टर्कीका नेपालीलाई सुरक्षित र आपसी सम्पर्कमा बस्न एनआरएनएको आग्रह

टर्कीका नेपालीलाई सुरक्षित र आपसी सम्पर्कमा बस्न एनआरएनएको आग्रह File Photo

दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टेपमा ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण सीमावर्ती सिरया र भूकम्पको केन्द्र टर्कीमा पनि ठूलो जनधनको क्षति भएको छ।

सरकारले आपतकाल घोषणा गर्दै त्यहाँ उद्धार तथा राहत कार्य सुरू गरिरहँदा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले टर्की र भूकम्प प्रभावित आसपासका क्षेत्रमा रहेका नेपालीहरूलाई आपसी सम्पर्कमा रहन आग्रह गरेको छ।

संघका अध्यक्ष डा. वद्री केसीले एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई आपसी समन्वय र सम्पर्कमा रहन तथा आवश्यक परे एनआरएनएका प्रतिनिधिहरूलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन्।

अहिलेसम्मको जानकारी अनुसार सबै क्षेत्रमा नेपाली सुरक्षित रहेको पनि उनले बताएका छन्। टर्कीको इस्तानबुल, अँकारा, इज्मिर, अन्टालिया, बोडुर्म लगायतका स्थानमा २ हजार देखि २५ सय नेपालीको बसोबास छ। भूकम्पको केन्द्रविन्दु दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टेपमा भने थोरै संख्यामा नेपाली छन्।

‘त्यहाँस्थित नेपालीहरु अहिले हाम्रो राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसीसी)टर्कीसँग प्रत्यक्ष सम्पर्कमा छन्। भूकम्पमा हालसम्म कुनै नेपालीको क्षति नभएको जानकारी प्राप्त भएको छ। गाजीयान्टेपबाट हामीसँग सम्पर्कमा जोडिनुभएका नेपालीले आफुहरु सुरक्षित रहेको बताउनुभएको छ। थप विवरणका लागि हामी निरन्तर सम्पर्कमै छौँ र सूचना सम्प्रेषण गर्ने व्यहोरा अवगत गराउँदछौँ’ उनले भनेका छन् ‘यसका साथै, त्यहाँस्थित सम्पूर्ण नेपालीलाई सुरक्षित रहन र सम्पर्कमा रहन हामी अनुरोध गर्दछौं। यदि भूकम्पका कारण कोही नेपाली प्रभावित भएको वा समस्या परेको भए तुरुन्त गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी )टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ, महासचिव विनोद पौडेल वा गैरआवासीय नेपाली संघको सचिवालयमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछु।’

उनले भूकम्पमा भएको जनधनको क्षतिप्रति गहिरो दु:ख पनि व्यक्त गरेका छन्।

सोमबार बिहानपख दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टेपमा ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो। अहिलेसम्म पाँच सयभन्दा धेरै मानिस र सयौ भौतिक संचरनामा क्षति पुगेको छ।

‘यस दुखद् घडीमा हामी प्रभावित क्षेत्रमा बसोबास गर्ने सबै प्रति चिन्ता र चासो व्यक्त गर्दछौँ। यस घटनामा दिवंगत  भएका सबैलाई श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरुको यथाशक्य छिटो उद्धार र उपचार होस् भन्ने कामना समेत गर्दछौँ।  साथै,  हामी टर्की र सीमावर्ती सिरियाले व्यहोर्नु परेको दुखमा गहिरो समवेदना व्यक्त गर्दछौँ’ केसीले भनेका छन्।

त्यहाँको बारेमा जानकारी लिनका लागि निम्नाअनुसार सम्पर्क गर्न सकिन्छ :

एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ: 00-905522778593

महासचिव विनोद पौडेल : 00-905372777196

गैरआवासीय नेपाली संघ  सचिवालय : 977-014411530