‘दमकल आउनै आधा घण्टा लाग्यो, हामीले ग्यालिनबाट पानी हालिरह्यौं’

‘दमकल आउनै आधा घण्टा लाग्यो, हामीले ग्यालिनबाट पानी हालिरह्यौं’

जहाज खसिसकेको थियो। हामी त्यसपछि जहाज खसको लगभग १ मिनेटमै पुगेका थियौं। खसेको जहाजमा आगो लागेर धुँवाको मुस्लो आइरहेको थियो। हामीले आगो निभाउने र मान्छेहरू निकाल्ने प्रयास थाल्यौं।

दमकल, एम्लुलेन्सहरू केही आइसेका थिएनन्। आगो दन्किरहेको थियो। हामीले केही उपाय नलागेर ग्यालिनबाट पानी ल्याएर हाल्न थाल्यौं। तर त्यसले आगो निभ्ने चान्स नै थिएन। तर दमकल आएकै थिएनन्। त्यसैले ग्यालिनबाट पानी हालिरह्यौं।

हामीले सुरुमा २०–२२ जनालाई त्यो आगोबाट निकाल्यौं। तीमध्ये २ जना जीवित हुनुहुनु्थ्यो। ती महिलाहरू हुनुहुन्थ्यो। हातखुट्टा त भाँचिएका जस्ता थिए तर हल्का सास चलिरहेको थियो। हामीले उहाँहरुलाई भर्खरै आएको एम्मुलेन्समा हालेर पठायौं।

Open photo

खासमा जहाज सेतीको एउटा भागमा ठोक्किएको थियो। जहाजको एउटा भाग त्यहीँ ठाउँमा जलिरहेको थियो। अर्को भाग सेतीको अर्को किनारामा थियो। दुबै ठाउँमा आगो दन्किरहेको थियो।

हामीले ग्यालिनबाट पानी हालिरहेका थियौं। प्रहरी प्रशासनलाई पनि फोन गरिरहेका थियौं। रामबजारमा रहेको प्रहरी घटनस्थलबाट सबैभन्दा नजिक थियो। तर त्यहाँको फोन धेरैबेरसम्म बिजीमात्रै आइरह्यो। जहाज खसेको ठाउँमा पुग्न बाटोहरू अलि सजिला छैनन्। त्यही कारण पनि उद्दार टोली समयमा नपुगेको हुनसक्छ।

हामीले त्यहाँ उद्दार गरिरहँदा लगभग आधाघण्टापछि मात्रै प्रहरी अनि सेनाको उद्दार टोली आइपुगे। एम्बुलेन्स अनि दमकलहरू पनि आए। सायद जहाज ठूलो भएर हो कि सेती किनाराको दुबैतिर जहाजका भाग उछिट्टिएका थिए।

हामीले धेरैलाई निकालिरहेका थियौं। सायद दकमल अनि उद्दार टोली चाँडै आएको भए उद्दारमा अलि सजिलो हुने थियो। को जिउँदा वा को मृत्यु भइसकेको हामीले हेक्का राखेनौं। कम्तीमा आफन्तले लाश चिन्नसक्ने थिए कि, समयमै उद्दार भएको भन्ने लागिरह्यो हामीलाई।

आफ्नै आँखाअघि यस्तो दुर्घटना भयो। के गर्ने कसो गर्ने भन्ने केही हेक्का भएन। हामी उद्दारमा लागिहाल्यौं।

(प्रत्यक्षदर्शी अरूण तमुसँग कुराकानीका आधारमा। उनी पोखराका समाजसेवी हुन्। काठमाडौंबाट उडेको यती एयरलाइन्नसको जहाज आइतबार बिहान पोखरा विमानस्थलमा अवतरणको तयारी गर्दागर्दै सेती खोंचमा खसेको थियो। यसमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए।)