प्रवास खबर डटकम तेस्रो वर्षमा : ‘प्रवासी श्रमिक र सरकारबीचको पुल बन्न सफल’

प्रवास खबर डटकम तेस्रो वर्षमा : ‘प्रवासी श्रमिक र सरकारबीचको पुल बन्न सफल’

काठमाडौं। प्रवास मिडिया प्रोडक्सन प्रालिले प्रकाशन गर्दै आएको प्रवास खबर डटकम तेस्रो वर्षमा प्रवेश गरेको छ।

तेस्रो वर्ष प्रवेशको अवसरमा प्रालिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरूले प्रवासी नेपाली तथा प्रवासी श्रमिकको अधिकारका लागि प्रवासखबर अझै मुखरित भएर अघि बढ्न सुझाव दिएका थिए।

छोटो समयमा श्रमिकहरूको मुद्दा स्थापित गर्न सफल भएको भन्दै उनीहरूले प्रवासी नेपाली र नेपाल सरकारबीच पुलको भूमिका निभाउन पनि सुझाव दिएका थिए।

‘प्रवासमा पसिना बगाइरहेका लाखौं श्रमिक तथा प्रवासी नेपालीलाई यहाँको विधि र शासन प्रणालीको अपनत्वको लागि पनि मिडियाले भूमिका निभाउनुपर्छ’, पत्रकार महासंघका महासचिव रोशन पुरीले भने ‘लाखौं नेपालीलाई विश्वभर संगठित गरिरहेको एनआरएनएलाई पनि अपनत्व दिलाउन प्रवास खबरले अझै भूमिका निर्वाह गर्नेछ।’

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघका उपाध्यक्ष गोकर्णप्रसाद ढकालले प्रवासीका आवाजलाई नेपाल सरकार र अन्तर्राष्ट्रिय मञ्चमा बुलन्द गर्न प्रवास खबरले खेल्दै आएको भूमिकालाई अझै निखार्न सुझाव दिएका थिए।

त्यस्तै नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जालका एशिया च्याप्टर अध्यक्ष टंक पन्तले श्रमिकहरूको मुद्दालाई स्थापित गर्न र एनआरएनएको भूमिकालाई झक्झक्याउनका लागि प्रवास खबरले भूमिका खेल्दै आएको र आगामी दिनमा श्रमिकका समस्या सामाधानका लागि पनि मुद्दाहरू उठाउन आग्रह गरे।

कार्यक्रममा वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष उद्धव भट्टराई, प्रेस चौतारीका उपत्यका समन्व समिति अध्यक्ष विष्णु आचार्य, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका महासचिव कृष्ण न्यौपाने, समाचार एजेन्सी न्यूज कारखानाका अध्यक्ष प्रकाश तिमल्सिनालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रवास मिडिया प्रोडक्सन प्रालिका अध्यक्ष तथा प्रकाशक बिनेश खनालको अध्यक्षतामा भएको कार्यक्रम प्रवास खबर डटकमका सम्पादक टीकाराम खनालले सहजीकरण गरेका थिए।



No ads found for this position