नेदरल्याण्ड्स फिफा विश्वकपको क्वाटरफाइनलमा

नेदरल्याण्ड्स फिफा विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । अमेरिकालाई शनिबार राती ३–१ गोलले पराजित गरेको नेदरल्याण्ड्स फिफा विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको हो। यो सँगै अमेरिका विश्वकपको प्रि-क्वाटरफाइनलबाट बाहिरिएको छ।

डच टिमको जितमा इन्टर मिलानका राइट ब्याक डम्फ्रिज हिरो सावित भए। उनले एक गोल गर्नुका साथै गोलका लागि दुई वटा अवसर जुराइदिएका थिए।

नेदरल्याण्ड्सले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो। पहिलो गोल मेम्फिज डिपेइले १० मिनेटमा गरेका थिए। दोस्रो गोल ४५ मिनेटपछि थप भएको समयमा डेली ब्लान्डले गरे।

अमेरिकाका लागि एक मात्र गोल हाजी राइटले ७६ मिनेटमा गरे। नेदरल्याण्ड्स गत विश्वकपमा छनोट पनि हुन सकेको थिएन। २०१४ को विश्वकपमा भने तेस्रो भएको थियो।

अमेरिकाले खेलको सुरुवातमै अग्रता लिने मौका पाएको थियो। तर त्यसलाई सदुपयोग गर्न सकेन। टिमका स्टार खेलाडी क्रिस्टियन पुलिसिकले ३ मिनेटभित्रै डिबक्सभित्र अवसर पाएका थिए। उनलाई त्यो अवसर सर्जिनो डस्टले मिलाइदिएका थिए। तर डच गोल पोस्टमा राम्रो दिशा दिन नसक्दा गोलकिपर एन्ड्रिज नोपेर्टको हातमा बल पुगेको थियो।

पहिलो हाफको अन्त्यतिर पनि टिमोथी वेहा र डेस्टले मौका नपाएका होइनन्। तर उनीहरु पनि गोल गर्नबाट चुके।

यसको विपरित राइट विङको मोर्चा सम्हालेका इन्टर मिलानका डच डिफेन्डर डेन्जल डम्फ्रिजको मुभलाई बीचमा रोक्न नसक्दा अमेरिकाले ठूलो मूल्य चुकाउनु पर्यो। उनले १० मिनेटमा डिबक्समा डिपेइलाई पहिलो गोलको लागि अवसर मिलाइदिएका थिए।

पहिलो हाफको निर्धारित ४५ मिनेटको खेल सकिएर थप भएको खेलको एक मिनेटभित्रै पुनः डम्फ्रिजले अर्को मुभमार्फत ब्लाइन्डलाई डिबक्सभित्र अवसर मिलाए।

पहिलो हाफमा २ गोलले पछाडि परेको अमेरिकाले दोस्रो हाफमा खेलमा फर्किन थुप्रै प्रयास गरेको थियो। यही सिलसिलामा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका हाजी राइटले आफू मैदान प्रवेश गरेको ९ मिनेटभित्र गोल गरेका थिए। तर त्यसको पाँच मिनेटमा डच टिमले पुनः गोल फर्काउदै अमेरिकी योजनामा पानी फेर्‍यो। तेस्रो गोल डम्फ्रिजले नै ८१ मिनेटमा गरे।

डच टिमसँगको पराजयपछि अमेरिका कतार विश्वकपको नकआउट चरणबाट बाहिरिने पहिलो टिम बनेको छ।