सत्ता सहयात्री दलको बैठक बानेश्वरमा सुरु

सत्ता सहयात्री दलको बैठक बानेश्वरमा सुरु File Photo

काठमाडौं। सत्ता गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज अपराह्न ४ बजे पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम अगावै केही मन्त्रीको टुङ्गो लगाउने तयारी छ। सोही तयारीका लागि सरकारमा सहभागी दलको बैठक सुरु भएको हो।

नवनियुक्त प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका साथमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका नेता सहभागी हुनुहुन्छ।

सरकारमा सहभागी हुने मन्त्रीका बारेमा दलहरुको आन्तरिक तयारी लगत्तै सामूहिक छलफल सुरु भएको हो। आज बिहान मात्रै माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो। उता एमाले अध्यक्ष ओलीको निवास बालकोटमा पनि नेताहरुबीच छलफल भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि आन्तरिक छलफल गरेका थिए।



No ads found for this position