नेपाली लगानीमा ओमनमा खुल्यो ‘इ सिक्स होलिडे’ ट्राभल, ६६ रियालमा नेपाल घुम्ने अफर

नेपाली लगानीमा ओमनमा खुल्यो ‘इ सिक्स होलिडे’ ट्राभल, ६६ रियालमा नेपाल घुम्ने अफर

मस्कट। ओमनमा कार्यरत केही नेपाली मिलेर यहाँ ट्राभल व्यवसाय सुरू गरेका छन्।

ओमनको राजधानी मस्कटको अजैवामा यहाँका नेपालीको संयुक्त लगानीमा ‘ई सिक्स होलिडे’ ट्राभल व्यवसाय सञ्चालनमा आएको हो।

कम्पनीमा ओमनमा कार्यरत ६ नेपालीले लगानी गरेका छन्।

ट्राभलको ओमनका लागि नेपाली राजदूत डोरनाथ अर्याल र उनकी ८८ वर्षीया आमा भिमादेवी पोखरेलले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन्।

ओमनमा पहिलो पटक नेपालीको लगानी एवम् पूर्ण व्यवस्थापनमा ट्राभल व्यवसाय सञ्चालनमा ल्याइएको ‘ई(सिक्स होलिडे’की कार्यकारी निर्देशक ममिता पौडेलले प्रवास खबरलाई बताइन्।

ट्राभलले देश तथा विदेशका लागि भ्रमण भिसा तथा हवाई टिकट उपलब्ध गराउने उनको भनाइ छ। यो ट्राभलले नेपालको पर्यटन प्रवर्द्धन र विकासमा नौलो आयाम थप्ने उनको दावी छ।

‘हाम्रो उदेश्य नाफा कमाउनु मात्र होइन। ओमन र नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने र देशका लागि योगदान पनि हो’ उनले भनिन्।

ट्राभलले राष्ट्रिय तथा हवाई टिकट, ओमानीलगायत विदेशी पर्यटकलाई नेपालको पर्यटक भिसा, यातयात, होटेल बुकिङ, टुर प्याकेज उपलब्ध गराउनेछ।

यस्तै, ओमनलगायत खाडी मुलुकहरुमा नेपालीलाई भिजिट र फेमिली भिजिट भिसा, डेजर्ट सफारीलगायतका टुर प्याकेजको समेत सुविधा पाइनेछ।

६६ रियालमा नेपाल घुम्ने अफर

कम्पनीले सुरुवाती चरणमा ६६ ओमनी रियालमा नेपालको लागि टूर प्याकेजको अफर ल्याएको छ। नेपाल घुम्न चाहाने ओमनलगायतका विदेशी पर्यटकलाई लक्षित गर्दै यो अफर ल्याइएको पौडेलले बताइन्।

यो प्याकेजमा पर्यटकले नेपाल होटल, यातयात, टूर गाइडदेखि अरू पनि आवश्यक विभिन्न सुविधा पाउनेछन्।

नेपालको पर्यटन प्रवर्द्धनका लागि मस्कटस्थित नेपाली दूतावास, ओमनको पर्यटन मन्त्रायल र नेपालको पर्यटन बोर्डसँग सहकार्य गरेर काम गर्ने योजना पनि कम्पनीले बनाएको छ।

ओमनमा झण्डै २० हजार नेपाली कार्यरत छन्।