यी हुन नवनियुक्त श्रममन्त्री : जसले विदेशी भूमिमै बुझेका छन् श्रमिकका पीडा

यी हुन नवनियुक्त श्रममन्त्री : जसले विदेशी भूमिमै बुझेका छन् श्रमिकका पीडा File Photo

विदेशबाट फर्केपछि नेपालमै व्यवसाय थालेका उनलाई सधैं एउटै कुराले पिरोल्थ्यो- हाम्रा नेताहरूले किन काम गर्न नसकेका होलान्?

राजनीतिक होस् वा सामाजिक क्षेत्र डोलप्रसाद अर्थात् डिपी अर्यालको नाम बिरलै छ सायद।

यी को हुन्?

डिपी राष्ट्रिय स्वतन्त्र पार्टीका एक मूल खम्बा हुन्, जसले यसपालि चुनावमा देशभरि राजनीतिक ‘दाइँ’ गरेको छ। र, नेपाली राजनीतिका सनतन अनुहारहरूलाई बेस्सरी छेकिदिएको छ।

यो त्यही नाम हो, जो गुमनाम भएर नेपाली राजनीतिलाई धेरै वर्ष नियाल्यो। नेताहरूका काम नियाल्यो। जनताका आशा र अपेक्षाहरूलाई मसिनोगरी केलायो, जनताकै साथमा।

राष्ट्रिय स्वतन्त्र पार्टी जन्मिनुभन्दा धेरै अघि व्यापार-व्यवसायमा जमिसकेको नाम हो, डीपी आर्याल। कृषि, सहकारी अनि पर्यटन व्यवसाय/समाजसेवालाई सँगसँगै अघि बढाएका अर्याल अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष र सांसद पनि हुन्।

र, मंगलबार उनी मन्त्री पनि भए।

यी उनै डिपी हुन्, जसले अब देशको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हाँक्ने जिम्मेवारी पाएका छन्। विदेशमा रहँदा होस वा देशमै रहँदा दिनभरि श्रम गरेर एक छाकको जोहो गर्नेहरू देखेका छन्।

आफैले भोगेका छन्, आफ्नो रगत, पसिनाले विदेशी भूमि सिंचेर देश धान्ने ‘रेमिट्यान्स’ पठाउनेहरूका दु:ख भोगेका छन्। झेलेका छन् अनि त्यो पसिना र रगतको मूल्य राम्रोसँग बुझेका छन्।

धादिङको ज्वालामुखी-२ मा जन्मिएका अर्याल आफ्नो व्यापार-व्यवसाय सबै परिवार र साझेदारहरूलाई जिम्मा लगाएर अब पूर्णकालीन राजनीतिमा होमिएका छन्।

पढ्नका लागि कुनै बेला जापान गएका उनि केही वर्ष उतै रहे। फर्केर नेपालमा केही गर्ने सोच पलायो र उनी व्यवसायमा लागे।

पर्यटकीय सम्भावनालाई अझ फैलाउनका लागि उनले सुरूमा ‘ट्रेकिङ’ व्यवसाय सुरू गरे। त्यसपछि अरू व्यापार व्यवसायमा हात बढाउँदै समाजसेवामा पनि पाइलाहरू अघि सारे।

सामाजिक सेवाका तिनै पाइलाहरू अब राजनीतिक यात्रामा होमिएका छन्।

गठन भएको चार महिनामै राष्ट्रिय चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा ‘अप्रत्याशित’ नतिजा ल्यायो।

यो नतिजाले नेपालमात्रै होइन, परिवर्तन खोजिरहेको सारा विश्वलाईसमेत चकित बनायो।

वर्षेंदेखि चुनावी मैदानमा खारिएका र आजीवन राजनीतिमा होमिएर राष्ट्रिय राजनीतिलाई डोर्‍याइरहेका कतिपय पार्टीलाई नै उछिनेर यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा चौथो दलका रूपमा स्थापित भयो।

चुनावी मैदानको पहिलो प्रयासमै उसले प्रत्यक्षतिर ७ र समानुपातिकमा १३ सिट ल्याउन सफल भयो। यो एउटा पार्टीको सफलता वा अर्को कुनै पार्टीको असफलतामात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई नेपाली राजनीतिमा परिवर्तन खोजिरहेकाहरूको ‘आवाज’ पनि हो।

स्वतन्त्र पार्टी नै किन?

