अनि कांग्रेस भयो ‘एम्बाप्पे’….

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन दलहरूलाई दिएको समयसीमाको अन्तिम दिन आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको ‘जमावडा’ थियो।
बिहानैदेखि नेताहरू सामूहिक र व्यक्तिगत छलफल गरेर सरकार गठनको दाबी पेस गर्न सहमति जुटाउने कसरत गरिरहेका थिए।
एक्कासी मध्याह्नतिर खबर आयो– पाँचदलीय सत्ता गठबन्धन टुट्यो। गठबन्धन टुटेको घोषणा गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट बाहिरिए।
प्रचण्ड बालुवाटारबा बाहिरिँदै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने गठबन्धन टुट्छ भन्ने थोरै पनि लागेको थिएन।
त्यसैले त प्रचण्ड हिँड्ने बेला देउवाले भनेका थिए,‘बालकोटमा कुरा नमिले फेरि आउनु होला।’
देउवामात्रै होइन, उनका निकटस्थ नेताहरू पनि गठबन्धन टुट्दैन भन्नेमा ढुक्क थिए। यसको कारण थियो– उनीहरूले देखेको ‘दाजु’ र ‘भाउजु’ को आत्मविश्वास।
देउवाका ‘किचेन क्याबिनेट’ लाई गठबन्धन टुट्छ भन्ने रत्तिभर विश्वास थिएन। बालकोट गए पनि त्यहाँ सहमति नहुने र प्रचण्ड फर्किएर फेरि बालुवाटार नै आउने लागेको थियो, देउवाको ‘किचेन क्याबिनेट’ लाई।
बालकोटमा प्रचण्डसँगै अरू दलका नेताहरू भेला हुँदा पनि त्यहाँ सहमति हुन्छ भन्ने विश्वास उनीहरूलाई थिएन।
तर, बालुवाटारले आकलन गरेको भन्दा फरक निर्णय बालकोटले गरिदियो–प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने।
यो निर्णय बाहिर आएसँगै, बालुवाटारमा बसिरहेका शीर्ष नेताहरू रनभुल्लमा परे। उनीहरू छाँगाबाट खसेझैं भए।
संसद विघटनदेखि साथ दिएर स्थानीय र आम निर्वाचन सँगै लडेका प्रचण्ड कुनै हालतमा गठबन्धन छाडेर जाँदैनन् र गए पनि एमालेले उनलाई प्रधानमन्त्री बनाउँदैनन भन्नेमा देउवा विश्वस्त थिए नै। उनको कोरटिम पनि।
यो विश्वासको आधार थियो– देउवा र ओलीबीच केही दिनयता भइरहेको संवाद।
अर्को आधार थियो लैनचौर, जसले कांग्रेस र एमाले दुवैसँग समानान्तर संवाद गरिरहेको थियो।
यही विश्वासका आधारमा देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पहिलो कार्याकालमा प्रधानमन्त्री बनाउने सहमतिबाट ‘ब्याक’ भएका थिए।
कांग्रेस संसदीय दलका नेताको निर्वाचनअघि देउवा र प्रचण्डबीच ‘पावर सेयरिङ’ का विषयमा एउटा समझदारी भएको थियो।
त्यो समझदारीअनुसार सुरूको दुई वर्ष प्रचण्ड र बाँकी तीन वर्ष देउवा प्रधानमन्त्री बन्ने थिए।
विश्वासको जगमा भएको त्यो सहमतिका लागि दुवै नेताले लिखित कागज गरेनन्।
अडानमा अडिग ररिरहने देउवाको स्वभावप्रति प्रचण्डले विश्वास गरे। अनि दुई वर्षपछि प्रचण्डले पनि सहजै सत्ता हस्तान्तरण गरिदिनेमा ढुक्क थिए, देउवा।
त्यसैले दुवै नेताले सत्ता साझेदारीका विषयमा लिखित सहमति गर्न जरूरी ठानेनन्।
