दुबईमा कसरी पुर्याए नेपालीले नक्कली डलर?
काठमाडौं। नक्कली डलरसहित दुबई विमानस्थलका सुरक्षाकर्मीले केही बेर नियन्त्रणमा लिएका चलचित्र विकास बोर्डका दुई कर्मचारीको विवरण प्रवास खबरलाई प्राप्त भएको छ।
विशेष स्रोतबाट प्राप्त विवरणअनुसार यसरी नक्कली डलर लिएर जाने बोर्डका कर्मचारी गिरिष शर्मा र हरि सिंह राइखोला हुन्। शर्मा बोर्डको सचिवालयमा प्रर्दशनी तथा वितरण अफिसरको जिम्मेवारीमा छन् भने राइखोला चलचित्र उत्पादक अफिसर हुन्।
बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई गएका उनीहरू नक्कली डलर भेटिपछि केही बेर सुरक्षा निकायको नियन्त्रणमा परेका थिए।
भएको के थियो?
चलचित्र विकास बोर्डले १२ फेब्रुअरीदेखि आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’मा सहभागी हुन् ११ फेब्रुअरीमा कलाकारको टोलीसँगै शर्मा र राइखोला पनि दुबई उडेका थिए।
दुबई उत्रिएसँगै उनीहरू डलरलाई स्थानीय मुद्रामा सटही गर्न विमानस्थल भित्रै रहेको मनि एक्सचेन्जमा गए। त्यहाँ उनीहरूले डलरलाई दिराम बनाइदन आफूले बोकेको डलर एक्सचेन्जका कर्मचारीलाई बुझाए।
तर, उनीहरूले सटही गर्न भन्दै दिएको डलरमध्ये केही नक्कली भेटिए। मेसिनमा चेक गर्दा नक्कली नोट भेटिएपछि एक्सचेन्जका कर्मचारीले विमानस्थलको सुरक्षा निकायलाई जानकारी गराएका थिए।
लगत्तै त्यहाँ प्रहरी र सिआइडीको टोली आइपुगेको थियो। टोलीले नक्कली डलरसहित उनीहरूलाई नियन्त्रणमा लियो।
विमानस्थलबाहिर उनीहरूलाई ‘रिसिभ’ गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका अध्यक्ष ठाकुर ढुंगानासहितको टोली बसिरहेको थियो। टोलीमा गएका अन्य सबै जना बाहिर निस्किए। तर, दुई जना भने बाहिर आएनन्।
‘उनीहरूलाई विमानस्थलमा ४ घण्टाभन्दा बढी केरकार भयो,’ स्रोतको भनाइ छ।
सिटीजन्स् बैंकले साटेको थियो डलर
शर्मा र राइखोलाले नक्कली नोट प्रकरणमा आफूहरू निर्दोष रहेको सुरक्षा निकायका प्रतिनिधि समक्ष दावी गरेका थिए। डलर नेपालको सिटीजन्स् बैंकमा साटेको बताउँदै यसबारे आफूहरूलाई थप केही थाहा नभएको उनीहरूको भनाइ थियो।
‘डलर बैंकमा साटिएको र राहदानीमा पनि डलर साटेको बैंकले छाप लगाइदिएको भन्दै उनीहरूले आफूहरूलाई निर्दोष सावित गर्न खोजिरहेका थिए,’ दुबईस्थित विमानस्थल स्रोत भन्छ, ‘पासपोर्टमा बैंकले नै छाप लगाइदिएकोले सुरक्षा निकायका प्रतिनिधि पनि अलमलमा परेका थिए।’
सिटीजन्स् बैंक दोषी देखाएका उनीहरूलाई सुरक्षाकर्मीले छोड्न मानेका थिएनन्। सुरक्षा निकायका प्रतिनिधि उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने तयारीमा थिए।
पछि दुबईमा बस्ने अर्का एक नेपालीले यसमा बैंकको दोष भएको र कार्यक्रमका लागि आएका अतिथिलाई छाड्न आग्रह गरेका थिए। र, उनीहरूको ‘ग्यारेण्टी’ आफूले लिने बताएपछि सुरक्षा निकायका अधिकारीले शर्मा र राइखोलालाई छोडिदिए।
‘डलर जस्तो संवेदनशील मुद्धामा यत्तिकै नछोड्ने अडान सुरक्षा निकायका प्रतिनिधिले लिएका थिए। बैंकमै साटिएको प्रमाण थियो। त्यसैले उनीहरूलाई छोडिएको हो,’ स्रोतको भनाइ छ।
प्रवास खबरलाई प्राप्त कागजात अनुसार शर्मा र राइखोलाले सिटीजन्स् बैंकको कपनस्थित शाखाबाट १० फेब्रुअरीमा डलर साटेको देखिन्छ। जसमा शर्माले ट्राभल कार्डमा १ हजार डलर र नगद ५ सय डलर लिएका थिए भने राइखोलाले ट्राभल कार्डमा ८ सय डलर र नगद ५ सय डलर लगेका थिए।
