टि–२० क्रिकेट लिग : स्पट फिक्सिङको आरोपमा आलम र अन्सारीसहित तीन जना पक्राउ

टि–२० क्रिकेट लिग : स्पट फिक्सिङको आरोपमा आलम र अन्सारीसहित तीन जना पक्राउ

काठमाडौं। नेपाल टि–२० क्रिकेट लिगमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरूलाई पक्राउ गरेको हो।

सिआइबी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा महबुब आलम र आदिल अन्सारी छन्। एक जनाको नाम भने खुलेको छैन।

आलम पूर्वराष्ट्रिय खेलाडी हुन भने अन्सारी राष्ट्रिय टोलीका सदस्य छन्।

गत जेठमा अमेरिकाविरूद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका अन्सारी नेपाल टि–२० लिगमा जनकपुर रोयल्सका तर्फबाट खेलेका थिए।

उनीहरूले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियाको आयोजनाको स्पट फिक्सिङमा सहयोग गरेको सिआइबी स्रोतले जनाएको छ।

आलमले जतिनलाई अन्य खेलाडीहरूसँग पनि सम्पर्क गर्न सहयोग गरेको बताइएको छ।

खेल चलिरहेको बेला फिक्सिङका लागि आफ्ना खेलाडीहरूलाई अफर आएको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खुलासा गरेका थिए।

यो विषय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई समेत जानकारी गराइएको थियो।

प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङभएको दाबी गर्दै फेसबुकमा भिडियो वक्तव्य जारी गरेका थिए।

खेलमा फिक्सिङ भएको आरोप लागेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए।

स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तिमा १० जना संलग्न भएको प्रहरीको निष्कर्ष छ।

त्रिवि क्रिकेट मैदानमा पुस ९ देखि २७ गतेसम्म चलेको नेपाल टि–२० लिगको क्रममा स्पट फिक्सिङ भएर खेलको नतिजा फरक पार्ने काम भएको आरोप लागेको थियो।

 



No ads found for this position