पोखरामा एयरपोर्ट बनाउन चीनसँग धेरैपटक कुरा गरें : प्रधानमन्त्री

पोखरामा एयरपोर्ट बनाउन चीनसँग धेरैपटक कुरा गरें : प्रधानमन्त्री

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आफूले चीनसँग धेरैपटक पहल गरेको बताएका छन्। पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै उनले भूमिगत राजनीतिबाट सार्वजनिक भएसँगै पोखराको विमानस्थल निर्माणमा पहल गरेको दावी गरे।

‘शान्ति सम्झौतामा आएदेखि नै लगातार यो विमानस्थल निर्माणका लागि संवाद गर्दै आएको थिएँ। निर्माणका लागि भएका आन्दोलन र अनसन र त्यसलाई तोड्न भूमिका खेलेको छु। सबैका सपना आज पूरा भएको छ,’ उनले भने, ‘आजको जमानामा आवश्यक पर्ने भनेकै कनेक्टिभिटी हो। हाम्रो लागि हवाई कनेक्टिभिटी प्रमुख विषय हो। यसका लागि मैले पटकपटक चिनियाँ दूतावास र चीन सरकारसँग कुरा गरेको छु। चीन भ्रमणमा जाँदा तत्कालीन महासचिव हु जिन्ताओ र हालका महासचिव सि चिन फिङसँग प्रत्यक्ष कुरा गरेको थिएँ।’

उनले अब कुरा नगरी काममा लाग्ने दोहोर्याए। ‘मैले अहिले गण्डकी प्रदेशकै प्रतिनिधिको रुपमा प्रधानमन्त्री बनेको छु। सामाजिक न्याय, सुशासन र विकासका लागि काम गर्ने प्रतिबद्दता जनाएको छु,’ उनले भने, ‘मैले बाँकी जीवन यही कामका लागि व्यतित गर्नेछु। छिट्टै निजगढ विमानस्थल निर्माणको प्रक्रिया थाल्ने विश्वास व्यक्त गर्दछु।’ उनले चीनतर्फको नाका खोल्न र रेलमार्ग अध्ययन छिटो सक्न चीन सरकारसँग आग्रह पनि गरे।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भ्रष्टाचारको डंगुरलाई सफा गर्दै समाजवादको यात्रामा अघि बढ्ने बताए। राजनीतिक स्थायित्व, सुशासन र विकासमा एकजुट रहेको र यसमा कसैले रोकन नसक्ने उनले बताए। ‘अर्थतन्त्रमा समस्या छन्, तर समाधान काबु बाहिर छैन,’ उनले भने, ‘अर्थतन्त्रलाई लयमा फर्काउने छौं।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण समय सञ्चालनका लागि सहयोग गर्ने वचनबद्दता ब्यक्त गरे।