क्रिकेट : पोखराद्वारा काठमाडौँ पराजित

क्रिकेट : पोखराद्वारा काठमाडौँ पराजित

काठमाडौँ। पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो। काठमाडौँले दिएको एक सय ६५ रनको लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

पोखराको जितमा सुमित महर्जनले सर्वाधिक ७६ रनको योगदान दिए। ५२ बल खेलका उनले तीन छक्का र सात चौकाको मद्दतमा ७६ रनको योगदान दिएका हुन्। त्यसैगरी पोखराका कप्तान उपुल थरङ्गाले ५८ रनको योगदान दिए। ४९ बल प्रहार गरेका उनले एक चौका र पाँच चौकाको मद्दतमा ४९ रन बनाएका हुन्।

कुशल मल्लले अविजित १४ रन जोडे भने शासिफ शेखले सात तथा सिद्धान्त लोहनीले ३ रन बनाए। बलिङतर्फ काठमाडौँका कमल ऐरीले तीन विकेट लिए भने अनिल खरेल र अविनाश बोहोराले समान एकएक विकेट लिए।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो। काठमाडौँका लागि एलेक्स ब्लाकेले सर्वाधिक ६४ रनको योगदान दिएका थिए भने सुमन गौतमले ४५ रन बनाएका थिए। त्यस्तै विरनदीप सिंहले ३२ तथा रयान बुर्लले १० रन जोडेका थिए। काठमाडौँलाई एक सय ६४ रनमा समेट्ने क्रममा पोखराका तुलबहादुर थापाले दुई विकेट लिए भने कुशल मल्ल र प्रतिश जिसीले समान एक/एक विकेट लिए।

यो जितसँगै आठ खेलमा तीन जित तथा पाँच खेलमा हार बेहोरेको पोखरा ६ अङ्क जोड्दै अङ्क तालिकाको चौथो छ। त्यस्तै छ खेलमा तीनमा जित तथा तीन खेलमा हार बेहोरेको काठमाडौँ ६ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ। प्रतियोगिताको विजेता टोलीले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पाउने छन्।



No ads found for this position