‘संविधानले गरेका वाचाहरू पूरा गर्न र भुँइमान्छेको जीवन परिवर्तन गर्न एउटा पुस्ताले त योगदान गर्नैपर्छ नि!’ डिपी भन्छन् ‘अब हामी नै त्यो योगदानका लागि तयार हुनुपर्छ भनेर हामी राजनीतिमा होमिएका हौं।’

धादिङको त्यस्तो ठाउँमा उनि जन्मिए जो देशको मूल राजमार्गको नजिकै भए पनि धेरै ‘टाढा’को थियो। लाग्थ्यो काठमाडौंमा मात्रै ‘देश’ हो। यहाँ बस्नेमात्रै नेपाली हुन्।

पाइलाहरू पछि यतै सरे। पढ्नका लागि उनि पनि काठमाडौं आउनुपर्‍यो त्यहाँ विकल्पै थिएनन्। काठमाडौं अनि जापानजस्ता देशहरूमा पढाइ र व्यवसायको अनुभवसँगै दरिएका खुट्टाहरू अब राजनीतिक यात्रामा उचालिएका छन्।

लामो व्यावसायिक यात्रामा उनले कहिल्यै पनि राजनीतिमा मन लगाएका थिएनन्। उनिमात्रै होइन, पार्टीमा लाग्नेहरू सबैजसो कुनै न कुनै पेशा र व्यवसायबाट आएका छन्, राजनीतिको मार्गमा नयाँ रेखाहरू कोर्न।

‘हामीले व्यवसाय पनि गरिरहेका थियौं। सँगसँगै सामाजिक क्षेत्रमा पनि काम गरिरहेका थियौं। त्यसका लागि देशका धेरै ठाउँमा घुम्यौं। धेरै मान्छेका दु:ख, पीडा देख्यौं। विकासका आशाहरू देख्यौं। राजनीतिप्रति निराशा पनि देख्यौं’ अनि डिपीहरूलाई लाग्यो एकपटक त ठूला नेताहरूसँग कुरा गरौं न। तर कसैले कुरा सुन्नेसम्म मन गरेनन्।’

त्यसपछि उनिहरूले सोचे ‘गर्न नसकिने होइन, अहिलेसम्मका राजनीतिक दलहरू त नचाहेर पो विकास नभएको रहेछ।’

‘परिवर्तनको यही स्वरलाई मुखरित गर्न नै हामी राजनीतिमा होमिएका हौं’ उनी भन्छन् ‘आम नागरिकले हाम्रो पार्टीमार्फत देखाएको परिवर्तनको यो आशा र भरोसालाई हामीले इमान्दारिताका साथ निभाउनेछौं।’

कृषि, व्यापार व्यवसाय र समाजसेवामै आधा जीवन बिताइसकेका अर्यालको अबको यात्रा परिवर्तनका यिनै धारलाई अझ तीखो बनाउने हुनेछ।

‘हामी इमान्दार भएर काम गर्‍यौं भने यहाँ के सम्भव छैन? हामी सबै गर्नसक्छौं त्यसका लागि इमान्दारिता र लगन चाहिन्छ। नेपालजस्तो देशको विकास गर्न पुस्तौं बिताउनुपर्दैन। हाम्रो इमान्दार इच्छाशक्ति भयो भने विकास सजिलै गर्न सकिन्छ’ उनी भन्छन् ‘राष्ट्रिय स्वतन्त्र पार्टीको यो सफलता विकास र परिवर्तन चाहने हरेक नेपालीको आवाज हो। जसलाई अब हामीले नै साकार पार्नुछ।’

राष्ट्रिय स्वतन्त्र पार्टीमा उपाध्यक्ष पदमा रहेका उनी आफू भने प्रत्यक्ष निर्वाचन लडेनन् र समानुपातिक सूचीमा रहे। त्यही सूचीबाट सांसद भए।

पार्टीलाई जिताउनका लागि उनले यो निर्वाचन अभियानभरि आफूलाई पूर्णरुपमा समर्पित गरे। खासगरी यो निर्वाचनमा उनी व्यवस्थापकीय पक्षमा केन्द्रित रहे। झन्डै डेढ दशक एउटा सहकारी संस्थाको नेतृत्व र एक दशक एउटा विद्यालयको व्यवस्थापकीय जिम्मेवारी सम्हालेको अनुभवले अर्याललाई निर्वाचन व्यवस्थापनमा निक्कै सहज बनायो।

अर्याल सामाजिक सञ्जालमा धेरै छाउँदैनन्। सञ्चारमाध्यममा सित्तिमित्ती बोल्दैनन्। त्यसैले पनि होला, निरन्तर चर्चायोग्य काम गरिरहँदा पनि उनी खासै चर्चामा रहँदैनन्। जिम्मेवारी पूरा गर्ने सवालमा भित्रभित्रै सफलताका सुत्रहरू सृजनामा तल्लीन रहन्छन्। र, आफू अनि आफ्नो समूहलाई त्यही बाटोबाट सफलताको सिंढी चढाउँछन्।

पर्यटन प्रवर्द्धनका लागि बेलाबखत डाँडा-टाकुराहरू चाहर्दै हिँड्ने अर्याल यतिबेला राजनीतिमा परिवर्तनको स्वर बोकेर जनताको घरआँगनमा पुग्दैछन्।

