भारत घुम्न गएका जनकपुरका दुई युवकको अपहरणपश्चात हत्या

भारत घुम्न गएका जनकपुरका दुई युवकको अपहरणपश्चात हत्या

काठमाडौं। जनकपुरधामका दुई युवकको अपहरणपश्चात भारतमा हत्या भएको छ।

जनकपुरधाम–८ बस्ने जगदीश साहका २५ वर्षीय छोरा रोहित र वडा नम्बर १३ बस्ने रामबाबु साहका २२ वर्षीय छोरा विष्णुको हत्या भएको हो।

आइतबार बिहान दुवै जनाको शव भारत बिहार सीतामढी जिल्लाको बेला थानाअन्तर्गतको पर्सा गाउँको पश्चिमतर्फ चौरमा फेला परेको छ।

पुस २७ गते भारत घुम्न जान भनेर जनकपुरबाट हिँडेका दुवै जना एकाएक बेपत्ता भएका थिए।

दुई दिनसम्म सम्पर्कविहीन भएपछि दुवै युवकका परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा मौखिक जानकारी गराएका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले दुवै युवक सम्पर्कविहीन भएको जानकारी आफन्तहरूले पुस २९ गते गराएको बताए।

‘भारततर्फ घुम्न जान्छु भनेर दुवै जना पुस २७ गते घरबाट निस्किएका रहेछन्। सम्पर्कविहीन भएपछि २९ गते हामीले जानकारी पायौं,’ क्षेत्रीले भने,‘भारतीय प्रहरीको समेत सहयोग लिएर खोजतलास अगाडि बढायौं। आज बिहान साढे २ बजे उनीहरूको शव फेला परेको बुझिएको छ।’

अपहरणकारीले गत सोमबार ५० लाख रूपैयाँ फिरौती माग गरेको थियो। उनीहरूले विष्णुको आवाज रेकर्ड गरेर आफन्तलाई फोनबाटै सुनाएका थिए।

अपहरणकारीले अपहरीत युवकहरूको नेपाली नम्बरको सीमबाट फोन गरेको डिएसपी क्षेत्रीले बताएका छन्।

‘उनीहरूले ५० लाख रूपैयाँ फिरौती मागेका रहेछन्। बार्गेनिङ भएर १० लाखसम्म पुगेको छ,’ उनले भने,‘फिरौती रकम माग्न अपहरीतहरूको नेपाली नम्बरको सीम प्रयोग भएको देखिएको छ।’

नेपाली नम्बरको सीम प्रयोग भएको देखिएपछि भारतीय प्रहरीको सहयोग लिएर सीमा वरिपरीको क्षेत्रलाई प्राथमिकतामा राखेर खोजतलास गरे पनि प्रहरीले फेला पार्न नसकेको उनले बताए।

मंगलबारदेखि मोबाइलमा सम्पर्क हुन छाडेपछि खोज तलासमा समस्या भएको क्षेत्रीको भनाइ छ।

‘अपहरणको जानकारी भएसँगै भारतीय प्रहरीसँग समन्वय गरेका थियौं, खोजतलास पनि सक्रियपूर्वक भइरहेको थियो। अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले हामीलाई समयमा जानकारी दिएनन्। त्यसकारण बचाउन सकेनौं,’ क्षेत्रीले भने।

घटनापश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आशंकामा धनुषा प्रहरीले जनकपुरबाट दुई जना र भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

अनुसन्धानका लागि जनकपुरबाट प्रहरीले कृष्णकुमार पण्डित र मुकेश पासवानलाई पक्राउ गरेको स्रोतले जनाएको छ। भारतीय प्रहरीले पक्राउ गरेको तीन जनाको नाम खुलेको छैन।

घटनामा संलग्न हुनसक्नेहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

हत्या भएका दुवै युवकको शव सीतामढी जिल्लाको परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ। कानुनी प्रक्रिया पूरा गरेर शव ल्याउन धनुषा प्रहरी त्यहाँ पुगेको छ।

 



No ads found for this position