दूतावास नभएका देशमा नेपालले घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाइने

दूतावास नभएका देशमा नेपालले घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाइने

सरकारले पोर्चुगलमा विशेष टोली खटाउने तयारी गरेको छ। परराष्ट्रमन्त्री विमला राई पौडेलले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको बताएकी हुन्।

गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको पहलमा आइतबार भएको अन्तर्क्रिया कार्यक्रममा परराष्ट्रमन्त्री पौडेलले दूतावास तथा कन्सुलर सेवा नभएका देशहरुमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीले भोग्नुपरेको समस्या समाधानका लागि पहल गर्ने तयारी गरेको जानकारी दिइन्।

‘पोर्चुगलमा रहनुभएका नेपालीका धेरै कुराहरु सुन्यौँ, धेरै नेपाली अलपत्र छन्, कागजपत्र नभएका भन्ने पनि सुन्नमा आएपछि सकेसम्म कन्सुलेट खोल्ने तयारी छ, तर सो कार्य तत्काल सम्भव छैन, त्यसमा आर्थिक पाटो पनि जोडिएको छ, अर्कोतर्फ मन्त्रीपरिषदबाट त्यसको निर्णय हुनुपर्छ, त्यसैले तत्काल समस्या समाधानका लागि २५ देखि १ महिनाभित्र एउटा सरकारी टोली पोर्चुगलमा राख्ने, र त्यहाँका कागजपत्र विहिन तथा समस्याग्रस्त नेपालीलाई सहजीकरण गर्ने योजना बनाएका छौँ ’ उनले भनिन्।

यसअघि गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले काठमाण्डौस्थित परराष्ट्र मन्त्रालयमा पुगेर दूतावास तथा महावाणिज्यदूत नभएका देशमा तत्काल दूतावास स्थापना तथा महावाणिज्यदूत नियुक्त गर्न मन्त्री पौडेललाई आग्रह गरेको थियो।

यूरोपेली मुलुक माल्टामा दूताबास नहुँदा समस्या परेको भन्ने विषयमा मन्त्रालय जानकार रहेको भन्दै मन्त्री पौडेलले माल्टाको समस्या समाधानमा सरकारले पहल गर्ने बताइन्।

त्यस्तै साइप्रसमा घरेलु कामदारको रुपमा जाने क्रम बढेको भन्दै त्यसलाई जी टु जी च्यानलमा ल्याउन सरकारले पहल गर्ने मन्त्री पौडेलको भनाई थियो।

मन्त्री पौडेलले विदेशस्थित दूतावास तथा कूटनीतिक नियोगलाई २४ घण्टा सञ्चालन गर्न सर्कुलर जारी गरेको बताइन्। ‘नेपाली नागरिकलाई दूतावासमा गुहार्छ भने ऊ सुरिक्षत हुनुपर्छ र उसका लागि दूतावासको सर्भिस २४ घण्टे हुनुपर्छ भन्ने हाम्रो ध्येय छ, त्यही अनुसार काम हुन्छ, चाहे त्यो टेलिफोनबाट इमेलबाट नै किन नहोस्’ उनले भनिन्।

एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापाले त्यहाँ नेपालीको अवस्था र समस्याबारे जानकारी

गराउँदै सरकारले तत्काल पहल नगरे आत्महत्या जस्तो विकराल समस्या आउनसक्नेतर्फ मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए।

एनआरएनए पोल्याण्डका महासचिव पवन, खड्काले त्यहाँको नेपालीको अवस्था र विद्यमान समस्याबारे जानकारी गराए। माल्टाका अध्यक्ष भूवन अर्यालले माल्टामा दूतावास नहुँदा भोग्नुपरेको समस्या, माल्टासँग नेपालले कूटनीतिक सम्बन्ध विस्तारका लागि गर्न सक्ने पहल लगायतका विषयमा जानकारी दिएका थिए।

यस्तै, एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेले विविध कारण ज्यान गुमाएका नेपालीको शव व्यवस्थापन लगायतका समस्याबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराए।

चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थी त्यहाँस्थित नेपालीलाई व्यवसाय गर्न सरकारी स्तरबाट पहल गरी आवश्यक व्यवस्था मिलाउन र कन्सुलर सेवा उपलब्ध गराउन अनुरोध गर्नुका साथै चेक गणतन्त्रको राजधानी प्रागमा हुन गैरहेको १५औं यूरोपियन क्षेत्रिय सम्मेलनमा मन्त्रीलाई निम्तो दिएका थिए।

कार्यक्रममा सहभागी बेल्जियमका अध्यक्ष खड्ग बहादुर केसीले बेल्जियममा हालसम्म त्यस्तो कुनै ठूलो समस्या नरहेको र समस्या परिहाले पनि नेपाली समुदाय मिलेर समाधान गर्ने गरेको बताए।

यस्तै एनआरएनकी महिला उपाध्यक्ष यास्मिन सैयद बेगमले मध्यपूर्वमा नेपाली श्रमिकको अवस्थाबारे जानकारी गराउँदै त्यस्तो विकराल समस्या नभएको जानकारी गराएकी थिइन्। कार्यक्रमको सहजीकरण एनआरएनएका उपमहासचिव रामशरण सिम्खडाले गरेकका थिए।