दुबईका ‘राजकुमार’ सँग दुर्गा प्रसाईंको सम्बन्ध बिग्रियो

दुबईका ‘राजकुमार’ सँग दुर्गा प्रसाईंको सम्बन्ध बिग्रियो

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई राज्यका राजपरिवार सदस्य जुमा अल मोक्तुमसँग मित्रता गाँसेका नेपाली व्यवसायी दुर्गा प्रसाईँको सम्बन्ध बिग्रिएको छ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य व्यवसायी प्रसाईंले गत असारमा मोक्तुमलाई नेपाल बोलाएर झापा र पोखराको भम्रणसमेत गराएका थिए।

बीएमसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पताल, बिर्तामोडका सञ्चालक प्रसाईँले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग समेत बालकोटमा मोक्तुमलाई भेट गराएका थिए।

तर, उनीहरुबीचको सम्बन्ध पछिल्लो समय बिग्रिदैं गएको सूचना प्रवास खबरलाई विशेष स्रोतमार्फत प्राप्त भएको छ।

कामभन्दा हल्ला–खल्ला बढी गरेर चर्चामा आउन खोज्ने प्रवृत्तिका कारण प्रसाईंसँग मोक्तुमको सम्बन्ध बिग्रिएको हो।

मोक्तुमसँगको सम्बन्धको विषयलाई आवश्यकताभन्दा बढी बढाईचढाई गर्दा राजपरिवारभित्र विवाद चर्किएको थियो। यसै कारण मोक्तुमले प्रसाईँसँगको सम्बन्धलाई थप अघि बढाउन नचाहेको स्रोतको भनाइ छ।

‘उसले (प्रसाईँ) ले चर्चामा आउन हल्ला–खल्ला बढी गरेपछि यहाँको सुरक्षा निकायलगायत राजपरिवारको ध्यानाकर्षण भएको थियो। यहाँ राजपरिवार सदस्यले हल्ला–खल्ला गरेको मन पराउँदैनन्,’ दुबईबाट स्रोतले प्रवास खबरसँग भन्यो, ‘नेपाली मिडियामा पटक–पटक राजपरिवारलाई जोडेर समाचार आउन थालेपछि मोक्तुमलाई दुबईको राजदरवारले दुर्गासँगको सम्बन्ध तोड्न दवाव दिएको हो।’

दुर्गाले हरेक गतिविधिमा दुबईका राजकुमार भन्दै प्रचार–प्रसार गरेपछि त्यहाँ परिवारका सबै झस्किएका थिए। मोक्तुम दुबईको राजपरिवारभित्रका सदस्य हुन्। तर, दुबईका राजकुमार (राजाकै छोरा) भने होइनन्। राजपरिवारभित्रकै सदस्य भएका कारण उनलाई राजकुमारको पदवी दिइएको हो।

तर, दुर्गाले उनलाई राजकै छोरा जस्तो गरी प्रचारप्रसार गरेपछि, राजदरबारभित्र यो विषय गम्भीर बनेको थियो।

मोक्तुम नेपाल आएकाबेला प्रसाईँले आफ्नो व्यवसाय यूएईमा विस्तार गर्ने र त्यसको लागि सहज वातारण बनाइदिन अनुरोध गरेका थिए। उनले नेपालको पानी, तरकारीलगायतका कृषिजन्य सामाग्री यूएईको बजारमा पुर्याउने बताएका थिए।

यस्तै, नेपालमा सरकारले मेडिकल कलेज खोल्न अनुकुल बातावारण नबनाइदिएकोले आफूले मोक्तुमसँग मिलेर दुबईमा ठूलो मेडिकल कलेज सञ्चालन गर्ने समेत घोषणा उनले गरेका थिए।

मोक्तुमले नेपाल आगमनका क्रममा प्रसाईंलाई सुनको जस्तो देखिने ‘गोल्डेन’ लौरो उपहार दिएका थिए। यो लौरोले पनि नेपालमा निकै चर्चा पाएको थियो।

