कम्बोडिया : आगो लागेपछि हारगुहार गरे, उद्धार नभएपछि १२ तलाबाट हामफाले तर बाँचेनन्

कम्बोडिया : आगो लागेपछि हारगुहार गरे, उद्धार नभएपछि १२ तलाबाट हामफाले तर बाँचेनन्

झापा विर्तामोडका ४० वर्षीय निराकार पाण्डे बुधवार राति कम्बोडियाको गाण्ड डायमण्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलमा बसिरहेका थिए।

स्थानीय समयअनुसार रातको ११ बजे उक्त बिल्डिङमा आगलागी सुरु भयो। केही बेरमै त्यो आगो बिल्डिङभरि फैलियो। बिल्डिङमा भागडौड मच्चियो।

केहीले भागेर ज्यान जोगाए पनि। तर, पाण्डेको भने भाग्नसक्ने अवस्था रहेन।

उनले भाग्ने प्रयास नगरेका होइनन्। धेरै कोशिस गर्दा समेत उनी त्यहाँबाट भाग्न सकेनन्। किनभने उनी बाहिर निस्किनलाई कुनै माध्यम नै थिए। आगो व्यापक भइसकेको थियो। बाहिर निस्कन कुनै उपाय थिएन। चारैतिर आगोको मुस्लो उठिरहेको थियो।

उनले उद्धारका लागि इमेरजेन्सी हटलाइनहरुमा पटक–पटक सम्पर्क पनि गरेका थिए। पाण्डेले चिनजानका नेपालीहरुलाई समेत आफू बसेको भवनमा आगलागी भएको र आफू फसेकोबारे जानकारी म्यासेजमा भिडियो पठाउँदै गराएका थिए। उनले भिडियो म्यासेज पठाएका कतिपय साथिहरु सुतिसकेका थिए। अर्को दिन मात्र थाहा पाए।

उनले कम्बोडियाका एनआरएनएका अध्यक्ष लालसिंह खड्कालाई पनि सम्पर्क गरेका थिए। आफू बाँच्ने अवस्था नभएको भन्दै उनले आत्तिएर सम्पर्क गरेका थिए।

खड्काले उनलाई नआत्तिन र उद्धार भइरहेको भनेर सम्झाएका पनि थिए।

उद्धार टोली घटनास्थल पुगेपनि आगोको मुस्लो दन्किरहेको बेला त्यहाँबाट उद्धार गर्न सकेन्। उद्धार टोली सुरुमा त आगलागी भएको भवनमा पुग्न समेत सकेन। ५ सय मिटर टाढै बस्नुपर्‍यो।

उद्धारकर्मीहरुलाई पाण्डेको मात्र होइन त्यहाँ फसेका सयौं व्यक्तिहरुको फोन आइरहेको थियो।

उद्धार सम्भव र त्यहाँबाट सुरक्षित स्थानमा निस्कने प्रयास पनि असफल भएपछि अन्नत: हाम फालेर भएपनि ज्यान जोगिन्छ कि भनेर हामफाल्ने निणर्यमा पुगे। हाम फाल्नु अघि परिवारलाई भिडियो सन्देश पठाउँदै उनले आफ्नो छोरालाई सम्झाएका थिए।

तर, हाम फाल्ने क्रममा उनको ज्यान गयो।

मृतक पाण्डे व्यवसायको लागि १ महिनाअघि मात्र कम्बोडिया पुगेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा अहिलेसम्म पाण्डेसहित २६ जनाको निधन भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ। आफूहरुलाई स्थानीय प्रशासनबाट घटनाबारे जानकारी प्राप्त भइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले जानकारी दिएका छन्।

उनका अनुसार मृत्यु भएका दुई जनाको भने अझैसम्म पहिचान खुलेको छैन। खड्का अहिले पनि घटनास्थलमै छन्।

‘हामी घटनास्थल पुगेका थियौं। पाण्डे जीको मृत्यु भएको र सनाखत पनि भइसकेको छ। हामीले शवलाई नेपाल पठाउने तयारी गरेका छौं’, उनले प्रवास खबरसँग भने। शवलाई नेपाल पठाउन स्थानीय प्रशासनले परिवारको तर्फबाट स्वीकृति मागेको र नेपालबाट त्यो झिकाउन लागिएको उनले बताए।

बैंककस्थित नेपाली दूतावाससँग समन्वय गरेर शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको उनले बताए। अन्य नेपाली सुरक्षित भने कसैलाई केही नभएको अध्यक्ष खड्काले बताए।

पाण्डेले परिवारलाई पठाएको भिडियो के भनेका थिए?

सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ्स यू। जहाँ भएपनि जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेष्ट है सानु।

अब सुन है। मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा।

कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनू। माइजुहरूलाई चित्त नदुखाउनू।

उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठूलो मान्छे बन्नू। ज्ञानी हुनू।

अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ। उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु।

भोलिका दिनमा तिमीले उसैलाई सहयोग गर्छ है बाबु। राम्रो मान्छे बन्नू। कसैलाई चिट गर्नुहुन्न छोरा। मैले जे जति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा। मैले सकिनँ।

तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन्। सधैं शशी मामु, अग्नि बुबा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानिकी मेरो साढु है, मेरो जेठान शान्ति साली गोथ्ले, तिम्रो भाइ, आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इज्जत गर्नू, ज्ञानी भएर बस्नू।