‘आखैँअघि जहाज खस्यो र एकाएक धुँवाको मुस्लो देखियो’

‘आखैँअघि जहाज खस्यो र एकाएक धुँवाको मुस्लो देखियो’

बिहान हामी हाम्रो सेवा समितिको कार्यालय परिसरमै घाम तापेर बसिरहेका थियौ‌। यो लगभग पुरानो विमानस्थलको पछाडीतिरको ठाउँ हो।

आकाशमा जहाज त उडिरहेका हुन्थे। हामी आफ्नै गफमा व्यस्त थियौ। त्यही बेला जमिन नजिकै आइसकेको जहाज खस्न थालेको जस्तो देखियो।

हामीले अनुमान लगाउन नपाउँदै जहाज खस्यो। छेउँछाउँमा बाक्लै घरहरू पनि छन्। तर जहाज सेतीको खोंचमा खस्यो।

आखैँअघि जहाज खस्यो र एकाएक धुँवाको मुस्लो देखियो। हामी सबेले हेरिरहेका थियौं। जहाज खसेको ठाउँ पोखरा महानगरको ७ नं वडामा पर्छ। जहाज घरहरुमा बज्रिन पनि सक्थ्यो। तर खोंचमा खस्यो।

सुरुमा त त्यही समयमा काठमाडौंका लागि उडेको जहाज हो कि भनेर म झस्किएको थिएँ। त्यसमा मेरो साथी पनि थियो अनि मैले उसलाई सम्पर्क गरेँ। तर त्यो काठमाडौंबाट पोखराका लागि उडेको रहेछ।

हामी जहाज खसेको ठाउँबाट लगभग २ सय मिटर आसपासमा थियौं। त्यसपछि हामी पनि दुर्घटनास्थलमा पुग्यौं। जहाजमा आगो लागेर धुँवाको मुस्लो आइरहेको थियो।

पोखरामा यस्तो दुर्घटना हामीले देखेका थिएनौं। लगभग १६-१७ वर्षअघि एउटा जहाज दुर्घटना भएको थियो।

पोखरमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन आइरहेको यो पहिलो जहाज दुर्घटना हो।

(प्रत्यक्षदर्शी वसन्त थकालीसँग कुराकानीका आधारमा। उनी पोखराका समाजसेवी हुन्। काठमाडौंबाट उडेको जहाज आइतबार बिहान पोखरा विमानस्थलमा अवतरणको तयारी गर्दागर्दै सेती खोंचमा खसेको हो। यसमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए।)



No ads found for this position