मलेसियाका गृहमन्त्री नेपाल आउँदै, प्रधानमन्त्री र श्रममन्त्रीसँग भेट्ने

मलेसियाका गृहमन्त्री नेपाल आउँदै, प्रधानमन्त्री र श्रममन्त्रीसँग भेट्ने

काठमाडौं। मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमायल तीन दिने भ्रमणका लागि आज नेपाल आउने भएका छन् ।

गृहमन्त्री फुद्दिन नासुसन इजमायलको भ्रमणको अवसरमा नेपालले श्रम सम्झौताको विषयलाई उठाउने र कार्यान्वयन गर्न आग्रह गर्ने जनाइएको छ ।

नेपाल र मलेशियाबीच यसअघि नै श्रम सम्झौता भएको छ । २०७५ कात्तिक ११ गते श्रम सम्झौता हो । गृहमन्त्रीसँग उक्त सम्झौता कार्यान्वयनका लागि विशेष जोड दिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपाली कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको व्यवस्था लगायतका विषयमा छलफल गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तैगरी मलेशियामा रोजगारीका लागि जाँदा लाग्ने लागतलाई शून्यमा झार्ने विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

गृहमन्त्री फुद्दिन नासुसन इजमायलले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोरप्रसाद अर्यालसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

मलेशिया नेपालको प्रमुख वैदेशिक गन्तव्य भएको मुलुक हो ।