चौबिस लाख विदेशी पर्यटक फिलिपिन्समा

चौबिस लाख विदेशी पर्यटक फिलिपिन्समा

मनिला। यो वर्ष २४ लाखभन्दा बढी विदेशी पर्यटकले फिलिपिन्स भ्रमण गरेका छन्। पर्यटक आगमनबाट दक्षिणपूर्वी एसियाली देशले दुई अर्ब ६५ करोड अमेरिकी डलर आम्दानी गरेको छ।

यो वर्षको प्रारम्भदेखि नै कोरोना महामारी नियन्त्रण गर्न जारी गरिएका प्रतिबन्ध खुकुलो पारिएसँगै खुला भएका देशका अन्तर्राष्ट्रिय नाका, समुद्री तट र पर्यटकीय क्षेत्रमा २४ लाख ६२ हजार एक सय ४० जना अन्तर्राष्ट्रिय पर्यटक आएका पर्यटन विभागले जनाएको छ।

संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, क्यानडा र बेलाइतबाट सबैभन्दा धेरै पर्यटक आएका जनाउँदै विभागले १७ लाख अन्तर्राष्ट्रिय पर्यटक आगमनको लक्ष्य रहेको बताएको छ। आगामी वर्ष पर्यटन पूर्वाधारको स्तरोन्नति गर्ने तथा २६ लाखभन्दा बढी पर्यटन भित्र्याउने लक्ष्य विभागले लिएको छ।

विशेष गरी ‘क्रुज’ पर्यटनको विकास गर्ने, क्षेत्रीय ‘ट्राभल’ मेला आयोजना गर्नेलगायत योजना पनि विभागले अघि सारेको छ। सन् २०२१ मा देशको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन उद्योगले ५.२ प्रतिशत योगदान गरेको थियो भने सन् २०१९ मा कूल गार्हस्थ्य उत्पादनमा पर्यटन उद्योगको योगदान १२.९ प्रतिशत थियो।