हुनत बालुवाटारमा वार्ता चलिरहँदै देउवा र प्रचण्ड दुई–दुई वर्ष र माधव नेपाल एक वर्ष प्रधानमन्त्री बन्ने मोडेलमाथि छलफल भएको कुरा बाहिर आइसकेको थियो।
यो मोडेलमाथि छलफल भए पनि सहमति भने जुटिसकेको थिएन।
प्रचण्ड भने सुरूवाती चरणमा सरकारको नेतृत्व आफूले गर्ने अडान हरेक छलफलमा दो¥याइरहे। आइतबार बालुवाटारको छलफलमा पनि उनी त्यो अडानमा कायम थिए।
देउवा चाहिँ प्रचण्डलाई कुनै पनि हालतमा पहिलो कार्यकालका लागि पालो दिनेमा ‘मुड’ मा थिएनन्। बरू उनले प्रधानमन्त्रीका साथै राष्ट्रपति पनि कांग्रेसले नै पाउनुपर्ने अडान प्रचण्डसामु प्रस्तुत गरे।
कांग्रेस इतर समूहको दबाब पनि यही थियो। अनि अन्त्यमा उनले प्रचण्डलाई भनिदिए,‘तपाईंलाई सुरूमा प्रधानमन्त्री दिन साथीहरूले मानेन्, मैले नसक्ने भएँ।’
नेताहरूका अनुसार आफू प्रधानमन्त्री लिएर रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन प्रचण्ड तयार थिए।
सुरूमा प्रचण्डलाई प्रधानमन्त्री छाड्न उपसभापति पूर्णबहादुर खड्काले जोड गरेपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महत प्रतिवादमा उत्रिए।
बैठकमा सहभागी नेताका अनुसार यो विषयलाई लिएर खड्का र महतबीच चर्काचर्कीसमेत भयो।
प्रचण्डलाई प्रधानमन्त्री नदिने निर्णयमा देउवा पुग्नुपछाडिको कारण थियो– एमाले अध्यक्ष ओलीसँग उनको निरन्तर भइरहेको कुराकानी। त्यो कुराकानीको समन्वय गरिरहेको थियो, भारतले।
यसबाहेक देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्की पनि लगातार ओलीसँग संवाद गरिरहेका थिए। कांग्रेस र एमालेबीच भएका यो छलफलहरूमा एमालेका अरू नेताहरू पनि सहभागी थिए।
एमालेका कतिपय नेताहरूले राजनीतिक स्थायित्वका लागि एमाले र कांग्रेसले मिलेर सरकार बनाउनुपर्ने धारणा सार्वजनिक रूपमै व्यक्त गरेका थिए।
प्रचण्डलाई प्रधानमन्त्री नदिने, बरू आफूहरू मिलेर सरकार बनाउने सहमति कांग्रेस र एमालेबीच लगभग भइसकेको थियो।
बालुवाटारमा सहमति जुटाउन शीर्ष नेताहरूबीच रस्साकस्सी चलिरहेकै बेला कांग्रेसका एक नेताले आयोमेलसँग भनेका थिए– प्रचण्ड सहमतिमा नआए एमालेको सहयोगमा सरकार बन्छ।
‘शेरबहादुरजी र प्रचण्डजी दुवै जना आ–आफ्नो अडानमा कायम हुनुहुन्छ,’ आइतबार बालुवाटारबाटै ती नेताले आयोमेलसँग भनेका थिए,‘एमाले समर्थनका लागि तयार छ। एमालेले सहयोग गर्छ।’
आइतबार मध्याह्नतिर पनि ओली र देउवाबीच मिलेर जानेबारे अन्तिम सहमतिको फोनवार्ता भएको थियो।
एमाले नेताहरूसहित ओली बालुवाटार आउने र संविधानको धारा ७६९२० अनुसारको सरकार बनाउने सहमति दुवै दलबीच भएको थियो।
त्यही सहमतिका बलमा देउवा माओवादी अध्यक्ष प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री दिनबाट पछि हटेका थिए।
कांग्रेस र एमालेबीच भएको कुराकानीको कुनै भेउ प्रचण्डलाई थिएन। प्रचण्डको आशंका थियो– कांग्रेसले ५ बजेसम्म समय घर्काएर ७६ ९३० बमोजिम अल्पमतको सरकार बनाउने खोज्दैछ।
