एनआरएनए चीनद्धारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

एनआरएनए चीनद्धारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

काठमाडौं। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए÷एनसीसी) चीनले खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिक र उनका कुरुवालाई न्यानो कपडा वितरण गरेको छ।

दक्षिणकाली २ खोकानामा रहेको नेपाल कुष्ठरोग निवारण संघबाट सञ्चालित खोकना आरोग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठरोगी बिरामी र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको हो।

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै एनआरएनए चीनका उपाध्यक्ष निर्मल चौलागाईंले आफूहरुले नेपाल र नेपालीको लागि विपत्तिदेखि सामाजिक सेवा र जनसचेतना कार्यक्रम गर्दै आएको र त्यसलाई निरन्तर जारी राख्दै जाने बताए।

कपडा वितरण कार्यक्रममा चौलागाईंसहित महासचिव यादव अर्याल, सह–कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक) र कार्य समिति सदस्य तुलसी न्यौपाने,विजय पराजुली, युवराज थापा, दिपक अग्रवाललगायतका सहभागी थिए।

एनसीसी चीनले ‘वान एनसीसी वान प्रोजेक्ट’अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ देशभरका विभिन्न स्थानका विद्यालयका विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरिरहेको छ।