प्रकाशकीय : शिशुकालका सफल दुई वर्ष

प्रकाशकीय : शिशुकालका सफल दुई वर्ष

देश-दुनियाँमा नेपाली र नेपालीभाषीको उपस्थिति बढ्दै गएको परिवेशमा उनीहरूको अस्तित्व, गतिविधि र भावनालाई समेट्ने आमसञ्चार माध्यमको सान्दर्भिकता सधैं नै छ। दुई वर्षअघि प्रवास खबर सुरु गर्दा यस्तो सान्दर्भिकता अझ पेचिलो बनिसकेको थियो– सञ्चार प्रविधिको व्यापकतम् विकासका कारण।

दुनियाँ डिजिटल, जनजीवन र आनिबानी सबै डिजिटल। त्यसैले न्यूज पोर्टलका रुपमा प्रवास खबरको जन्म भएको हो। र, यसले आजै शिशुकालको दुई वर्ष पूरा गरेको छ।

प्रवास मामिलालाई हेर्ने केही सीमित दृष्टिकोणहरू थिए। आमसञ्चार माध्यमहरू, अझ प्रायः न्यूजपोर्टलहरूले समेत संघसंस्था र सरकारका क्रियाकलाप, स्वार्थमा मात्र प्रवास मामिलालाई अर्थ्याएर सन्तोष मानिरहेको अवस्था थियो।

प्रवास खबर डटकमले चाहिँ नेपालको भूगोलबाहिरको नेपालीत्व, कर्मसंघर्ष, सफलता र मातृभूमिसँगको अन्तरसम्बन्धलाई मसिनो ढंगले केलाउने बाटो समायो। यसै मेलोमा नेपाली श्रमिक तथा गैरआवासीय नेपालीका मुद्दालाई सर्वथा महत्व दिने अभ्यास एउटा जवर्जस्त आयाम बन्न पुग्यो। आज आमप्रवासीहरूले प्रवासखबरलाई निर्भिक ढंगले नेपाली श्रमिकहरूको मुद्धा लेख्ने प्लेटफर्मका रुपमा चिन्छन्। यसबाट हामीलाई निकै सन्तोष लागेको छ।

प्रवास खबर कुनै विशेष स्रोतबाट सन्चालित संस्था होइन। वैदेशिक मजुदरीमा गएको एउटा जुझारु युवाको पहल र उसका केही शुभचिन्तकको उत्साहमा यो पोर्टल छोटो समयमै एउटा ब्राण्ड बन्न सकेको छ। यसको श्रेय हामी सम्पूर्ण प्रवासी नेपाली, शुभचिन्तकवर्ग, एनआरएनए अभियानका अग्रजहरू, नेपाल र नेपालीलाई माया गर्ने विदेशी मित्रहरू, प्रवासी मामिलामा सदाशयी नेपाली पक्ष र विज्ञापनदाता सबैलाई दिन चाहन्छौं। साथै, प्रवास खबरमा कार्यरत रहनुभएका सबै सहकर्मीहरुलाई पनि हार्दिक वधाई ज्ञापन गर्न चाहन्छौं।

अबका दिन, खास गरी अंग्रेजी नयाँ वर्ष २०२३ मा प्रवास खबर डटकमले सूचनासामग्रीलाई अझ परिष्कृत गर्दै जाने प्रण गर्दछौं। यहाँहरू सबैमा अंग्रेजी नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!

बिनेश खनाल

अध्यक्ष, प्रवास मिडिया प्रोडक्सन प्रा.लि.



No ads found for this position