प्रचण्ड : चुनावमा एउटा गठबन्धन सरकारमा अर्कैसँग
चुनाव सकिएर सरकार गठनका लागि दौडधुप चलिरहँदा एकपटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए- हामीले भनेको नभए, एमालेसँग जान्छौं…!
शनिबारमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए ‘प्रचण्डजीले प्रधानमन्त्री हुने रहर गर्नुभएको छ। तर ढिला भइसक्यो। सबै कुराको समय हुन्छ। समयमा भएन भने त्यो केही हुँदैन…।’
राजनीतिक भाषामा प्रचण्डलाई ओलीको लागि खुल्ला आह्वान थियो।
नभन्दै त्यो समय आयो। बालुवाटारबाटै उनि आइतबार बिहान सिधै बालकोटको ढोका ढकढक्याउन पुगे। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पनि त्यहिँ थिए।
प्रचण्ड पनि पुगेपछि चार पार्टीबीच छलफल चलिरहँदा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि त्यहीँ पुगे। केहीबेरपछि एकीकृत समाजवादीका नेता अशोक राई पनि बालकोट छिरे।
यता नेपाली कांग्रेस भने ‘प्रचण्ड बालकोट गएका होइनन, खाना खान गएका हुन्…’ भन्दै कुरिरह्यो।
ओलीको भाषामा भन्दा कांग्रेसको ‘समय सिद्धिसकेको थियो…’ राजनीतिको छडिले एकाएक फन्को मारिसकेको थियो। सात दलका नेताहरू बसेर बालकोटबाट एउटा नयाँ ‘गठबन्धन’ जन्मियो।
नेपाली कांग्रेसले ‘वर्षौ टिक्छ’ भनेर भनिरहेको सत्ता गठबन्धन हेर्दाहेर्दै टुटिसकेको थियो।
र, केहीबेरमा बालकोटले घोषणा गर्यो- प्रचण्ड नेतृत्वको सरकार।
त्यसका लागि एमालेका ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिका ४ सांसदहरूले प्रचण्डलाई समर्थन दिनेछन्। सरकार बनाउन चाहिने बहुमत संख्या १३८ भन्दा यो संख्या धेरै हो।
सात दलीय यो सहमतिमा सबै इमान्दार भए करिब साढे दुई वर्षपछि प्रचण्ड बाहिरिनेछन् र एमालेलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नेछन्।
कसरी भयो यो सब ?
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिणामअनुसार संवैधानिक व्यवस्थाको धारा ७६(२)मा टेकेर सरकार बनाउन भनेकि थिइन्। र, त्यसको आज अन्तिम दिन थियो। आज ५ बजेसम्ममा दुई वा त्यो धेरै दलहरूको समर्थनमा प्रधानमन्त्रीको नाम सिफारिस गरिसक्नुपर्ने थियो।
केही दिनअघिदेखि सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्छ भनिरहेका प्रचण्डलाई फकाउन नेपाली कांग्रेसले अनवरत प्रयास गरिरहेको थियो। कांग्रेसका धेरै नेताहरूले उनलाई सम्झाइरहेका थिए।
सत्ता गठबन्धनमा मात्रै होइन, प्रतिनिधिसभामा समेत सबैभन्दा धेरै सांसद भएको दल हो नेपाली कांग्रेस। यही गठबन्धन कायम राख्नका लागि प्रचण्डले गरेको ‘आलोपालो’ प्रस्तावलाई कांग्रेसले सहमति दिइसकेको थियो।
सरकार गठनको समयसीमा गुज्रिँदै गर्दा प्रचण्डले फेरि अर्को प्रस्ताव राखे- ‘त्यो आलोपालोमा पहिलो नेतृत्व मेरै हुनुपर्छ…।’ अर्थात् पहिलो अढाइ वर्ष प्रचण्ड प्रधानमन्त्री हुन चाहन्थे।
आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका सबै दलहरूको बैठक बोलाएका थिए। सामूहिक रूपमा बस्नुअघि दलका शीर्ष नेताहरूले एक्लाएक्लै पनि कुराकानी गरे।
प्रचण्ड पनि मानिरहेका थिएनन्। ‘प्रेसर छ…’ भनेर देउवा पनि प्रधानमन्त्री र राष्ट्रपतिको भाग कांग्रेसले छोड्न नसक्ने अडानमै थिए।
गठबन्धनको ‘ब्रेक’ त्यहीँनेरबाट सुरु भइसकेको थियो।
सामूहिक बैठक सुरू भएको केहीबेरमै प्रचण्ड त्यहाँबाट बाहिरिए र सिधा बालकोट पुगे। अनि ओलीसँग भने- ‘कांग्रेसले धोका दियो। हाम्रो अपमान भयो।’
ओलीको एउटा राजनीतिक दाउ थियो- जसरी पनि यो गठबन्धन भत्काइदिने। अन्तिम दिन आइतबार मध्यान्हतिर बालकोटको बार्दलीमा प्रचण्ड र ओलीले हात उठाउँदै अभिवादन गरे। उही रवाफ। उही शैली। उस्तै दम्भ। उही भावभंगी।
सत्ता गठबन्धन ढल्यो।
अन्तत: प्रचण्ड प्रधानमन्त्री हुने नै भए। केही बेरमा ओली र प्रचण्ड शितल निवास पुगेर आफ्नो दाबी बुझाए।
अब संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अनि गठबन्धनकै अर्को एकीकृत समाजवादी प्रतिपक्षमै हुनेछन्।
यसको सबै ‘दोष’ नेपाली कांग्रेसमाथि नै थोपरिएको छ। बालकोटमा नयाँ ‘गठबन्धन’ उदाएसँगै अहिले माओवादीसँगै मिलेका बाबुराम भट्टराईले भनेका छन्- अतिले खति गर्छ भन्ने कुरा नेपाली कांग्रेसको नेतृत्वले बुझोस्।
उनले ट्टिट गर्दै लेखे- नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस हुनुभएका क.प्रचण्डलाई हार्दिक बधाई! अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्!
नयाँ राजनीतिक समिकरणमा साक्षी बसेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले बालकोटमै भनेका थिए- कांग्रेसले पहल लिन नसक्दा त्यसमा एमाले आउनुपरेको हो। राजनीतिक रिक्तता हुन नदिनका लागि एमालेका लागि राजनैतिक नैतिकको बाध्यता थियो।
नेपाली कांग्रेसकै कतिपय नेताहरूले पनि यसको दोष आफ्नै नेतृत्वलाई दिनुपर्ने प्रतिक्रिया दिइरहेका छन्।
यो नयाँ गठबन्धनसँगै अब संघीय सरकारमा मात्रै होइन सबै प्रदेशहरूसमेत राजनीतिक समिकरण बदलिनेछ। यसैले गति लिएमा सातै प्रदेशमा नयाँ गठबन्धनको सरकार बन्नेछ।
यो उनको पुरानै राजनैतिक बानी हो।
प्रचण्ड तत्काल बदलिन सक्छन्। क्षणका क्षण राजनीतिक परिदृश्य अनि माहोललाई उल्टाइदिन सक्छन्।
कहिले उनी भावुक भइदिन्छन्। रोइदिन्छन्। धम्क्याउँछन्। अत्याउँछन्। अनि आफैमाथि ज्यानको खतरा छ… पनि भनिदिन्छन्। प्रचण्डलाई लाग्छ आफू नभए देशै रहन्न। अथवा आफू पछि पर्नु भनेको देश नै पछि पर्नु हो। सारा राजनीतिक व्यवस्था नै उल्टिनु हो।
र, उनी हतासमा आउँछन्। हडबडाउँछन्। अत्तालिन्छन्।
अनि झ्वाट्ट निर्णय गरिदिन्छन्।
