पोर्चुगललाई हराउदै मोरक्को फिफा विश्वकपको सेमिफाइनलमा

पोर्चुगललाई हराउदै मोरक्को फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौं । पूर्व युरोकप च्याम्पियन पोर्चुगललाई १–० गोलले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्कोले कतारमा जारी विश्वकपमा सनसनी मच्चाएको छ। उसले सन् १९८६ विश्वकपको घटनालाई ताजा तुल्याउँदै पोर्चुगललाई क्वाटर फाइनलबाट घरको बाटो देखाएको छ भने आफू पहिलो पल्ट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र हो। यसअघि क्यामरुन (१९९०), सेनेगल (२००२) र घाना (२०१०) विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेका थिए तर सेमिफाइनल प्रवेश गर्न सकेका थिएनन्।

मोरक्कोको जितमा ४२ मिनेटमा युसुफ इन नेसरीले गरेको एक मात्र गोल निर्णायक बन्यो। उनलाई लेफ्ट डिफेन्डर याहिया अतियात अल्लाहले डिबक्सभित्र पास मिलाएका थिए। जसलाई सेन्टर फरवार्ड युसुफले हेडिङमार्फत गोल गरे।

सन् १९८६ को विश्वकपको समूह चरणको खेलमा पहिलो गोलको अग्रता लिएको मोरक्कोले ३–१ गोलले पोर्चुगललाई पराजित गर्यो।

पोर्चुगलले दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो लगायत तीन स्ट्राइकरलाई मैदानमा उतारे पनि युरोपमा बसेर खेल्ने मोरक्कोका डिफेन्डरहरुले आफ्नो पर्खाल तोड्न दिएनन्।

मोरक्कोले ९३ मिनेटमा वालिद चेदिरालाई गुमाएको थियो। उनले दोहोरो पहेँलो कार्ड पाएपछि अन्तिम ५ मिनेटको खेल मोरक्कोले १० खेलाडीमा सिमित भएर खेल्नु पर्यो।