सुरक्षा निकायको चासो
नेपाली अधिकारी नक्कली डलरसहित समातिएपछि दुबईको सुरक्षा निकायले पनि यो विषयलाई गम्भीरताका साथ लिएको छ। ‘उनीहरूलाई छोडिए पनि यसको सुक्ष्म ढंगले यहाँका अधिकारीले अनुसन्धान गरिरहेका छन्,’ स्रोत भन्छ, ‘नेपालको सुरक्षा निकायसँग समन्वय गरेर यस विषयमा अनुसन्धान अघि बढ्ने बुझिएको छ।’
नक्कली डलर प्रकरणमा अमेरिकाको सिधा चासो रहन्छ। त्यसैले पनि यो विषयलाई यूएईको सुरक्षा निकायले गम्भिर ढंगले लिएको छ। नेपालको सिटीजन्स् बैंकबाट साटिएको भनिएको डलर कसरी नक्कली भयो भन्ने विषयमा दुबईको सुरक्षा निकायले इन्टरपोलमार्फत नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान अगाडी बढाएको बताइन्छ।
‘सिटीजन्स् बैंकले साट्ने बेलामा दिएको प्रमाणको प्रतिलिपिहरू सबै यहाँ संकलन गरिएको छ। बरामद भएको नक्कली नोट र कागजातलाई आधार बनाएर यहाँका सुरक्षा अधिकारीले अनुसन्धान अघि बढाइरहेका छन्,’ स्रोतको भनाइ छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता पोषराज पोख्रेल भने यो विषयमा अहिलेसम्म आफूलाई जानकारी प्राप्त नभएको बताउँछन्। ‘यस्तो भएको होला। तर,अहिलेसम्म जानकारी प्राप्त भएको छैन,’ बैंकले साटेको नोट नक्कली भएको भन्ने आफूले पहिलो पटक सुनेको भन्दै उनी भन्छन्, ‘यो विषय त नयाँ भयो। अहिलेसम्म यस्तो भएको जानकारी थिएन।’
उनले यस विषयमा अपराध महाशाखामा बुझ्न समेत आग्रह गरे। ‘सायद अपराध महाशाखातिर यो विषय आइपुगेको हुनुपर्छ,’ उनले प्रवास खबरसँग भने।
चलचित्र बोर्ड भन्छ – आधिकारिक जानकारी छैन
यसविषयमा थप बुझ्न प्रवास खबर टीम बिहीवार विहान चलचित्र विकास बोर्डमा पुगेको थियो। अवार्डका लागि दुबई पुगेका बोर्डका अध्यक्षसहितका पदाधिकारी फर्किएका छैनन्। बुधवार मात्र कार्यक्रम सकिएको छ। शर्मा र राइखोला आजै नेपाल फर्किने उडान तालिका भएको बोर्डका सूचना अधिकारी चिरन्जीवी गुरागाईंले बताए।
डलर प्रकरणमा बोर्डमा आधिकारिक जानकारी नआइसकेको उनको भनाइ थियो। ‘त्यो पैसा उहाँहरूले व्यक्तिगत प्रयोजनका लागि साट्नु भएको होला। बोर्डले साटेर दिएको पैसा होइन,’ उनको भनाइ थियो, ‘यसबारेमा हामीलाई आधिकारिक जानकारी केही छैन। उहाँहरुले (शर्मा र राइखोला) पनि यस्तो भयो भनेर फोन गर्नुभएको छैन। मिडियामा आएका समाचारबाट थाहा पाएको मैले पनि।’
बैंकका म्यानेजर भन्छन्– यसबारे केही भन्न मिल्दैन
कपनको सरस्वतीनगरमा रहेको सिटीजन्स् बैंकका म्यानेजर निरेश ढुंगेल भने यसविषयमा अहिले केही पनि कुरा भन्न नमिल्ने बताउँछन्।
प्रवास खबरका प्रतिनिधिले ढुंगेलको कार्यकक्षमै पुगेर यस विषयमा सोधेका थिए।
‘यो विषयमा म अहिले बोल्न मिल्दैन। नक्कली नोट जस्तो गम्भिर विषय भएकाले बैंकका केन्द्रीय प्रवक्ताबाट नै पछि केही कुरा आउला,’ उनले भने।
दुबईबाट आफूलाई पनि केही कल आएको उनले बताए। ‘नक्कली नोट रहेछ भनेर मलाई पनि कल आएको थियो। अब हामीले दिएको नोट नक्कली नै थियो कि अरु कसैले दिएको नोट नक्कली थियो। यसबारे त अनुसन्धान होला। कहाँको के–के भन्ने कुरा,’ उनले भने।
चलचित्र विकास बोर्डका कार्यक्रममा दुबई जान लागेका १५/ १६ जनाले आफ्नो शाखाबाट डलर साटेको उनको भनाइ छ।
यो पनि पढ्नुहोस्