चाहे शक्तिशाली ‘बहुमत’ होस् वा आफ्नो शक्ति निख्रिएको चुनावी परिणाम! यी सबका बीचमा पनि नेपाली राजनीतिभित्र सधैं निर्णायक बन्दै आएको एउटा छायाँ हो- पुष्पकमल दाहाल अर्थात् प्रचण्ड।
जुनसुकै परिस्थिति होस्, युद्धकालदेखि आज पर्यन्त नेपाली राजनीतिमा लुटपुटिदैं सधै त्यसको केन्द्रमा घुमिरहने एउटा नाम हो- प्रचण्ड।
भलै उनको पार्टी अब ‘भित्ता’मै पुगिसकेको छ, जसरी २०६४ सालपछि उनलाई राष्ट्रपतिका रूपमा ‘प्रोजेक्ट’ गरिएको थियो र उनि हर गल्लीका भित्ताको क्यानभास थिए।
त्यो माओवादीको लहर थियो, डर थियो र केही आश पनि। आज ती सब केही छैनन्, तर पनि प्रचण्ड छन्। जितको उन्माद होस् कि हारको पीडा उनलाई कत्ति पनि फरक पर्दैन। वस् ‘शक्ति’ उनमा हरदम रहन्छ।
२०७४ सालमा केपी ओलीसँग आफूमात्रै मिलेनन्, सिङ्गो पार्टीलाई नै मिलाए।
भलै उनका सहयात्रीहरूले फरक बाटो रोजे र उनलाई एक्लै छोडिदिए तथापि उनि एक्लै भिडिरहे।
तर पछि हटेनन्, पार्टी मिसाए।
भएन, बरू फेरि नेकपा नै नामेट गरिदिए, एमालेलाई फेरि उही हैसियतमा छोडिदिए जुन हैसियतमा त्यसअघि एमाले थियो। अनि आफू पनि उही हैसियतमा फर्किए।
अनि, फेरि आज!
यसपालि पनि त्यस्तै भयो। गत मंसिर ४ को चुनावी परिणामले उनको पार्टीलाई तेस्रो स्थानमा पुर्याइदियो। तर पनि उनले सरकारको नेतृत्व खोजिरहे। भलै सांसद संख्या पुग्दै पुग्दैनथ्यो तथापि उनि थामिएनन्, बरू गठबन्धन नै टुक्रा पारिदिए।
हिँजसम्म बेस्सरी गाली गरिरहने उनै ओलीसँग फेरि मिले।
र, बालकोटको बार्दली बिम्ममा अब एउटा अर्को छाँया थपिएको छ – प्रचण्ड।
अन्तिम इनिङको ‘ढिपी’
प्रचण्ड आफैलाई लाग्छ अब उनीसँग सक्रिय जीवनका बढीमा १० वर्षमात्रै बाँकी छन्।
त्यसपछि के हुन्छ? त्यो त उनलाई पनि थाहा छैन।
र, उनले चाहिरहेका छन् राजनीतिको केन्द्रमा आफ्नो अन्तिम इनिङ खेलौं।
‘सायद राजनीतिमा मेरो राजनीतिक जीवनमा यो अन्तिम इनिङ पनि हुनसक्छ’ चुनावअघि उनले एकपटक भनेका थिए ‘र, अन्तिममा फेरि एकपटक देशको नेतृत्व गरेर समृद्धिको सुरूवात गर्न मन छ…।’
आफै भन्छन् उनी कास्कीको ढिकुरपोखरीको एउटा किसान परिवार त्यहाँ खान लाउनै समस्या भएपछि केही गर्न भनेर चितवनमा झरेको थियो।
२०१९ सालमा ढिकुरपोखरीबाट झिटीगुन्टा बोकेर चितवन झरिरहेका मुक्तिराम खनाल र भवानी खनालहरूसँग जिन्दगीका पाइला नाप्दै थिए छबिलाल दाहाल।
त्यही ‘छबिलाल’ले देखेको जनयुद्ध सपना पूरा गर्न उनले आफूलाई ‘प्रचण्ड’ बनाए।
र, आज भन्छन् ‘सपना देख्नुस् र त्यसमा लागिपर्नुस्। सफलता त तपाईंलाई आफै चुम्न आइपुग्छ। म पहाडमा खान नपुगेर चितवनमा बसाइँ सरेको त्यही बच्चा हुँ। दुईचोटी प्रधानमन्त्री भएँ गणतन्त्र नेपालको। यो कसरी सम्भव भयो भन्ने हेर्दा आफैँलाई सपना हो कि विपनाजस्तो लाग्छ। तर, हुँदो रहेछ। आफैँलाई गौरवशाली पनि ठान्छु म।’