राहदानी विभागबाट दैनिक १५०० अग्रिम अनलाइन आवेदन भर्न सकिने

राहदानी विभागबाट दैनिक १५०० अग्रिम अनलाइन आवेदन भर्न सकिने

काठमाडौं। राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ।

विभागले एक सूचना प्रकाशित गरी आजदेखि दैनिक एक हजार पाँच सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुने जनाएको छ।

हाल दुईदेखि तीन दिनको मात्रै प्रि–इनरोलमेन्टको व्यवस्था रहेकामा अब एक महिनाको गर्न लागिएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए।

उनका अनुसार दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले एक महिनाको योजना ल्याएको हो। यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ। आज प्रि–इनरोलमेन्ट गर्दा फागुन १५ सम्ममा समय पाइनेछ।

विभागसहित विदेशमा रहेका कूटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि एक महिनाको प्रि–इनरोलमेन्ट गराउने छन्।

काठमाडौं नजिकका जिल्लामा १० देखि १२ दिनभित्र, तराईका जिल्लामा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लामा २० देखि ३० दिन र विदेशमा रहेका नेपाली नियोगमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गरिने विभागले जनाएको छ।