भैरहवाबाट दोहा र क्वालालम्पुर उडान गर्न सकिने, नेपाल एयरलाइन्सको जहाजले उडान गर्ने

भैरहवाबाट दोहा र क्वालालम्पुर उडान गर्न सकिने, नेपाल एयरलाइन्सको जहाजले उडान गर्ने File Photo

काठमाडौँ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट कतारको दोहा र मलेसियाको क्वालालम्पुर विमानस्थलमा उडान गर्ने भएको छ।

पुस ४ गतेदेखि यी दुई गन्तव्यमा उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निगमलाई अनुमति दिइसकेको छ।

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार साताको दुई दिन काठमाडौँ-दोहा-भैरहवा हुँदै काठमाडौँ उडान हुनेछ। त्यस्तै साताको एक दिन भैरहवादेखि क्वालालम्पुर हुँदै काठमाडौँ उडान हुने तालिका तय भएको छ।

अब निगमको भारतको नयाँदिल्ली गन्तव्यमा पनि साताको १४ उडान हुने भएको छ। यसअघि कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुनःस्वीकृत भएको निगमले जनाएको छ।

पछिल्लो एक महिनादेखि निगमले दिल्ली गन्तव्यमा साताको १० उडान गर्दै आएको थियो। तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य उडान गर्नुपर्ने क्यानको बाध्यकारी निर्णयपछि निगमको दिल्ली उडान कटौती भएको थियो।