘नेपाल टेक्निक’ भनेर पनि चिनाएका छन्।

यी सब गरे।

र, विश्वकै एउटा प्रतिष्ठित अवार्ड पाए।

अनि फेरि सम्झिएका छन्, गर्न बाँकी त अझ धेरै छ ‘यो अवार्डमात्रै होइन, नेत्र चिकित्सा अनि अन्धोपन निवारणका लागि नेपालको एउटा अब्बल परिचय पनि हो’ रुइत भन्छन् ‘यसले नेपाली भूभागमात्रै होइन, यो भन्दा पनि माथि उठेर मानवीय सेवाका निम्ति अझ धेरै प्रेरणा थपेको छ।’

कसरी छानिए डा. रुइत

यो अवार्ड पाउनका लागि विश्वभरिबाट आवेदन दिएका १४५ व्यक्ति र संस्थाहरूमध्ये एउटा संस्था ‘विश्व स्वास्थ्य संगठन’ पनि थियो र ती आवेदनका भीडमा डा. रुइतको ‘आवेदक हस्ताक्षर’ पनि थियो।

तीमध्ये रुइत पनि उत्कष्ट ६ आवेदकमा छानिए। उनीसँगै विश्व स्वास्थ्य संगठन, दुई अमेरिकी गैरसरकारी संस्था, नाइजेरियाको जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने संस्था अनि बंगलादेशको अर्को एउटा एनजिओ पनि थियो।

निर्णायकले धेरै अध्ययन र अनुसन्धान गरेर डा. रुइतलाई छाने, १० लाख डलर पुरस्कारका लागि।

संसारका हरेक जसो प्रतिष्ठित भनिएका अवार्ड वा पुरस्कारहरूमा कतै न कतै राजनीति र शक्ति केन्द्रको गन्ध छिरिहाल्छ। तर यो छनोटमा डा. रुइतले त्यस्तो केही देखेका छैनन्।

‘संसारमा धेरेजसो स्थापित अवार्ड ‘अनफरच्यूनेट्ली सोसल, पोलिटिकल स्ट्राटेजिक कनेक्टिभिटि’ को परिधिभित्रै हुन्छन्। हामीले जति मिहेनत गरे पनि त्यो परिधि भित्र पर्न सक्दैनौं’ उनी भन्छन् ‘तर अब सबै त्यस्तो हुँदैनन्। कुनै कुनै त्यस्ता प्रतिष्ठित संस्थाहरूले ‘ग्रासरुट’ पनि हेर्छन्। जसरी यो अवार्डको नजर नेपालसम्म पर्‍यो।’

यो कस्तो अवार्ड हो?

‘बहराइनका राजा हमाद बिन इसा खालिफा’ को सम्झनामा यो अवार्ड बहराइन अधिराज्यले सन् २००९मा स्थापना गरेको थियो।

‘विश्व मानवताको सेवा’का लागि आफूलाई समर्पण गर्ने व्यक्ति तथा संस्थालाई यो अवार्ड दिइन्छ। हरेक दुई वर्षमा एकपटक दिइने यो अवार्ड तथा यसको पुरस्कार राशी दश लाख डलर (नेपाली लगभग १३ करोड रुपैया) हो।

यो अवार्ड पाउने डा. सन्दुक रुइत पाँचौ पुरस्कार विजेता हुन्। संयोगले पहिलोपल्ट सन् २०१३मा यो अवार्ड पाउने जमिला मोहम्मद पनि एक डाक्टर नै हुन्। विपद् व्यवस्थापनका लागि गरेको सेवावाफत यो अवार्ड पाउने उनी मलेसियाकी डाक्टर हुन्।

डा. रुइतअघि दोस्रो अवार्ड भारतका एक सामाजिक कार्यकर्ता अच्यता सामान्तले पाएकी थिइन्। भारतीय आदिवासी जनजातिका सन्ततीहरूलाई शिक्षा प्रदान गर्ने उनको अभियानका लागि यो अवार्ड दिइएको थियो।

तेस्रो अवार्ड इजिप्टको एउटा बाल क्यान्सर अपस्तालले पायो, २०१५मा। बालबालिकामा हुने क्यान्सरको उपचारार्थ खोलिएको यो ‘हस्पिटल ५७३५७’ नामले चर्चित छ।

सन् २०१९ मा पाकिस्तानको एउटा गैरसरकारी संस्थाले यो चौथो अवार्ड जित्यो। संकटमा परेका मानिसको उद्धार, राहत र सहयोगका लागि स्थापनार्थ यो संस्थाले पाकिस्तानभरि ३३० भन्दा धेरै त्यस्ता सेवा केन्द्रहरू सञ्चालन गर्दै आएको छ।

वातावरण, जलवायु परिवर्तनदेखि शान्ति र मानवीय सेवाका विभिन्न ११ क्षेत्रमा विश्वभरि उदाहरणीय काम गर्ने संस्था अनि व्यक्तिहरूलाई यो अवार्ड दिइन्छ।