यता ओलीले गठबन्धन छाडेर आए आफूहरू मिलेर सरकार बनाउन तयार रहेको सन्देश निरन्तर माओवादी नेताहरूमार्फत प्रचण्डलाई पठाइरहेका थिए।
बालुवाटारबाट बाहिरिएका प्रचण्ड खुमलटार हुँदै बालकोट पुगे।
आफू बालकोट पुग्नुअगावै एमालेसँग कुराकानी गरिरहेका नारायणकाजी श्रेष्ठ र देव गुरुङलाई बालकोट पठाइसकेका थिए। पछि वर्षमान पुन पनि बालकोट पुगे।
साढे १ बजेतिर प्रचण्ड बालकोट पुगेको केही बेरपछि राप्रपाका राजेन्द्र लिङ्गदेन, रास्वपाका रवि लामिछाने, जसपाका अशोक राई, जनमत पार्टीका सिके राउतलगायतका नेताहरू पनि पुगे।
सात राजनीतिक दल र केही स्वतन्त्र सांसदहरूको बालकोट भेलाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति जुटाउला भनेर बालुवाटारलाई विश्वास नै थिएन।
देउवाको कोर टिम ओली पुग्ने साढे तीन बजेको समय कुरेर बसिररहेको थियो। जबकि त्यो बेलासम्म प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति बालकोट भेलाले गरिसकेको थियो।
बालकोट बैठकको निर्णयबाट निःशब्द बन्न पुगेको बालुवाटारले अझै पनि यो किन र कसरी भयो भन्ने कारण खोज्न सकेको छैन। देउवा र उनको ‘किचेन क्याबिनेट’ विश्लेषणविहीन अवस्थामा पुगेका छन्, यतिबेला।
राजनीतिमा धेरैपटक उतारचढाव भोगेका देउवाले यसपालि सम्भवतः सबैभन्दा ठूलो ‘धोका’ पाएका छन्, अरूलाई ‘धोका’ दिन खोजेकाले।
राजनीतिमा राजनीतिकर्मीहरू ‘प्लान ए’ सफल नहुँदा विकल्पका रूपमा ‘प्लान बी’ राखेका हुन्छन्। अरू पनि।
तर, एमालेले दिएको वचनप्रति देउवा र उनी निकटस्थ नेताहरू यतिसम्म ढुक्क थिए कि सरकार बनाउनका लागि वैकल्पिक रणनीतिसमेत बनाएका थिएनन्।
जबकि यसका लागि कांग्रेससँग प्रयाप्त विकल्पहरू थियो। चाहेको भए उसले रास्वपा, जसपा, जनमत, नागरिक उन्मुक्तिलगायतका पार्टीहरूसँग छलफल गरेर सरकार गठनका लागि रणनीति बुन्न सक्दथ्यो।
देउवाको एउटा गलत ‘मुभ’ का कारण केन्द्रमा सरकार बनाउनबाट चुकेको कांग्रेस सुदूरपश्चिमबाहेक अरू सबै प्रदेसको सत्ताबाट च्यूत हुने पक्का भइसकेको छ।
एमालेको विश्वासमा डुबुल्की मार्न खोजेको कांग्रेस अन्ततः प्रचण्डबाट धोका पायो नै, सरकार बनाउन जितिसकेको खेल पनि गुमायो।
अनि त महामन्त्री विश्वप्रकाश शर्मा अहिलेको राजनीतिको खेलमा आफूहरू फुटबलर एम्बाप्पेजस्तो भएका टिप्पणी गरेका छन्।
उही एम्बाप्पे जसले फाइनल खेलमा ह्याट्रिक गोल गरेर पनि आफ्नो टिम फ्रान्सलाई विश्वकपको उपाधि दिलाउनबाट चुके।
‘अस्ति वल्र्डकप भएको थियो नि। सबभन्दा बढी गोल चाहिँ एम्बाप्पेले हान्यो। चुनावमा सबभन्दा बढी सिट कांग्रेसले जित्यो। एम्बाप्पेले सबभन्दा बढी गोल पनि हान्यो, गोल्डेन बल पनि जित्यो। तर कप चाहिँ अर्कैले लग्यो,’ सोमबार पोखरा साहित्य सम्मेलनमा उनले भने,‘त्यसकारण हामी चाहिँ एम्बाप्पे भएर आएका हौं।’