हवाई भाडा घट्यो

हवाई भाडा घट्यो File Photo

काठमाडौं। सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाएको छ। आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो। सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ। यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश कायम भएको छ। काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा रु १६ हजार एक सय ४० कायम भएको छ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा रु छ सय ८५ भाडा घटेर अधिकतम रु १४ हजार दुई सय पाँच कायम भएको छ। काठमाडौँ–सिमरामा रु एक सय ८० भाडा घटेको छ। त्यस्तै काठमाडौँ–भद्रपुरमा रु छ सय, काठमाडौँ–विराटनगरमा रु चार सय ८५, काठमाडौँ–जनकपुरमा रु दुई सय ६०, काठमाडौँ–भरतपुरमा रु दुई सय १५ र काठमाडौँ–पोखरामा रु तीन सय २० भाडा घटेको छ।



No ads found for this position