छिमेकी मुलकमा फैलिइरहेको कोभिडको ‘नयाँ अवतार’सँग नेपाललाई कति डर?

छिमेकी मुलकमा फैलिइरहेको कोभिडको ‘नयाँ अवतार’सँग नेपाललाई कति डर?

चीनसँगै भारतमा पनि रुप परिवर्तन गरेको कोभिडको भाइरसको संक्रमण बढ्न थालेको छ।

त्यसलाई नियन्त्रणका लागि भन्दै भारतले आगामी जनवरी १ देखि चीन, थाइल्याण्ड, सिङ्गापुर, हङकङ, जापान तथा दक्षिण कोरियाका यात्रुलाई यात्रा सुरू हुनुभन्दा केही बेर अघिको पिसिआर परीक्षण अनिवार्य गरेको छ।

त्यसका लागि उक्त रिपोर्ट एयरपोर्टमा चेकजाँच हुनेछ।

अमेरिकाले भने जनवरी ५ देखि चीनबाट आउने यात्रुहरूले अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने नियम लागु गर्ने जनाएको छ।

चीनमा कोरोना भाइरसको संक्रमण बढिरहँदा चीनले आफ्ना सीमाहरू पुन: खोल्ने घोषणा गरेसँग विश्वका अरू देशहरूले प्रतिबन्धात्मक नियमहरू सुरु गरेका हुन्।

चीनमा दैनिक औसत ५ हजार मानिसको मृत्यु भइरहेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रशारण गरिरहेका छन्। र स्वास्थ्य विज्ञहरूले त्यो संख्या जनवरीको दोस्रो सातातिर ९ हजार नाघ्ने प्रक्षेपण गरेका छन्। अनि संक्रमण पनि प्रतिदिन ३० लाखभन्दा बढी हुने आशंका गरिएको छ।

तर चिनिया सञ्चार माध्यमले भने विश्वको यो तथ्याङ्कलाई अस्विकार गरेका छन्। तर यो डिसेम्बर महिनाभरि चीनमा कोरोनाकै कारण १३ जनाको मात्रै मृत्यु भएको दाबी गरिरहेका छन्।

चीनले भने आगामी अंग्रेजी नयाँ वर्षदेखि यात्रा प्रतिवन्धहरूलाई थप फुकुवा गर्ने र मानिसलाई घुम्न दिनेगरी नियमहरू परिवर्तन गरेको छ।

‘शून्य कोभिड’को बाहानामा मानिसलाई घरभित्रै थुन्ने कानुनहरू लागु भएपछि चीनका कैयौ सहरमा प्रशासन र आम नागरिकबीच चर्को प्रतिरोध भएका थिए। गत नोभेम्बरमा चीनभरि यस्ता दंगाहरू फैलिएपछि उसले नियमहरूमा केही खुकुलो गरेको थियो।

तर चीनले यी सबै घटनाहरूलाई निकै ‘सेन्सर’ गर्‍यो। र, विश्व स्वास्थ्य संगठनलाई पनि वास्तविक सूचना दिएको छैन।

यो नीति लागु भएपछि चीनले एकैजनालाई कोरोनाको लक्षण देखिए पनि पूरै क्षेत्रमा निकै कडाखाले प्रतिबन्धहरू लगाउने गर्दथ्यो। तर त्यसको व्यापक विरोध भएपछि उसले अकस्मात नियमहरूमा खुकुलोपन ल्यायो। कोरोना सुरुवातका करिब ३ वर्षसम्म चीनले पूर्णरुपमा आफ्ना सिमानाकाहरू बन्द गरेको थियो।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले चीनले कोरोनासम्बन्धि जानकारी लुकाइरहँदा त्यो बाँकी विश्वको ठूलो जनसंख्याका निम्ति निकै घातक हुनसक्ने बताएका छन्।

‘चीनबाट यसबारे सूचना र जानकारीहरूको निकै अभाव छ। र पनि मलाई के विश्वास छ भने विश्वका देशहरूले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षा गर्न विश्वसनीय तरिकाले काम गरिरहेका छन्’ उनले चीनबारे लगातार ट्विट गर्दै लेखेका छन्।

चीनले यसअघि नै सामूहिक परीक्षण बन्द गरेको थियो। अहिले त्यहाँ अस्पताल र ज्वरोसम्बन्धि क्लिनिकहरूमा मानिसको भिड बढेका भिडियाहरू सामाजिक सञ्जालमा देख्न पाइन्छ।

नेपालमा के छ?

