रवि प्रकरणले गैरआवासीय नेपालीलाई दिएको सन्देश

रवि प्रकरणले गैरआवासीय नेपालीलाई दिएको सन्देश डा.ज्ञानेन्द्र रेग्मी

रवि लामिछानेको नागरिकता प्रकरण र सर्वोच्चको फैसलाले प्रस्ट नजीर बसालेको छ कि विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वत: निस्क्रिय हुनेछ। अर्थात नेपाली मुलका विदेशीकाे निस्क्रिय रहेको नेपाली नागरिकता नेपालमा कुनै पनि कानूनी प्रयोजन हुनेछैन।

एक होनाहार युवा जसले केही गर्छु भनेर छोटो समयमा जनतासामू लोकप्रियता कमाउँदै गर्दा यो फैसलाले देशमा परिवर्तन खोज्दै गरेका युवालाई केही निरास त बनाएको छ तर, कानूनको दायराभन्दा माथि कोही हुनसक्दैन भन्ने नजीर पनि छोडेको छ।

रवि प्रकरण र सर्वोच्चको फैसलाले गैरआवासीय अझ प्रष्ट भन्दा विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीमा बढी डर, चिन्ता र चासो बढेको छ।

अष्ट्रेलिया, क्यानाडा, अमेरिकालगायतका विकसित राष्ट्र जहाँ दोहोरो नागरिकताको प्रावधान छ। ती मुलुकहरूमा नै ठूलो संख्यामा विदेशी नागरिकतका लिएका गैरआवासीय नेपाली छन्। जसमध्ये अधिकांशले नेपाल सरकारले प्रदान गर्ने ‘एनआरएन कार्ड’ बनाएकै छैनन्।

यस प्रकारका नेपाली मुलका नागरिक विदेशमा मध्यमयदेखि धनाढ्य व्यक्ति पनि पर्छन्। झट्ट अनुहार हेर्दा र प्रष्ट नेपाली बोलेको देख्दा विदेशी राहदानी नदेखाउञ्जेल नेपालमा कसैले पनि विदेशी भन्नै सक्दैनन्।

यीमध्य पहिलो र दोस्रो पुस्ताका हामी गैरआवासीय नेपालीलाई नेपालमा समस्या नआउञ्जेल के नै हुन्छ र? भन्ने मान्यता पनि छ। हामी विदेशमा रहुञ्जेल नियम कानून प्रष्ट मानेर हिड्छौं भने नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्किने वित्तिकै सबै बिर्सन्छौं। चाहे त्यो आन्तरिक हवाइ टिकट काट्दा होस् चाहे हनुमान ढोकालगायतका संग्रहालय अवलोकन गर्न जाँदा।

नेपाली मुलका विदेशी अब पक्कै पनि नेपाल घुम्न जाँदा निस्क्रिय रहेको नागरिकता देखाएर नेपाली नागरिकसरह सुविधा लिनु गैरकानूनी हो भन्ने कुरा मनन् गर्छन् होला।

त्यैसैगरी विदेशमा दु:ख गरेर कमाएको पैसा गैरकानूनी माध्यमबाट नेपाली पठाउन पनि निस्क्रिय रहेको नागरिकता देखाए गर्ने लगानीमा जोखिम हुन्छ भन्ने महसुस गर्छन्।

विदेशमा दिनरात काम गरेर कमाएको पैसा गैरकानूनी माध्यमबाट नेपालमा दिनहुँ करोडौं भित्रिए पनि  त्यसरी पठाएको रकम विदेशी राहदानी बोकेका गैरआवासीय नेपालीले निस्क्रिय भएको नागरिकता देखाएर लगानी गर्ने सामान्यदेखि धनाढ्य वर्गसमेत छन्। अब भने त्यस्ता व्यक्तिलाई कसैले उजुरी गरिदिएमा मुद्दा मामिला हुने र आफ्नो प्रतिकूल निर्णय हुने डर सधै हुनेछ।

रविको घटनाले अब ‘विदेशी’ भइसकेका नेपालीले पनि नेपालमा केही गर्न परेमा कानुनअनुसार वैध बाटो समाउनेछन्। नेपाल सरकारले दिने एनआरएनए कार्डको प्रयोग गर्नेछन्।

रवि प्रकरणले अव विदेशमा रहेका नेपालीले एनआरएनए कार्डको मह्त्व बुझ्नेछन्। र, वैधानिक बाटोबाट लगानी गर्न अग्रसर हुनेछन्।

सबैभन्दा चासोको विषय एनआरएनएले लामो समयदेखि उठाउँदै आएको दोहोरो नागरिकताले महत्व पाउनेछ। एनआरएनएमा अहिलेसम्म गैरआवासीय नागरिकता चुनावी एजेण्डा बढी, काम थोरै नै भएको थियो। अब भने नागरिकता विधेयक पास गराउन र नागरिकता उपलब्ध गराउने पक्कै पनि ठूलो दवाव दिने काम हुनेछ भन्ने लागेको छ।

रविको मुद्दापछि अरू देशको पासपोर्ट बोकेका नेपाली मुलका विदेशीले निस्क्रिय रहेको नेपाली नागरिकता देखाएर नेपालको आन्तरिक हवाइ टिकट काट्न डराउनेछन्। त्यही नेपाली नागरिकता देखाएर बैंकमा खाता खोल्ने, घर जग्गा, शेयर किनबेच  गर्न डराउनेछन्।

रविको यो प्रकरणले सरकारलाई पनि सम्झाएको छ कि, एनआरएनएले वर्षौंदेखि उठाउँदै आएको नागरिकताको विषय कति महत्वपूर्ण रहेछ!

(डा. रेग्मी एनआरएनए अष्ट्रेलियाका निवर्तमान महासचिव हुन्)