गृहमन्त्री लामिछानेको प्रतिबद्धता : एनआरएन नागरिकता छिट्टै दिलाउँछौं

गृहमन्त्री लामिछानेको प्रतिबद्धता : एनआरएन नागरिकता छिट्टै दिलाउँछौं

काठमाडौं। गृहमन्त्री रवी लामिछानेले गैरआवासीय नेपालीलाई छिट्टै नागरिकता दिलाउने प्रतिबद्धता जनाएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसँग मन्त्रालयमा भएको छलफलमा लामिछानेले नागरिकताको मुद्धा सरकारले चाँडै सम्बोधन गर्ने बताएका हुन्।

संघले लामिछानेलाई गैरआवासीय नेपालीका समस्याका विषयमा मन्त्री लामिछानेलाई ज्ञापनपत्र समेत बुझाएको छ। संघले हालसम्म गरेका काम, नेपाल सरकारले सम्बोधन गरेका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानूनी सुधार सम्बन्धमा लामिछानेलाई ज्ञापन पत्र बुझाएको हो।

कार्यकारी अध्यक्ष रबिना थापाले संविधानले नै परिकल्पना गरेको गैरआवासीय नेपाली नागरिकतालाई तत्काल कार्यान्वयनमा ल्याउन संघको तर्फबाट गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएकी थिइन्।

यस्तै, उनले वैदेशिक रोजगारीका नाममा टर्की, पूर्वी यूरोपका बुलगेरिया, क्रोएसिया, हंगेरी, रोमानिया,स्लोभाकियालगायतका मुलुकमा बढ्दो मानव तस्करी अन्त्य गर्न ठोस् कदम चाल्नसमेत उनले गृहमन्त्री समक्ष आग्रह गरिन्।

संघका अर्का अध्यक्ष डा. बद्री केसीले संविधानको धारा २९१ ले विदेशमा रहेका नेपालीको मौलिक हक कुण्ठित गरेको भन्दै उक्त धारा हटाउनुपर्ने माग राखे।

उनले सरकारले विदेशी सरहको व्यवहार गर्दा लाखौँ गैरआवासीय नेपालीले विभेदमा परेको महसुस गरेको भन्दै त्यस्तो विभेदकारी अवस्थाको अन्त्य गर्न आग्रह गरे।

विदेशमा रहेका नेपालीले हवाई यात्रा गर्दा होस् वा लगानीका लागि ठाउँ खोज्दा पनि विदेशीलाई जस्तै व्यवहार गर्दा निराश हुनुपरेको गुनासो उनको थियो।

दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई अध्ययन, रोजगारी, खेलकुद तथा अन्य माध्यमबाट नेपालसँग आबद्ध गराउन आवश्यक व्यवस्था गर्न र विदेशबाट नेपाल पढ्न आउने गैरआवासीय नेपाली विद्यार्थीहरुलाई नेपाली विद्यार्थीसरह सुविधा दिन अध्यक्ष केसीले गृहमन्त्री लामिछानेलाई आग्रह गरे।

यसैगरी, अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकतालाई तत्काल कार्यान्वयनमा ल्याउन यही संसदमार्फत प्रक्रिया अघि बढाउन आग्रह गरे।

उनले गैरआवासीय नेपालीले भिसा प्रक्रियामा भोग्नुपरेका समस्या, विमास्थलमा देखिएका समस्याका विषयमा गृहमन्त्री लामिछानेलाई जानकारी गराएका थिए।

अध्यक्ष आचार्यले त्रिभुवन विमानस्थपलमा यसअघि सञ्चालनमा ल्याएको एनआरएन हेल्प डेस्क हाल बन्द रहेकोप्रति ध्यानाकर्षण गराउँदै त्यसलाई निरन्तर रुपमा सञ्चालनमा ल्याउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल सरकारसँग गैरआवासीय नेपालीहरु सबै क्षेत्रमा सहकार्य गर्न तयार रहेकोले त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरे।

सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विदेशमा भएका नेपालीको लगानीलाई सुरक्षित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए। विदेशमा नेपालीहरुले भोग्नुपरेको कानूनी र व्यवहारिक कठिनाइबारे सरकार जानकार रहेकाले यसलाई गम्भीर भएर समाधानको प्रयास खोजिने प्रतिबद्धता उनले जनाए।

नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि प्रक्रियागत रुपमा अघि बढ्ने उनको भनाइ थियो। यस्तै, गैरआवासीय नेपालीको पैतृक सम्पतीको हकसम्बन्धी विषयलाई पनि क्रमशः टुंग्याउने प्रतिबद्धता जनाए।