टर्कीमा शक्तिशाली भूकम्प : एनआरएनए टर्कीका अध्यक्ष भन्छन्, अहिलेसम्म नेपाली सुरक्षित छन्

टर्कीमा शक्तिशाली भूकम्प : एनआरएनए टर्कीका अध्यक्ष भन्छन्, अहिलेसम्म नेपाली सुरक्षित छन्

टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भुकम्पका कारण अहिलेसम्म ३०० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। सयौं ठूला बिल्डिङहरू ढलेका छन् तर उद्धार कार्यलाई तीव्र पारिएको सरकारले जनाएको छ।

टर्कीको दक्षिणपूर्वी एउटा सहरमा शक्तिशाली भूकम्प गएको छ। सिरियासँग सिमाना गाँसिएको यो क्षेत्रमा स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेट जाँदा गाजीयान्टाप क्षेत्रमा ७.९ म्याग्निच्यूडको भूकम्प गएको हो।

२० लाखभन्दा धेरै जनसंख्या रहेको यो क्षेत्रमा करिब ५ लाखभन्दा सिरियाली शरणार्थीहरू छन्। समाचारहरूका अनुसार यो भूकम्पको गहिराइ जमिनदेखि १० किलोमिटर मुनि थियो।

नजिकैको सिरिया क्षेत्रमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ।

यो क्षेत्रमा रहेका नेपालीहरू भने अहिलेसम्म सुरक्षित रहेको गैरआवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङले जानकारी दिएका छन्।

उनका अनुसार भुकम्प गएको क्षेत्र राजधानी इस्तानबुलभन्दा धेरै टाढा हो। र त्यहाँ नजिकै ५-६ नेपालीहरू कार्यरत थिए। तर अहिलेसम्म नेपालीहरू सुरक्षित रहेको उनले बताए।

‘हामी निरन्तर अपडेटमा छौं। त्यहाँ केन्द्रबिन्दु भएर भुकम्प गएको ठाउँमा ५-६ नेपाली भएको खबर त आएको छ। तर उहाँहरू सबै सुरक्षित हुनुहुन्छ भन्ने जानकारी छ’ उनले भने ‘अरू ठाउँमा पनि भुकम्पको धक्का गइरहेको छ। हामीले सबै ठाउँका नेपालीसँग सम्पर्क गरिरहेका छौं। अहिलेसम्म त्यस्तो कुनै नराम्रो खबर आएको छैन।’

भूकम्पको सबैभन्दा पहिलो र ठूलो झट्का सिरिया क्षेत्रमा परेको थियो। त्यसपछि दोस्रो झट्काले टर्कीको केन्द्रीय जमिन हल्लाएको थियो।

राष्ट्रपति रेजेप तयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत सन्देश दिँदै यो विपदबाट सबै एकैसाथ पार लाग्ने बताएका छन्।

उनले भनेका छन्,‘हामी अपेक्षा गर्छौं कि सकेसम्म चाँडो र कम क्षतिसहित हामी यो विपदबाट पार पाउनेछौं।’

उनले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू युनिटहरूलाई पनि सकर्त अवस्थामा राखिएको बताएका छन्।

भूकम्प गएको स्थान दक्षिण–पूर्वी टर्कीस्थित गाजियान्टेप सिरियासँगको सिमानजिकै पर्छ।

अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्न्च्यिुडको भूकम्प गएको हो।

भूकम्पको धक्का राजधानी अङ्कारासहिट टर्कीका विभिन्न सहररूमा महसुस भएको थियो।

कैयौं भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनि भएका छन्।

टर्कीका भूकम्पविदहरूका अनुसार भूकम्पको धक्का ४५ मिनेटसम्म महसुस गरिएको थियो।

टर्की विश्वसको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमधये एक हो।

सन् १९९९ मा देशको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए।