भारतमा १ सय किलाे सुन बरामद, कनेक्सन नेपालमा !
काठमाडौं। भारतमा तस्करी गरेर ल्याएको एक सय किलो सुन बरामद भएको छ। भारतको खुफिया राजस्व अनुसन्धान निर्देशनालयले सुन बरामद गरेको हो। सुनसहित ७ जना सुडानी नागरिक र तीन जना भारतीय नागरिक समातिएका छन्।
निर्देशनालयले ‘गोल्डेन डन अपरेशन’ नाम दिएर गरेको अपरेशनमा भारतीय मूल्य ५१ करोड रुपैयाँ बराबरको १ सय १ किलो सुन बरामद भएको हाे। त्यस्तै १ करोड ३५ लाख भारतीय तथा विदेशी मुद्रासमेत बरामद भएको छ।
डीआरआईको अनुसन्धानको क्रममा सुनलाई झोल बनाएर नेपालको सिमाबाट भारत पुर्याइएको देखिन्छ। त्यसपछि बस र रेलको माध्यमबाट भारतका विभिन्न ठाउँमा पुर्याउने गरिएको छ।
भारतको पटना, पुणे र मुम्बईबाट सुन जफत गरिएको हो। डीआरआईले आइतबार राति तीन सुडानी नागरिकलाई नियन्त्रणमा लिएको थियो। उनीहरु भारतको पटना रेल स्टेशनमा मुम्बई जानको लागि तयार रहेको अवस्थामा पक्राउ परेका थिए। उनीहरुले विषेश तस्करीको लागि बनाएको ज्याकेटमा ४० वटा प्याकेटमा ३७ किलो सुन लुकाएका थिए।
त्यस्तै सोमबार दुई महिलालाई साढे ५ किलो सुनसहित पक्राउ गरेको थियो। पटनाबाट मुम्बई गइरहेको बसमा खानतलासी गर्दा दुई सुडानी नागरिकको साथबाट साढे ३८ किलो सुन भेटिएको थियो। ४० वटा प्याकेटमा राखिएको अवस्थामा उक्त परिमाणको सुन भेटिएको हो।
भारतमा तस्करी सुनको शैली नेपालमा केही दिन अगाडि बरामद भएको जस्तै देखिन्छ। गत पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानस्थल भन्सार कार्यालयको टोलीले अवैध सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको थियो। भारतमा आइतबार बरामद भएको शैलीमा नै सुडानी नागरिकले सुन ल्याएका थिए।
मोहम्मद अहमद डाफल्ला साराफेल्दिनले कम्मरमा बाँधेर सुनलाई अर्धठोस बनाएर नेपाल ल्याएका थिए।
सुन लिन आएका अर्का सुडानी नागरिक अहमद मोहम्मद इब्राहिम मोहम्मदले दुबई हुँदै नेपाल आएको सुन भारत लग्ने जिम्मेवारी पाएका थिए। भारतमा बरामद सुन नेपाल हुँदै पुगेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। यसबारे भारतीय प्रहरीले अनुसन्धान गरेको छ।