रवि लामिछानेको नागरिकता प्रमाणपत्र प्रक्रियामै

रवि लामिछानेको नागरिकता प्रमाणपत्र प्रक्रियामै

काठमाडौं। रवि लामिछानेले नागरिकताको प्रमाणपत्र लिने कार्य प्रक्रियामै रहेको छ।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनले पुनः नागरिकताको प्रमाणपत्र लिन निवेदन दिएका थिए।

उननलाई नागरिकताको प्रमाणपत्र दिने कार्य प्रक्रियामै रहेको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन्।

‘अहिले उनी (रवि)लाई नागरिकताको प्रमाणपत्र दिने प्रक्रियामै रहेको छ,’ उनले भनिन्।

अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गर्दै लामिछानेले पुनः नेपाली नागरिकता प्रमाणपत्र माग गरेर निवेदन दिएका हुन्।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो। साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए।

यसपछि आइतबार समर्थकसहित उनी पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन्। प्रशासन परिसरमा अहिले उनका समर्थकको भिड लागेको छ।