कतारका नेपाली संघ-संस्था खारेज गर्छु : राजदूत ढकाल

कतारका नेपाली संघ-संस्था खारेज गर्छु : राजदूत ढकाल

दोहा। कतारको नेपाली राजदूतावासले यहाँ स्थापित भएका नेपाली संघ-संस्था खारेज गर्ने तयारी थालेको छ।

राजदूत नरेन्द्रविक्रम ढकालले अबको केही समयमै यहाँका नेपाली संघ-संस्थालाई बन्द गराउने प्रक्रिया सुरु गर्न लागिएको बताएका छन्।

‘संघ-संस्था धेरै भएर विकृति बढ्यो। अधिवेशन, कार्यक्रम, भेलाका नाममा पैसा खर्च गर्ने क्रम बढेको छ। यसको मार थोरै आम्दानी गर्ने श्रमिकलाई परेको छ,’ राजदूत ढकालले भने, ‘अब संघ-संस्था बन्द गराउनुको विकल्प छैन। खारेजीको प्रक्रिया छिटै सुरु गर्छौं।’

कतारमा झन्डै २ सय नेपाली संघ-संस्था छन्। परोपकारी काम गर्न भन्दै स्थापित भएका यी संस्थाहरु कतार सरकारको आधिकारिक निकायमा दर्ता छैनन्। कतारी कानुनमा पनि एउटै समुदायका यति धेरै संघ-संस्था दर्ता गर्न नपाउने प्रावधान छ।

यसअघि यी संघ-संस्थाहरू नेपाली दूतावासमा सूचीकरण गरिन्थ्यो। अवदेखि नयाँ खुल्ने संघ-संस्थालाई दूतावासमा सूचीकरण नगर्ने र यसअघि भएकालाई पनि बन्द गराउने राजदूत ढकालले बताए।

‘कुनैबेला संघसंस्था आवश्यक थियो। दूतावासमा दर्ता भयो होला तर, अव आवश्यक छैन’, राजदूत ढकालले नेपालबाट कतार भ्रमणमा रहेका पत्रकारसँग भने –‘कतार आएका नेपालीले यहाँ इमान्दारितापूर्वक काम गर्ने र पैसा कमाउने हो।संघसंस्था खोलेर राजनीति गर्ने होइन।’

अहिले कतारमा खुलेका नेपाली संघ-संस्थाहरुले नेपाली दूतावासको संरक्षणमा आफ्ना गतिविधि संचालन गरिरहेका छन्। अहिले दूतावासमा १ सय ६३ वटा नेपाली संघ-संस्था सूचीकरण छन्।

‘नेपालका राजनीतिक दल तथा अन्य आस्था बोकेका संस्था दूतावासमा दर्ता हुनु पटक्कै आवश्यक छैन,’ राजदूत ढकाल भन्छन् –‘राजनीति गर्ने इच्छा भए नेपालमा नै गएर गर्दा हुन्छ। यहाँ त काम गर्ने हो। आफ्नो र परिवारको चिन्ता लिने हो।राजनीति गर्नका लागि कतारमा पटक्कै छुट छैन।’

नेपालको परराष्ट्र नीतिले पनि दूतावासमा नेपाली संघ-संस्था दर्ता गर्न पाउने प्रावधान नदिएको राजदूत ढकालको भनाइ छ।

‘खोइ कहिलेबाट हो दूतावासमा संस्था दर्ता गर्ने परिपाटी बसेछ। यो गलत चलन हो। नेपालको कानुनमा पनि यो कुरा कतै उल्लेख छैन। कतारको कानुनमा त झन् यसलाई ठूलो कसुर मानिन्छ,’ उनले भने।

अनावश्यक खोलिएका संघ-संस्थाहरुको मारमा श्रमिकवर्ग परेको उनको भनाइ छ। ‘प्रवासमा संस्था चलाउनका लागि अनावश्यक खर्च, कार्यक्रम, लेवी उठाउँदा आर्थिक भार आफैलाई पर्छ,’ राजदूतले उल्टो प्रश्न छ, ‘दूतावासमा दर्ता गरेको भन्दै संचालन भइरहेका संस्थाको अडिट, हिसाव किताव कस्तो छ,कसले हेरिरहेको छ ?’

यद्यपी १० देखि १५ वटा नेपाली सामाजिक संस्था भने कतारमा आवश्यक रहेकोले दूतावासमा सूचीकरण गर्न सकिने बताए।

उनले भने, ‘नेपाली संस्था नै चाहिदैन भन्न खोजेको होइन। सबैको प्रतिनिधित्व हुने गरी प्रदेशस्तरका संस्था दर्ता गर्न सकिन्छ। केही एनआरएनए, कलासंस्कृति समेट्ने संस्थाहरुलाई राख्न सकिन्छ।अन्य राजनीतिक तथा जिल्लागत संस्थाहरु आवश्यक छैन।’

नेपाली दूतावासलाई संस्था दर्ताको लागि कुनै पनि अनुमति नभएको र कानूनले नै नदिएकोले अब अनावश्यक संघ-संस्था नगर्ने र भएकालाई पनि खारेज गर्ने अडानमा राजदूतढकाल छन्।’ नेपाली समुदायका अगुवाहरुसँग यस विषयमा छलफल भइरहेको उनले बताए।

नेपाली संघसंस्थाले आफ्नो क्षेत्र, समुदाय तथा देशका लागि सामाजिक, आर्थिक तथा अन्य सहयोग पुर्यायाउँदै आइरहेको अवस्थामा संस्था नै बन्द गराउन नहुने आवाज उठेको छ।

नेपाल र नेपालीको पक्षमा काम गरिरहेका संघसंस्थाले राजदूतको कदमको विरोध गर्लान नि त ? भन्ने प्रश्नमा ढकाल भन्छन् –‘संघसंस्था दर्ताको लागि अनुमति पत्र सरकारबाट ल्याउनु होस् नत्र मलाई कन्भिस गर्नुहोस्।’

नेपाली समूदाय कतारका संयोजक रम्जान अलि मियाले कतारमा यस्ता संस्थाहरु धेरै खुल्दा समस्या झन बढेको बताउँदै नेपाल र नेपालीको हित गर्ने खालका थोरै संस्था मात्र आवश्यक्ता रहेको बताए।

उनले भने, ‘यस्ता संस्थाहरुले जनचेतना फैलाउने तथा नेपाल र नेपालीको हित हुने काम गर्नु पर्छ न कि राजनीति।’

स्याङ्जा सहयोग समाजका पुर्व अध्यक्ष टुकराज अर्यालले दूतावास भन्दा पहिला र धेरै सामाजिक काम कतारमा रहेका नेपाली संघसस्थाले गरेको बताउँदै उनीहरुको कामको अवमूल्यन गर्न नहुने बताए।

‘९९ प्रतिशत संस्थाले दूतावासको सहकार्यमा आफ्नो गास काटेर समाज सेवा गरिरहेका छन’, अर्याल भन्छन –‘यस्ता संस्था बन्द गराउनु भनेको आफ्ना नागरिकको अधिकार हनन गरिनु हो।’

‘कतारमा रहेका सबै संघसंस्थाले राजनीति मात्र गरेका छैनन। सामाजिक कार्य तथा नेपालीको हकहितका लागि काम गरिरहेका संस्थाहरु पनि रहेका छन। यस्ता संस्था बन्द गरिनु भनेको नेपालीले नेपालीलाई नै दबाउनु हो’, कतारको एक नेपाली सामाजिक संस्थाका पदाधिकारीले भने।