मोक्तुमलाई नेपाल भम्रण गराएपछि प्रसाईँले नेपाल र यूएईबीचको कुटनैतिक सम्बन्ध थप विस्तार गर्नेदेखि जेलमा रहेका नेपालीलाई छुटाउन पहल गर्ने भनेर प्रचार–प्रसार समेत गरेका थिए। कैदीबन्दीहरुलाई आममाफी दिलाउन आफूले पहल गर्ने उनको भनाइ थियो।

उनले अलपत्र परेका शवलाई आफ्नै खर्चमा नेपाल झिकाउने पनि बताएका थिए। र, केही शव ल्याउन पैसा समेत दिएका थिए। शव नेपाल आउने बेला विमानस्थलमै पुगेर साहनुभूतिसमेत बटुलेका थिए।

प्रसाईँले जेलमा रहेका नेपाली छुटाउने भन्दै प्रचार–प्रसार गर्न थालेपछि आबुधाबीस्थित नेपाली दूतावासका कर्मचारी नै चकित परेका थिए। प्रसाईँले आबुधाबीस्थित नेपाली राजदूत र कर्मचारीले पीडितको समस्या समाधान नगरी ‘नाइट क्लब’ मा मस्ती गर्ने गरेको आरोपसमेत लगाएका थिए।

उनले ‘दुर्गा प्रसाईँ हुँदासम्म यूएईमा कोहीपनि नेपाली बिच्चलीमा नपर्ने’ समेत घोषणा गरेका थिए।

मोक्तुमले भेट्नै मानेन्

प्रसाईँले आफूसँगको व्यक्तिगत सम्बन्धलाई राजपरिवारसँग जोडेर प्रचार–प्रसार गरेको कुरा मोक्तुमलाई पनि मन नपरेको स्रोत बताउँछ।

‘कुटनीतिक ढंगबाट हुने विषयहरु पनि प्रसाईँ एक्लैले गर्छु भन्दै हिँड्न थालेको कुरा कसैलाई मन परेको थिएन,’ स्रोतले भन्यो।

प्रसाईँ गत अक्टोबरमा दुबई पुगेका थिए।

‘हालसम्म मेरो पहलमा दुबईका विभिन्न ठाउँमा रहेका १७ जना नेपालीहरूको शव र दर्जनौँ अलपत्र नेपाली र घाइतेहरूको उद्धार गरिएको यहाँहरूलाई अवगत नै छ। अब छिट्टै हामीले दुबईका जेलमा रहेका नेपालीहरूलाई आम माफी गराउने र छुटाउने प्रक्रियाको लागि विशेष पहल गर्न लागेका छौं,’ गत अक्टोबरमा उनले फेसबुकमा लेखेका थिए, ‘आममाफी प्रक्रिया मिलाउनका लागि हामीले यसअघि पनि त्यहाँका राजकुमारसँग कुराकानी गरिसकेका छौं। अब छिट्टै फेरी दुबईका राजकुमारसँग अर्को भेटघाट गरी दुबईको जेलमा रहनु भएका नेपालीहरूलाई छुटाउने वातावरण मिलाउन लागिएको छ।’

उनले छिट्टै अर्काे भेटघाट गर्ने बताएपनि त्यसपछि राजकुमार मोक्तुमले प्रसाईँलाई भेट दिएनन्। प्रसाईँले मोक्तुमलाई भेट्न धेरै प्रयास गरेका थिए। तर, मोक्तुमले भने भेटका लागि समय दिएनन्।

‘बारम्बार कोशिस गरेपनि मोक्तुमले भेटको लागि इच्छा देखाएनन्। राजपरिवारभित्रैबाट उनलाई ठूलो दवाव थियो,’ स्रोतले भन्यो। मोक्तुमले भेट नगरेपछि प्रसाईँ यत्तिकै नेपाल फर्किएका थिए।

यो पनि पढ्नुहोस्

व्यवसायी प्रसाईंको निमन्त्रणमा दुबईका राजकुमार झापामा

व्यवसायी दुर्गा प्रसाईँलाई दुबईका राजकुमारले दिए सुनको लौरो

गृह भन्छ- दुबईका ‘भिआइपी’बारे कुनै जानकारी छैन, कार्यक्रमाथि रोक लगाउने कुरा पनि हुँदैन

यूएईका जेलमा रहेका नेपालीलाई दुर्गा प्रसाईंले छुटाउने !