फिफा विश्वकप २०२२ : कतार महाकुम्भको साक्षी बस्न पाउँदा…

फिफा विश्वकप २०२२ : कतार महाकुम्भको साक्षी बस्न पाउँदा…

दोहा। कतारमा चलिरहेको फिफा विश्वकपको २० औं संस्करणमा म स्वंयसेवक भएर काम गरिरहेको छु। खासमा ‘दर्शक सेवा’का लागि हामीजस्ता हज्जारौ स्वंयसेवकहरू विभिन्न रंगशालामा छन्।

सायद कमै मान्छे होलान् विश्वमा फुटबलको बारेमा थाहा नहुने। खेलप्रतिको आकर्षणमात्रै होइन, आफ्ना रोजाइका खेलाडी र आफ्नो रोजाइको देशको समूहलाई दर्शकहरू अथाहा प्यार गर्छन्।

बचपनदेखि नै म पनि अरुले जस्तै टिभीमै फुटबल हेर्थें। मेरो पनि रोजाइको टिम ब्राजिल थियो। अहिले म अर्जेन्टिनालाई समर्थन गर्छु।

विश्वकप यही टिमले जितोस् भन्ने लाग्छ। अरू देशक खेलाडी भन्दा अब्बल र अनुशासित पनि छन् यो देशका खेलाडी।

सानैदेखि टिभीमा विश्वकप हेर्दा यी खेल खेल्न खेलाडिहरुलाई नजिकबाट देख्न पाए कस्तो होला? प्रत्यक्ष कस्ता होलान्, खेल मैदान कस्तो होला, यतिका धेरै मान्छे कसरी बसेका, कहाँ बाट आएका कस्ता प्रविधिहरु प्रयोग भएका होलान् भन्ने कुराको कौतुहलता हुन्थ्यो। बिस्तारै ठूलो हुँदै जादा समाचारहरुबाट जानकारी बटुलेको थिएँ। तर, यस्ता जानकारीको प्रत्यक्षदर्शी भएर अनुभव गर्न पाउँदा अर्कै महसुस हुने रहेछ।

कतार प्रवेशको समयमा कतारले विश्वकप गर्न पाउने भयो रे २०२२ मा भन्ने सुनेको थिएँ। अर्थात् कतारले फिफा विश्वकप गर्न पाउने बिड जितेको थियो। त्यही बेलादेखि यो रौनक हेर्नका लागि म कतारमा हुन्छु कि हुदिनँ होला भन्ने डरले सताउँथ्यो।

विश्वकपको रौनक कस्तो होला, कतारले कसरी यो सबै व्यवस्थापन गर्ला? आवश्यक भौतिक संरचनाहरूमा कसरी र कहिलेसम्म बनाउला भन्ने लाग्थ्यो।

समयसँगै कतारले आफूलाई पूर्ण रुपमा तयारी गर्दै २० औं सस्करणको क्वाटर फाईनल सम्म आइसकेको छ। विश्वका मिडियाहरूको हवला अनुसार पनि यो संस्करण उत्कृष्ट सावित हुने भएको छ।

सपना जस्तो हाम्रो कल्पनामा गुज्रिरहेका धेरै अनुत्तरित प्रश्न र कौतुहलहरू अब आफ्नै सामुन्ने छन्। त्यसमा आफै सहभागी भएर विश्वकपलाई नियाल्न पाउँदा आफैलाई भाग्यमानीजस्तै लागिरहेको छ।

यो मेरो कर्मभूमि पनि हो।

केही पाउनका लागि भन्दा पनि विश्वकै यति ठूलो महाकुम्भमा आफू पनि स्वंयसेवक भएर काम गरिरहेको छु। जीवनमा अनुभवहरू कमाउनु पनि ठूलो कुरा हो। त्यसैका लागि म यहाँको स्वंयसेवक भएको हुँ।

मान्छेसँग घुलमिल हुने र समूहमा काम गर्न रूचाउने भएका कारण पनि म यहाँ जोडिन पुगेँ।

यो विश्वकपमा यहाँका स्थानीय १५ हजार र ७ हजार बाहिर देशबाट स्वंयसेवकहरू छानिएका छन्।

विश्वका कुनाकाप्चाबाट आएका दर्शकहरूको उत्साह र उमंगसँगै म पनि त्यही समूहमा बसेर दर्शकहरूको स्वागत, स्वागत सत्कार अनि सेवा गरिरहेको छु।

म दर्शक सेवा स्वंयसेवक हुँ। अहमद बिन अलि स्टेडियममा भएका ७ ओटा खेल र लुसेल अनि एजुकेसन सिटिमा हुने १/१ खेल गरेर ९ खेलका लागि मैले जिम्मेवारी पाएको थिएँ।

यसले मेरो जागिरलाई पनि असर गरेको छैन। बरु यहाँका सबै निजी तथा सरकारी संघसंस्था तथा व्यापारिक प्रतिष्ठानहरूसमेत यो विश्वकपलाई सफल पार्न साझेदारी गरिरहेका छन्। किनकि यो विश्वकप एउटा खेलको महाकुम्भ मात्रै नभएर कतारले आफ्नो प्रतिष्ठाका लागि पनि गरेको हो।

दर्शकलाई सुरूवातमा स्वागत गर्नेदेखि लिएर अन्तिमसम्म उनिहरूकै वरिपरि हुने अनि खेल सकिएपछि विदाई गर्ने काम हाम्रो हुन्छ।

फरक भाषा, फरक रंग अनि फरक फरक संस्कृति बोकेका विश्वका धेरै मानिसको समूहमा काम गर्न पाउनु पनि जीवनको एक उत्कृष्ट अनुभव हो भन्ने लाग्छ।

जो जहाँबाट आए पनि यो विविधता र अनेकतामा दर्शको बसाइँ मनोरञ्जनात्कम र मीठो अनुभव होस् भन्ने पनि हो।

यहाँका विभिन्न रंगशालाहरूमा म जस्ता करिब १५० नेपाली स्वंयसेवक छन्।

(गिरी एनआरएनएको कतार शाखाको महासचिव हुन्।)