बेलायतले नेपालबाट मौसमी कामदार नलैजाने

बेलायतले नेपालबाट मौसमी कामदार नलैजाने

काठमाडौं। बेलायतले अबदेखि नेपालबाट मौसमी कामदार नलैजाने भएको छ।

बेलायत सरकारबाट मौसमी कामदार भित्र्याउने मान्यता पाएका ५ कम्पनीहरूले यो वर्ष नेपालबाट कामदार नल्याउने घोषणा गरेको फाइनान्सियल टाइम्सले जनाएको छ।

बेलायतको अध्यागमन विभागले नेपाली मौसमी कामदार स्वदेशमै शोषणमा पर्ने गरेको भन्दै सरकारलाई चेतावनी दिएको थियो। त्यसअघि पनि श्रमिमको क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्थाहरूले श्रमिकको शोषणाबारे रिपोर्ट सार्वजनिक गरेका थिए।

मौसमी कामदारका रूपमा बेलायत जानेहरूबाट नेपालकै एजेन्टहरूले चर्को शुक्ल लिने गरेका थिए। एजेन्टहरूले असुल गरेको रकमअनुसार बेलायतका कृषि फार्महरुमा काम गर्दा भनेजस्तो सेवा सुविधा नभएको भन्दै नेपाललगायत एशियाली देशका कामदारहरूले पटक पटक आवाज पनि उठाएका थिए।

त्यसको अनुसन्धान गर्दै जाँदा बेलायतकै अध्यागमन तथा अरू गैरसरकारी संस्थाहरूले कामदार नेपालबाटै ठगिएर आउने गरेको पाएका थिए।

यो रिपोर्टका आधारमा कतिपय सञ्चारमाध्यमहरूले ‘कामदारको शोषण’ गरिएको भन्दै समाचारहरू प्रकाशित गरेपछि बेलायती कम्पनीहरूले तत्कालका लागि नेपालबाट मौसमी कामदाहरू नल्याउने घोषणा गरेका हुन्।

मौसमी कामदारहरूलाई करिब छ महिनाका लागि भिसा दिइन्छ। त्यसरी जाने कामदारहरूले नेपालमै एजेन्टहरूलाई १० लाख रूपैयाँसम्म बुझाउनुपर्ने त्यहाँ पुगेका नेपालीहरूले बताएका थिए।

बेलायत जाने श्रमिकले मासिक तीन लाखसम्म कमाउँछन्। आकर्षक कमाइको प्रलोभन देखाइ एजेन्टले १० लाखसम्म उठाउन थालेको नेपाली कामदारको गुनासो छ।

स्थानीय कामदारको अभाव भएपछि बेलायतले बाहिर देशबाट कृषि क्षेत्रमा काम गर्न छोटो समयका लागि कामदारहरू आयात गर्ने नीति लिएको थियो। त्यही नीतिअनुसार नेपालबाट पनि मौसमी कामदार त्यहाँ जान थालेका थिए। बेलायतमा यस्ता मौसमी कामदारमध्ये करिब १० प्रतिशत नेपाली छन्।

नेपाली कामदार नलैजाने घोषणासँगै बेलायती कृषि फार्महरूले श्रमिक अभाव अझ झेल्नुपर्ने देखिएको छ।

रिपोर्टका अनुसार गत वर्ष लाखौं पाउण्डको बाली काट्ने कामदार नहुँदा खेतबारीमै सडेको थियो।

गत वर्ष मात्र २४७२ नेपाली मौसमी कामका लागि बेलायत पुगेका थिए।

युरोपियन युनियनबाट अलग भएसँगै अस्थिरता ब्यहोरिरहेको बेलायतमा एक वर्षदेखि जारी युक्रेन युद्धका कारण कामदारको अभाव झन चर्किएको छ। त्यसैले पनि त्यहाँका व्यावसायिक कृषि फार्महरू युरोप बाहिरकै कामदारको भरमा थेगिएका छन्।

बेलायतको त्यही अवस्थाका कारण छोटो समयका लागि भएपनि नेपालीले त्यहाँ रोजगारीको अवसर पाएका थिए। तर, यो अवसर अबदेखि नेपालीले गुमाएका छन्।

यसअघि सञ्चारमाध्यमहरूले मौसमी कामका लागि ल्याइएका नेपाली श्रमिक शोषणमा परेको तथ्यहरू सार्वजानिक गरेका थिए। योसँगै श्रमिकको विषय विश्वव्यापी बहसको विषय बनेको थियो।

नेपालबाटै कामदार बढ्दै गएको र उनीहरू ठगिने क्रम बढ्न थालेपछि नेपाल सरकारले पनि त्यसलाई व्यवस्थित गर्नका लागि ‘मौसमी कामदार व्यवस्थापन निर्देशिका-२०७९’ ल्याएको थियो।

जिटुजी (सरकार-सरकार) सम्झौता गरेर त्यस्ता कामदारहरूलाई शून्य लागतमा पठाउने लक्ष्य यो कार्यविधिको हो। तर यो कार्यविधि कार्यान्वयनमा आउन नपाउँदै बेलायतले भने मौसमी कामदार नलैजाने घोषणा गरेको छ।

बेलायत, क्यानडा, कोरिया र जर्मनी, इजरायललगायत देशमा लक्षित गरी मौसम कामदार पठाउन कार्यविधि बनाएको थियो। कार्यविधिले आगामी दिनमा त्यस्ता कामदारहरू छनोट गर्ने अधिकार स्थानीय तहलाई दिएको थियो।