फिफा विश्वकप : अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा

फिफा विश्वकप : अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा

काठमाडौं। अर्जेन्टिना र पोल्यान्ड कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा स्थान बनाएका छन्। बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० ले पराजित गर्दै अर्जेन्टिना समूह ‘सी’ को विजेता बनेको हो। पोल्यान्ड पराजित बाबजुद पनि उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो।

दोहास्थित मैदान ९७४ मा अर्जेन्टिनालाई जिताउन ब्राइटनका एलेक्सिस म्याक एलिस्टर र म्यानचेस्टर सिटीका फरवार्ड जुलियन मार्टिनेजले समान एक एक गोल गरे। दुबै गोल दोस्रो हाफमा भएका थिए। पहिलो हाफको ३९औं मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टी चुकाएका थिए।

खेलसँगै अर्जेन्टिनाले समुह ‘सी’ मा तीन खेलबाट ६ अंक जोडेको छ। पोल्यान्ड र मेक्सिकोको समान चार अंक भएपनि गोलअन्तरमा पोल्यान्ड उपविजेता बन्यो। साउदी अरेबिया भने तीन अंक सहित पुछारमा रह्यो। मेक्सिको र साउदीको समूह चरणसँगै प्रतियोगिताको यात्रा सकिएको छ।

एकै समयमा भएको खेलमा मेक्सिकोले साउदीलाई २–१ अन्तरले पराजित गरेको हो। अन्तिम समयमा गोल बेहोर्दा मेक्सिको छनोट हुन सकेन । पहिलो खेलमा अर्जेन्टिनालाई २–१ अन्तरले पराजित गरेको साउदी बाँकी खेलमा पराजित हुँदा समूह चरणबाट माथि बढ्न सकेन ।

अब, प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलिया र पोल्यान्डले फ्रान्सको सामना गर्नेछ ।