‘बोलेरमात्रै हुँदैन। ठूलाठूला भाषण गरेरमात्रै देश बन्दैन’ उनी भन्छन् ‘त्यसका लागि काम गर्नुपर्छ। इमान र लगन हुनुपर्छ। हामीले अब गर्ने भनेकै देशलाई केन्द्रमा राखेर हो। विकासको गतिलाई इमान्दार भएर अघि बढाउने हो।’

अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा समेत जोडिएर काम गरिसकेका अर्यालसँग क्षमता पनि छ। जसलाई उनले यो चुनावमार्फत प्रमाणित गरिसकेका छन्।

एउटा साधारण परिवारमा जन्मिएका उनी लामो समयसम्म व्यवसायमा लागे। समाजसेवामा लागे। ‘रेमिट्यान्सलाई देशको उत्पादनमूलक काममा लगाउनुपर्छ’ भन्दै रोजगारीका लागि विदेशीएका नेपालीले पसिना बगाएर कमाएको पैसा उनीहरूका परिवारसम्म पुर्‍याउने माध्मय पनि बने।

‘मैले पैसा कमाउन मात्रै व्यवसाय गरेको थिइनँ र होइन। मैले ती व्यवसायमार्फत पनि धेरै समाजसेवा गरेको छु। केही हदसम्म देशकै लागि मैले योगदान दिएको छु’ उनी भन्छन् ‘अब राजनीतिमार्फत देशका लागि थप गर्न चाहन्छु। र बाँकी जीवन पूर्णरुपेण राजनीतिमा समर्पित गर्ने सोच छ।’

पार्टी अध्यक्ष रवि लामिछानेसँग लामो समयदेखि साथसाथै रहेर सामाजिक काम सक्रिय अर्यालले निर्वाचनमा पनि उनीसँगै रहेर पार्टीलाई सफलताको एउटा विन्दुमा पुर्‍याए। केही वर्षअघि रवि लामिछाने चितवनमा १० दिन हिरासतमा रहँदा पनि अर्याल प्रत्यक्ष उपस्थित भई उनलाई कानुनी सहायताका लागि सहयोग गरेका थिए।

‘कुनै पनि सफलता एक्लै यात्रा गरेर हुँदैन। त्यसका सामूहिक शक्ति चाहिन्छ। परिवर्तनका लागि उठेको आवाजलाई हामीले राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत एउटै शक्तिमा गाँस्न खोजेका हौं’ अर्याल भन्छन् ‘यो नै सफलताको अन्तिम विन्दु होइन। यसबाट हामी उत्साहितमात्रै छैनौं धेरै कुराहरू पनि सिक्ने मौका पाएका छौं। जसले हामीलाई आगामी चुनावमा देशकै ठूलो पार्टी हुन सघाउनेछ भन्नेमा हामी ढुक्क छौं।’

करिब दुई वर्षअघि रवी लामिछानेहरूको एउटा समूह यस्तै एउटा पार्टीको तयारीमा लागिसकेको थियो। त्यो समूहमा ‘भूमिगत’ एउटा नाम थियो डिपी अर्याल।

पार्टी गठनसँगै रवी अध्यक्ष भए र अर्याल उपाध्यक्ष। रवी प्रत्यक्ष निर्वाचनमा आफै होमिए। डिपी समानुपातिमा रहेर पार्टीलाई कसरी जिताउने भनेर योजना बनाउन लागे। फलत: राष्ट्रिय स्वतन्त्र पार्टी सबैलाई चकित पार्दै यसरी उदायो कि अरू अब त्यसको किरणमा छोपिएजस्तै भयो।

‘भइराखेका पार्टीले के गरेका छन् भनेर त हामीले देखेकै छौं। भोगेकै छौं। अरूले जे गरे हामीले त्यस्तो राजनीति गर्नेछैनौं। विकास नसकेर होइन नचाहेर नभएको हो’ नेपाली राजनीतिक इतिहासमा नयाँ पाइलासँगै एउटा नयाँ मार्गरेखा कोरिसकेका डिपीहरूलाई लाग्छ ‘एकाएक परिवर्तन त हुँदैन तर पनि हामी लागिरहनेछौं। जनताको यो भरोसा पूरा गर्नका लागि हामीलाई थाक्ने र भाग्ने छुट अब छैन।’

डिपिहरूका लागि अब झन् एउटा कठीन परिक्षा सुरू भएको छ।

र, उनीहरूलाई पनि राम्रोसँग थाहा छ ‘हामी कत्ति पनि नहौसिएर काम देखाउनेछौं। किनकि हामीले परीक्षा पास गरेका होइनौं झन् कठीन प्रश्नपत्रहरू दिएर आम जनताले हामीलाई अर्को परीक्षामा पठाउनुभएको छ।’



No ads found for this position