श्रमिकका समस्या समाधान गर्न सरकारले सञ्चालनमा ल्यायो ‘श्रमाधान’

श्रमिकका समस्या समाधान गर्न सरकारले सञ्चालनमा ल्यायो ‘श्रमाधान’

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकका समस्या समाधान गर्न ‘श्रमाधानः २४ घन्टे श्रम सहायता केन्द्र’ सञ्चालनमा ल्याएको छ।

देश तथा विदेशमा रहेका श्रमिकले पाउने अप्ठ्यारा, गुनासा समाधानका लागि केन्द्रमा  टिपाउन सक्ने मन्त्रालयले जनाएको छ।

‘आजदेखि २४ घन्टा कल सेन्टर सुरु भएको छ। हप्तामा सातै दिन सेवा उपलब्ध हुनेछ,’ श्रममन्त्री डोलप्रसाद अर्यालले भने।

६ महिनाभित्र श्रमाधानको मोबाइल एप पनि सार्वजनिक गरिने मन्त्री अर्यालले जानकारी गराए। उक्त एपमार्फत श्रम मन्त्रालयसँग सम्बन्धित गुनासो गर्न दर्ता गर्न सकिने उनको भनाइ छ।

श्रम मन्त्रालयमा टाइम कार्ड

यस्तै, मन्त्रालयले सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध गराउन टाइम कार्ड सुरु गर्ने भएको छ । मन्त्री अर्यालले आगामी ६ महिनाभित्र टाइम कार्डमार्फत सेवाग्राहीलाई सेवा उपलब्ध गराउने बताए।

‘श्रमसम्बन्धी सेवा तोकिएको समयमा पाउनका लागि श्रम टाइम कार्ड लागू गर्ने तयारी भएको छ,’ उनको भनाइ छ, ‘टाइम कार्डमा तोकिएको सेवा दिन नसक्ने कारण भए दिनुपर्छ, झुलाउने काम गर्न पाइएन, त्यसको कारण दिनुपर्छ। ’

श्रम मन्त्रालयमा ५ वर्ष अगाडि नै श्रमिकका गुनासो लिनका लागि कल सेन्टर स्थापना गरिएको थियो । कल सेन्टरको काम प्रभावकारी नभएका भन्दै आलोचना हुने गरेको छ ।