पेलेलाई प्रसिद्धि प्राप्त गरेकै शहरमा समाधिस्थ गरियो

पेलेलाई प्रसिद्धि प्राप्त गरेकै शहरमा समाधिस्थ गरियो

सान्टोस। फुटबलका विश्वसम्राट पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको शहरको कब्रिस्तानमा समाधिस्थ गरिएको छ। नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण गरे।

साङ्गीतिक टोलीको शोक धुनसँगै, शोक गीत र रोमन ‘क्याथोलिक’ भजन गाउँदै, बजाउँदै गरिएको शवयात्रामा हजौरौँ सहभागी भएका थिए। सुनले बेरिएको ‘कास्केट’ आइपुग्नु अघि कब्रिस्तानमा उपस्थित अपार जनसागरले पेलेलाई मनपर्ने साम्बा गीत गाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए।

पेलेको ८२ वर्षको उमेरमा गत हप्ता मृत्यु भएको हो। उनको शव सान्टोसमा राखिएको थियो जहाँ उनले १५ वर्षको उमेरमा खेल जीवन प्रारम्भ गरेर प्रसिद्धि प्राप्त गरेका थिए। पेलेको अन्तिम संस्कार वा शवयात्रामा ब्राजिलका प्रख्यात खेलाडी रोनाल्डो नाजारियो, नेयमार, काकालगायत अनुपस्थिति रहेकामा पेलेका केही प्रशंसकले उनीहरूको आलोचना गरेका छन्।