अहिलेसम्म नेपालमा कोरोना भाइरसको नयाँ रूप बिएफ-७ पुष्टि भइसकेको छैन।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशहरूमा भाइरसको नयाँ रूप फैलिइरहेको र त्यसले खुला सिमाना भएका कारण फैलिनसक्ने चिन्ता व्यक्त गरेको छ।

एकसाताअघि विज्ञप्ति निकालेर मन्त्रालयले स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउन र सचेत रहन भन्दै नागरिकलाई अपिल गरेको थियो।

बिहीबार देशभर ८५८ जनाको नुमना परिक्षण गर्दा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि थियो। तर, शुक्रबार भने ४ जनामात्रै पुष्टि भयो।

यी कुनैमा पनि नयाँ भेरिअन्ट देखिएको बारे मन्त्रालयले भनेको छैन। तर मन्त्रालयले हरेक १५ दिनमा एकपटक संकलित नमुनाहरूमा नयाँ भेरिअन्ट पत्ता लगाउनका लागि जिन सिक्वेन्सिङ गरिरहेको छ।

मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरका अनुसार भाइरसको नयाँ रूप र त्यसको फैलावटबारे मन्त्रालय अनि सरकार अवगत छन् र त्यसैअनुसार तयारी अवस्थामा बसेका छन्।

‘तयारी पनि छ। हामी सबै स्वास्थ्य संरचना तथा जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन गरिरहेका छौं। छिमेकी देशमा फैलिरहँदा खुला सिमाना भएका कारण हामी सचेत पनि छौं’ उनले भने ‘संरचनाहरूलाई पुन: ब्यूँताउने तयारीमा पनि छौं।’

उनका अनुसार देशभरका १४ भन्दा धेरै सिमानाकाहरूमा निगरानी बढाइएको छ। र त्यहाँ एन्टिजेन परीक्षण पनि सुरु गरिएको छ।

त्यस्तै उनले कोरोनाविरूद्ध बुस्टरडोज खोप लगाउन पनि अनुरोध गरेका छन्। अहिलेसम्म पूर्ण भ्याक्सिन लगाएकामध्ये ३८ प्रतिशतले मात्रै बुस्टरडोज लगाएका छन्।

‘अहिलेसम्म गम्भिर भएर नयाँ संक्रमितहरू अस्पताल भर्ना भएको अवस्था छैन। तर पनि हामीले अस्पतालहरू र स्वास्थ्य कर्मचारीहरूलाई पूर्ण तयारीमा रहन निर्देशन दिएका छौं’ उनले भने।

महामारी र छिमेकी देशको अवस्था हेरेर सरकारलाई नीतिगत व्यवस्था गर्नका निम्ति सिफारिस गर्नेसम्मको अध्ययन र तयारी भइरहेको पनि उनले जानकारी दिए।

कति घातक छ, बीएफ-७?

अहिले विश्वका केही देशमा फेरि संक्रामक भइरहेको ओमिक्रोनको सव भेरिअन्टलाई बीएफ-७ नाम दिइएको छ। २०१९ को अन्त्यतिर चीनको उहानमा पत्ता लागेको कोरोना भाइरसका धेरै भेरिअन्टहरू आइसकेका छन्। जस्तो कि यसअघि आएका डेल्टा अनि ओमिक्रोन यसैका रुप हुन्।

बैज्ञानिकहरूका अनुसार भाइरसमा हुने परिवर्तनका कारण नयाँ भेरिअन्टहरू देखा पर्छन्। जसलाई भौगोलिक मौसमले पनि फरक पारेको हुन्छ। र कतिपय ठाउँमा त्यसलाई रसायन वा अरू कुनै औषधीहरूका कारण पनि हुनसक्छ।

भाइरसको यो परिवर्तनीय रूपलाई सजिलो भाषामा ‘म्युटेशन’ पनि भनिन्छ।

चीनमा अहिले बिएफ-७ले पूरै आतंक मच्चाइरहेको छ। भारतको गुजरात तथा उडिसा लगायतका राज्यहरूमा पनि यसको प्रभाव देखिएको छ।

विदेशी यात्रुहरूलाई भारतले पनि विमानस्थलमै परीक्षण गर्न थालेको छ र केही दिनपछि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गर्ने तयारी थालिसकेको छ।

भारतीय स्वास्थ्य विशेषज्ञहरूले भने यो भाइरस भारतका लागि कुनै नौलो नभएको र यो पहिला नै भारतमा भेटिइसकेको जनाएका छन्।

भारतका चर्चित माइक्रोबायोलोजिस्ट तथा भाइरोलोजिस्ट गगनदीप काङ्गका अनुसार चीनमा अहिले फैलिइरहेको जुन भाइरसका बारेमा चर्चा भइरहेको छ त्यो त यसअघि नै पूरै दुनियाभरि थियो र भारतमा पनि थियो।

जवाहरलाल नेहहरू मेडिकल कलेजका प्रध्यापक नफिस फैजीका अनुसार खासमा शरीरमा चिसो लागेको महसुस हुने र खोकी नै यसका लक्षण हुन्। जसका कारण थकान महसुस हुनसक्छ। नाकबाट पानी बग्नसक्छ। वा कसैमा पेट दुख्नेजस्ता समस्या देखा पर्नसक्छन्।

एक अध्यनका अनुसार यो सव भेरिअन्टको एउटा संक्रमित व्यक्तिले लगभग १०-१८ जनासम्मलाई फैलाउनसक्छ। यसअघि ओमिक्रोन भेरिअन्टले लगभग ८ जनासम्मलाई संक्रमित बनाउनसक्थ्यो।

तर डेल्टाजति घातक भने नरहेको चिकित्सकहरू बताउँछन्। यसले भारतलाई पनि निकै प्रभावित बनाएको थियो। त्यत्ति धेरै घातक नभए पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाउन भने चिकित्सकहरूले आग्रह गरेका छन्।