रवि प्रकरणबारे एनआरएनए : गैरआवासीय नेपालीमा निराशा

रवि प्रकरणबारे एनआरएनए : गैरआवासीय नेपालीमा निराशा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतले गरेको फैसलाले विदेशमा बस्ने नेपाली निराश बनेको बताएको छ।

संघका अध्यक्ष डा‍‍. बद्री केसीले देशमा केही गर्छु भन्ने भनेर नेपाल फर्किन खोजिरहेका गैरआवासीय नेपाली यो फैसलाबाट निराश भएको बताए।

‘देशमा फर्केर केही गर्छु भन्नेलाई निराश बनाएको छ। विदेशमा सिकेको ज्ञान, सीपलाई देशसँग जोड्ने योजनामा रहेका नेपालीलाई यो फैसलाले झन अन्योल थपेको छ’, उनले प्रवास खबरसँग भने।

गैरआवासीय नेपालीलाई नागरिकताको लागि एनआरएनएले लामो समयदेखि पहल गरेको तर, सरकारले समयमै सम्बोन्धन नगर्दा यस्ता समस्याहरू आइरहेको उनको भनाइ छ।

‘गैरआवासीय नेपाली नागरिकता सम्बन्धी ऐन आइसकेको भए यो मुद्दा यत्तिकै सल्टिन्थ्यो। बाहिर बस्ने नेपालीलाई नेपालमा भएका कानूनका बारेमा त्यत्ति धेरै थाहा पनि हुँदैन,’ उनले भने, ‘नागरिकता विधेयक ल्याएको भए कुनै कन्फूजन हुने थिएन। रवीजीको विषयमा पनि भएको त्यही हो।’

सरकारले नागरिकता विधेयक तुरुन्तै ल्याउनुपर्ने उनको भनाइ छ।

‘रविजीको यो विषयले पनि सरकारले नागरिकता विधेयक तुरुन्तै ल्याउनुपर्ने देखिएको छ’, उनले भने ‘नागरिकता विधेयक ल्याउने काम सरकारकै हो। यो काममा जति ढिला भयो समस्याहरू उति नै बढ्दै जान्छन् र देशका लागि केही गर्न कस्सिएका गैरआवासीय नेपाल झन निराश हुनेछन्।’