एनआरएनए ‘मोबाइल ब्लड बस’ : अब मधेस प्रदेशलाई

एनआरएनए ‘मोबाइल ब्लड बस’ : अब मधेस प्रदेशलाई यसअघि संघले चितवन रेडक्रसलाई प्रदान गरेको ‘मोवाइल बल्ड बस’

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अब मधेस प्रदेशलाई ‘मोबाइल ब्लड बस’ दिने भएको छ।

यसअघि अरु प्रदेशमा संघले यस्ता साधन उपलब्ध गराइसकेको छ।

संघले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत ‘मोबाइल ब्लड बैंक’ परियोजना सुरु गरेको थियो।

संघले यस्तै किसिमको बस पहिलो पटक चितवनमा दिएको थियो। यस्तै, दोस्रो चरणमा सुदुर पश्चिम प्रदेशलाई लक्षित गरेर धनगढीमा उपलब्ध गराएको थियो। अब छिट्टै मधेश प्रदेशमा पनि प्रदान गर्ने संघको लक्ष्य छ।

मधेश प्रदेशका लागि यो परियोजनाको संयोजन कोषाध्यक्ष सुनील साहले गरिरहेका छन्।

‘मधेश प्रदेशका अस्पतालले गुणस्तरीय रगत उपलब्ध गराउन निकै चुनौती झेलिरहेका छन्। यही समस्यालाई मध्यनजर गर्दै हामीले सुविधायुक्त मोबाइल ब्लड बस उपलब्ध गराउन लागेको हौँ,’ परियोजना संयोजक साहले भने, ‘अहिले संसारभर आर्थिक सहयोग जुटाइरहेका छौँ।’

आधुनिक प्रविधिसहितको यो बसबाट लामो दूरीमा गएर बस भित्रै रक्त दान गर्नमिल्ने, संकलन गर्न र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा उपलब्ध छ।

यो परियोजनामा संघले नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गर्दै आइरहेको छ। साहका अनुसार यो बसमा मौसम प्रतिकूलताको बेला पनि रगत संकलन गर्न सहज हुनेछ।

‘घुम्ती रगत बस परियोजनाले रगतको संकलन तथा भण्डारणमा सहज बनाउँछ। रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्वसुलभ बनाउन मद्दत गर्छ,’ साहले बसबारे जानकारी गराए।

मधेशमा रगतको माग बढेपनि आपूर्ति सहज नभएको साह बताउँछन्।

‘धेरै गर्मी र धेरै चिसोको बेलामा रक्तदान घट्ने गरेको छ,’ रगत अभावमा मधेशका अस्पातलहरुले झेलेको समस्याबारे जानकारी गराउँदै साहले भने, ‘रगत अभावमा थालासेमिया, हेमोफिलिया, किड्नी रोगी, हृदय रोग र रक्तक्यान्सरका रोगीमा समस्या बढेको छ।’

साहले यो मानवीय कार्यमा सम्पूर्ण गैरआवासीय नेपालीलाई हातेमालो गर्न अनुरोध समेत गरेका छन्।

सहयोगका लागि लिंक