नेपाल-मलेसिया उच्चस्तरीय श्रम बैठक काठमाडौंमा सुरु

नेपाल-मलेसिया उच्चस्तरीय श्रम बैठक काठमाडौंमा सुरु

काडमाडौं। नेपाल भ्रमणमा आएका मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबीच काठमाडौंको एक होटलमा भेटवार्ता भएको छ।

नेपालीको प्रमुख रोजगार गन्तव्य देश मलेसियाका गृहमन्त्री इजमाइलको नेतृत्वमा रहेको मलेसियन उच्चस्तरीय भ्रमण टोलिसँग नेपालका श्रममन्त्री अर्यालको नेतृत्वमा करिव डेड घण्टा छलफल भएको हो। नेपाल र मलेसियाबीचकोे काठमाडौंमा भएको यो उच्चस्तरीय श्रम बैठक हो।

छलफलका क्रममा नेपाल मलेसिया श्रम सम्झौता नविकरण, नेपाली कामदारको अधिकार, सुरक्षा, अवसर विषय प्रमुख बनेको श्रममन्त्री अर्यालका नीजि सचिव पुन्य भण्डारीले जानकारी दिए।

बैठकमा नेपालको तर्फबाट गृह सचिव विनोदप्रकाश सिंह, परराष्ट्र सहसचिव लोकबहादुर थापा, निमित्त श्रमसचिव डण्डुराज घिमिरे, सहसचिव रामचन्द्र ढकाल, वैदेशिक रोजगार विभागका प्रमुख उमाकान्त आचार्यलगायतको टोली सहभागि रहेको थियो ।

मलेसियाको तर्फबाट नेपालका लागि मलेसियाली राजदूत मोहमद फाजिल अबु हसन र मानव संशाधन मन्त्रालयका प्रतिनिधिहरु रहेका छन्।

मलेसियाले तुरुन्तै पाँच लाख कामदार लैजाने नीति लिएपछि मलेसियाका गृहमन्त्री काठमाडौं आएर छलफल गर्दा नेपालले तत्काल श्रम सम्झौता नविकरण गर्नु पर्ने, नेपाली कामदारको पारिश्रमिक बृद्धि र थप अधिकारसहित दक्ष र अर्धदक्ष कामदारको अवसर उपलब्ध गराउन माग गरिएको जनाइएको छ।

मन्त्री अर्यालले नेपालीलाई अदक्ष कामदारभन्दा केही सीप सिकाएर पठाउन आवश्यक भएकाले मलेसियाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए।

छलफलमा मलेसियाका गृहमन्त्री इजमाइलले नेपाली कामदार सबैको रोजाईमा पर्ने हुँदा उनीहरुको अधिकार र अवसरका लागि मलेसिया सरकारले कुनै कसुर बाँकी नराख्ने बताए।

मन्त्री इजमाइलले अन्य देशको तुलनामा नेपालीहरु जेलमा ज्यादै कम रहेको र गैरकानूनीरुपमा रहेकाहरुलाई एक पटक कानूनी मान्यताका लागि अवसर दिएको जानकारी दिए।

दुई देशबीचको श्रम सम्झौता आवश्यक गृहकार्य पश्चात तत्काल गर्न मलेसिया तयार रहेको मन्त्रीको भनाई उदृत गर्दै बैठकमा सहभागी भण्डारीले बताए।

मलेसियाले औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रमा कामदारको अभाव भएको भन्दै स्रोत देशबाट तुरुन्तै कामदार ल्याउने तयारी गरेको हो। त्यसमध्ये सेवा क्षेत्रअन्तर्गत पर्ने घरेलु कामदार र नेपाली सुरक्षा गार्डबारे मलेसियाको मुख्य चासो छ ।

नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपछि गत वैशाखमा मात्रै नेपालका तर्फबाट मन्त्रीस्तरीय भ्रमण भएको थियो। त्यो भ्रमण कूटनीतिक भेटमा मात्रै सीमित भएको थियो ।

कोभिड महामारीको समयमा रोकिएको विदेशी कामदार भर्ना प्रक्रिया मलेसियाले गत अप्रिलमा सुरु गरेको थियो। त्यसयता झन्डै दुई लाख नेपाली मलेसिया गइसकेका छन्।

गृहमन्त्री इजमाइलको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कूटनीतिक भेट गर्ने जनाइएको छ। आजै गृहमन्त्री इजमाइल मलेसिया भिसा सेन्टरको अवलोकनमा गएका छन्।

मलेसियाका गृहमन्त्री इजमाइल तीनदिने भ्रमणका लागि बिहीबार साँझ काठमाडौं आइपुगेका थिए।