प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनलाई विश्वासको मत प्राप्त भएको हो।
प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत परेको र विपक्षमा २ मत परेको सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए। योसँगै प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत प्रस्ताव बहुमतले पारित भएको ज्येष्ठ सदस्य राणाले जानकारी दिए।
उनका अनुसार मतदानमा २७० जना सहभागी भएका थिए।
प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी, जनमतसहितका दलले विश्वासको मत दिएको छ।राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने प्रधानमन्त्री प्रचण्डको प्रस्तावको विपक्षमा मत दिए।
१७ दिनअघि १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका हुन्। योसँगै प्रचण्ड नेतृत्वको सरकारविरुद्ध अब दुई वर्ष संसदमा अविश्वासको प्रस्ताव लैजान नपाइने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका हुन्।
ताजा अपडेट

महाकुम्भमा पुगे ५० करोड भक्तजन