यो एउटा ठूलो धनराशीको अन्तर्राष्ट्रिय पुरस्कार हो। विश्वभरिबाट अवार्डका लागि खुल्ला आवेदन आह्वान गरिन्छ र प्राप्त जानकारीहरूका आधारमा ‘सर्ट लिस्टेड’ गरिन्छ। त्यसपछि उनीहरूका बारेमा अध्ययन र अनुसन्धान गर्ने यो अवार्ड वितरण गर्ने टोली सम्बन्धित व्यक्ति वा संस्था रहेकै ठाउँमा पुग्छन्।

उनीहरूले अध्ययन, अनुसन्धान र मूल्याङ्नको आधारमा अवार्डको मूल कमिटीले अन्तिम विजेताको नाम घोषणा गर्छ। डा. रुइत तथा उनले गरेका कामहरूको बारेमा अध्ययन गर्न पनि त्यो टोली नेपाल आएको थियो।

नेपालमा अहिले नेत्र चिकित्साको अवस्था

नेपालमा पहुँच नभएका स्थानमा आँखाको स्तरीय सेवालाई सर्वसुलभ बनाउने रुइतको सपना अझै पूरा भइसकेको छैन। त्यसका लागि केही कामहरू अझै बाँकी छन्।

मध्य काठमाडौंमा रुग्न वागमती किनारामा उभिएको एउटा तिलगंगाभित्र मात्रै सिमित छैनन् डा. रुइत। वर्षौंदेखि आँखाको ज्योति गुमाएर ‘अँध्यारो’ जीवन बाँचिरहेकाहरूको घरदैलोमै पुग्छन् आफ्नो टिमै लिएर। त्यसको पनि छुट्टै अभियान छ। त्यसरी पनि उनले हजारौंको आँखामा ज्योति भरेका छन्।

उनले सुरु गरेको यो क्षेत्रमा काम गर्ने सामाजिक उत्तरदायित्व अब मौलाउन थालेको छ।

‘हामीले त आफूले पुगेसम्म आफ्नै हैसियतमा वा गैरसरकारी संस्थाहरू र सकियो भने राज्यसँगै हातेमालो गरेर अघि बढ्ने हो’ उनी भन्छन् ‘तर राज्यले यसलाई अपनाएर आफै जनस्वास्थ्यको आधारभूत संरचनामा राख्न पनि सक्छ।’ जसले गर्दा पहुँच र पैसा नभएका नेपालीले सजिलै संसार देख्न पाउनेछन्।

उनको यो सामाजिक मोडेल विश्वका धेरै देशले पछ्याउन थालिसकेका छन्। तर, नेपालमा भने सरकारी स्तरबाटै यो प्रकारको अभियान छैन।

‘इसा अवार्ड’लाई उनले एउटा पुरस्कारका रुपमा मात्रै लिएका छैनन्। बरु अझ ठूलो र निकै चुनौतीपूर्ण जिम्मेवारी सम्झिएका छन्।

उनले विश्वका सबैलाई यस्तो मानवीय कार्यका लागि आह्वान पनि गरेका छन्।

एकजना बेलायती व्यवसायी तेज कोहलीको सहयोगमा उनले आगामी ५ वर्षभित्र ५ लाख वा त्यसको आधा मानिसको आँखा सल्यक्रिया गर्ने अभियानमा सक्रिय हुनेछन्।

नेपालमा मात्रै होइन, यो विश्वका अरू पनि देशमा चल्नेछ। जहाँका मान्छेसँग पैसा र पहुँच हुँदैन। आँखा हुन्छ तर ज्योति र दृष्टि हुँदैन।

घाना अनि इथोपिया र भुटानलगायतका देशमा यो अभियान सुरु भइसकेको छ।

यही अभियानका क्रममा बितेको एकवर्षमा नेपालका हजार मानिसको आँखाहरू सल्यक्रिया भएका छन्।

इन्डोनेसिया, लाओसमा यो अभियान सुरु हुने प्रक्रियामा छ।

र, अर्को एउटा विशाल सपना छ तिलगंगा आँखा प्रतिष्ठानलाई ‘विश्वविद्यालय’ बनाउने।

‘अरू विश्व विद्यालय खोल्नका लागि सरकारले करोडौं लगानी गर्नुपर्ला तर यहाँ केही लगानी पर्दैन। राज्यको इच्छाशक्तिमात्रै भए पुग्छ’ डा. रुइत भन्छन् ‘हामीसँग संसारकै अब्बल डाक्टर, नर्स अनि उत्कृष्ट टिम छ। सहयोगी हातहरू छन्। आफ्नै नाम छ। प्रतिष्ठा र पहिचान छ। राज्यले यत्ति चिने पुग्छ।’