दक्षिण कोरियामा नेपालीले १० वर्षसम्म रोजगारी गर्न पाउने

दक्षिण कोरियामा नेपालीले १० वर्षसम्म रोजगारी गर्न पाउने File Photo

सउल। रोजगारीका लागि दक्षिण कोरिया आएका नेपालीहरु अब दश वर्षसम्म बस्न पाउने भएका छन्।

दक्षिण कोरिया सरकारको श्रम मन्त्रालयले गैर–व्यावसायिक भिसामा कोरिया प्रवेश गरेका र पेशागत दक्षताका आवश्यकताहरू पूरा गर्ने सिलसिलामा लामो समयसम्म काम गरेका आप्रवासी श्रमिकहरूलाई दश वर्षसम्म बस्न र काम गर्न पाउने योजना बनाएको हो।

हालको रोजगार अनुमति प्रणाली अन्तर्गत, इ–९ (E-9) गैर–व्यावसायिक भिसामा कोरिया प्रवेश गर्ने प्रवासी श्रमिकहरूको लागि अधिकतम बस्न पाउने समय चार वर्ष दश महिना रहदैँ आएको छ।

कोरियामा थप काम गर्न चाहने श्रमिकहरूले वर्क परमीट पाउनको लागि देश छाड्ने र पुनःआवेदन दिनुपर्ने प्रावधानले कोरियाली रोजगारदाताहरूलाई नै उनीहरूको उच्च–दक्ष विदेशी श्रमिकहरू राखिरहन गाह्रो बनाउँदै आएको छ।

हालै जारी गरिएको योजना अन्तर्गत, कोरियामा एउटै कार्यस्थलमा ३० महिना वा सोभन्दा बढी समय, वा आफ्नो प्रारम्भिक कोरियाली रोजगारदाताको लागि २४ महिना वा सोभन्दा बढी समय काम गरेका इ–९ भिसामा रहेका आप्रवासी श्रमिकहरूलाई दीर्घकालीन श्रमिकको रूपमा मान्यता दिइने र त्यहाँ रही १० वर्षसम्म काम गर्न अनुमति दिइने मन्त्रालयले जनाएको छ।

उत्पादन क्षेत्र र कृषि वा निर्माण जस्ता अन्य उद्योगहरूमा काम गर्ने श्रमिकहरुलाई निश्चित समय भने पूरा गर्नुपर्नेछ।

ती श्रमिकहरूले एउटै रोजगारदातासँग कम्तीमा २४ महिना वा आफ्नो प्रारम्भिक रोजगारदातासँग कम्तिमा १६ महिनासम्म काम गरेपछि मात्र सोको लागि योग्य हुनेछन्।

मन्त्रालयका अधिकारीहरूका अनुसार त्यस्ता श्रमिकहरूले केही अतिरिक्त शर्तहरु भने पूरा गर्नुपर्नेछ।

जसमा सरकारको सामाजिक समायोजन शिक्षा लिनुपर्ने र कोरियाली सक्षमता परीक्षणको एक निश्चित तह उत्तीर्ण गर्नुपर्नेछ।

न्यायमन्त्रालयसँगको परामर्शपछि अधिकतम स्टे परमीट (बस्न मिल्ने अबधी) थप गर्न सकिने उनीहरुले बताएका छन्।

मन्त्रालयले आप्रवासी श्रमिकहरूलाई पार्सल डेलिभरी क्षेत्रमा काम गर्ने अनुमति दिनको लागि ई–९ भिसाको दायरा फराकिलो बनाउने योजना पनि बनाएको बताइएको छ।

(अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगमा)