सरकारमा जानुपर्ने तीन दल बाहिरै

सरकारमा जानुपर्ने तीन दल बाहिरै

काठमाडौं। चारजना उपप्रधानसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्त्रिमण्डललाई २३ सदस्यीय बनाएका छन्। तीमध्ये ३ जना राज्यमन्त्री भएका छन्।

पहिलोपटक सरकारमा गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उपप्रधानमन्त्रीको हैसियत पाएका छन्।

पार्टी गठन गरेकै केही महिनामा चुनाव लडेका रवी त्यसअघि पत्रकार थिए। उनले उपप्रधानसहित सुरूमै गृहमन्त्रालय पाएका छन्। २० जना सांसदसहित संसदमा बलियो उपस्थिति देखाएका लामिछानेसँग यो पार्टी अरू दुईजना मन्त्री र एकजना राज्यमन्त्री भएका छन्।

लामो समयसम्म ‘राजसंस्था’को वकालत गर्दै आएको पार्टीमा संघर्ष गर्दै गर्दै अध्यक्षसम्म हुनसकेका राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्। राजनीतिमा लामो अनुभव भए पनि सरकारमा उनको यो पहिलो यात्रा हो।

यसअघि पुस १० गते नै प्रधानमन्त्री प्रचण्डसहित माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका थिए। उनीसँगै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान तथा अर्थ मन्त्रालय सम्हालिरहेका छन्।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदबाट ‘असाधारण’ विश्वासको मत पाएका थिए। प्रचण्ड सरकारलाई विश्वासको मत दिए पनि संसदमा सबैभन्दा धेरै सांसद भएको नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने सरकारमा सहभागी नहुने र संसदको प्रतिपक्षमै बस्ने भनेका छन्।

संसदका सबै दलका (दुईजनाबाहेक) सांसदहरूले उनलाई विश्वासको मत दिएसँगै मन्त्रिमण्डल विस्तार गर्नका लागि प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनले छलफल निकै बाक्लो बनाएका थिए।

सोमबार बिहानै ओली निवास बालकोट पुगेका प्रचण्डले उनीसँग लगभग ५ घण्टा छलफल गरेका थिए। र सत्ता साझेदार दलहरूलाई मन्त्रालयको भाग लगाएका थिए। त्यो भागवण्डाअनुसार सरकारमा ८ दल सहभागी हुने भनिएको भए पनि केही दलले अझै मन्त्रीहरू पठाइसकेका छैनन्।

रोजेको मन्त्रालय नपाएको भन्दै पुस १० गते नियुक्त भएका जनमत पार्टीका अब्दुल खान पदभार सम्हाल्न गएनन्। यसअघि उनको जिम्मेवारी तोकिएको थिएन। सोमबार साँझ नै बसेको उच्चस्तरीय संयन्त्रको बैठकले जिम्मेवारी टुङ्ग्याए पनि मंगलबार उनले पदभार ग्रहण गरेका छैनन्।

अब दुई मन्त्रालय बाँकी छन्। बाँकी रहेका बन, वातावरण र युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैसँग राखेका छन्।

तर सत्ता साझेदारले सरकारमा भाग लगएकामध्ये जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि मन्त्रीहरू पठाएका छैनन्। उनीहरूले आफूहरूलाई ‘शक्ति बाँडफाट’मा चित्त नबुझाएको बताएका छन्। उनीहरूसमेत सरकारमा ल्याउने हो भने मन्त्रालयहरू पुग्दैनन्।

संविधानमा २५ जनाभन्दा धेरै मन्त्रीहरू बनाउन नमिल्ने व्यवस्था गरेको छ।

उनीहरूले मन्त्री नपठाएपछि एमाले, माओवादी केन्द्र तथा राष्ट्रिय स्वतन्त्र पार्टीका थप मन्त्री र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी १२ मन्त्री र ३ जना राज्यमन्त्रीलेमात्रै पद तथा गोपनियताको सपथ लिएका छन्।

जनता समाजवादी पार्टीले ‘शक्ति बाँडफाँड’ कुरा नमिलेपछि मन्त्रीहरू नपठाएको जनाएको छ। आयोमेलसँग कुरा गर्दै जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले भने ‘कुरा भएको हो। छलफल पनि भएको हो। तर शक्ति बाँडफाँडमा हामीलाई चित्त बुझेन र कुरा मिलेन।’

उनले त्यसका लागि सत्ता साझेदार दलहरूसँग छलफल भइरहेको पनि बताए।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य केशव झाले आफूहरूलाई त्यसबारे छलफलमै नबोलाइएको दाबी गरे।

‘सरकार जाने त कुरा पनि भएको हो। तर मन्त्रालयको भागवण्डा हुँदा हामीलाई बोलाइएन’ उनले भने।

सत्ता गठबन्धनको उच्चस्तीय संयन्त्रको सोमबार बालुवाटारमा भएको बैठकले जसपालाई २ मन्त्रालय तथा  जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादीलाई एक/एक मन्त्रालय पाउनेगरी भागवण्डा टुङ्ग्याएका थिए।

प्रधानमन्त्रीसँगै सपथ लिएका तर जिम्मेवारी नतोकिएका एमालेकी ज्वाला कुमारी साहले कृषि तथा पशुपंछी विकास, दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति र राजेन्द्र कुमार राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र जनमत पार्टीबाट अब्दुल खानले खानेपानी मन्त्रालय पाएका छन्।

यो मन्त्रिपरिषदमा सहभागी भएका दुईजना उपप्रधानसहित १५ जना मन्त्री र राज्यमन्त्रीहरू सरकारमा ‘नयाँ अनुहार’ हुन्।

मंगलबार माओवादीबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री शपथ लिए। माओवादीकै सुशीला श्रीपालीले पर्यटन राज्यमन्त्रीको जिम्मेवारी पाइन्।

एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, हरि उप्रेती रक्षा, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका तथा समाजकल्याण, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास र भगवती चौधरीले महिला तथा बालबालिका  मन्त्रीका रूपमा शपथ लिएका छन्।

त्यस्तै राप्रपाबाट धुव्रबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला र विक्रम पाण्डेले सहरी विकासमन्त्री र दीपक सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको शपथ लिएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्।



No ads found for this position